
झापा / निर्माण कार्य ढिलासुस्तीले आम सर्वसाधारण आजीत बनेको बिर्तामोड– चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण कार्य फेरि विवादमा परेको छ ।
झापा सिटी कन्सट्रक्सनका प्रोपाइटर शम्भु भण्डारीले निर्माण कम्पनीले निर्माण सामाग्री बापतको रकम नपाएपछि निर्माण कार्य रोक्न दबाव दिएपछि समस्या उत्पन्न भएको हो ।
भण्डारीले गिटी, बालुवालगायतका सामाग्रीको राजकिशोर गुप्ताले भुक्तानी नदिएको भन्दै सडक निर्माण कार्य तत्काल रोक्ने बताएका छन् । ‘मेरो २५–३० लाख, राजकुमार थापाको ६०–७० लाख, सुवासको १५–२० लाख रुपैयाँ ठेकेदार राजकिशोर गुप्ताले भुक्तानी दिन बाँकी छ, त्यो पैसा नदिएसम्म काम अगाडि बढाउन दिँदैनौं’, कन्सट्रक्सनका प्रोपाइटर भण्डारीले भने–‘पहिले हाम्रो पैसा पाउनु पर्यो अनि मात्र काम अगाडि बढ्छ ।’
उनले आफूलाई समाचारमा राष्ट्रिय युवा संघ नेपाल झापाको संयोजक भनेर नलेखिदिन आग्रह गर्दै निर्माण व्यवसायीका रुपमा आफूले काम रोक्न भनेको जिकिर गरे । भण्डारी संघको संयोजक र राजकुमार थापा प्रदेश कमिटी सदस्य हुन् ।
तर, बाटोको कामको ठेक्का लिएको आशिस प्रेरा जेभीका प्रोपाइटर विकास मल्लले डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवसहित बसेर हिसाब गर्न बोलाउँदा भण्डारी भने सम्पर्कमा नआएका बताए ।
सडक निर्माण रोक्न दबाव आएको विषयमा नेकपा नेतृ एवं झापा क्षेत्र नम्बर २ की संघीय सांसद् पवित्रा निरौला खरेलले बिर्तामोड–चन्द्रगढी जोड्ने भद्रपुर रोड निर्माण एक सेकेण्ड पनि रोक्न नदिइने बताइन् । सांसद् खरेलले कसैको हिसाबकिताब मिलाउनु भए सम्बन्धितहरु बसेर हिसाब मिलाउन सुझाव दिँदै बाटोको निर्माण एक सेकेण्ड पनि रोक्न नदिने बताएकी हुन् ।
‘जनतालाई सास्ती भएको छ, समयमा काम सकिनुपर्छ भनेर हामी रातदिन घच्घच्याउन लागेका छौं’, सांसद् खरेलले भनिन्–‘विकासका काममा अवरोध पुर्याउनेलाई प्रशासनले कार्वाही गर्छ ।’
स्रोतका अनुसार राजकिशोर गुप्ताले पेटीकन्ट्याक्टमा काम लिएदेखि नै नेकपा नेता रघुवीर महासेठको मान्छे हुँ भन्ने र कांग्रेस नेता विमलेन्द्र निधिबाट स्थानीय अगुवालाई फोन गराउने तथा समयमा काम नगर्ने गर्दै आएका छन् ।
२०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने गरी करसहित २७ करोड, ९ लाख ७० हजार ९६ रुपैयाँमा सम्झौता भएको भएपनि सो समयमा निर्माण नहुने अवस्था देखिएपछि जनप्रतिनिधि र स्थानीयको दबावमा कामलाई तीब्रता दिन डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले आशिष प्रेरा जेभीलाई दवाव दिएका थिए ।
सडकबाट हालसम्म भ्याट बाहेक सडक निर्माणमा ६ करोड ४५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । काम सक्नुपर्ने समय ४८ दिन मात्र बाँकी छ । ‘आशिष प्रेरा जेभीले लेवर, मिस्त्री, सुपरभाइजर, इन्जिनियर कसलाई काममा लगाउँछ, त्यो हाम्रो सरोकारको विषय होइन’, डिभिजन सडक कार्यालय दमकका प्रमुख यादवले भने–‘समयमा तोकिएको गुणस्तर अनुसारको काम आशिष प्रेरा जेभीले गर्नुपर्छ, त्यो नगरे कानुन अनुसार कार्वाही गर्छौं ।’
काम गर्न चुनौती देखिएको पछिल्लोसमयमा सडक निर्माण गरिरहेका निर्माण व्यवसायी केदार गिरीले बताएका छन् । ‘आज(बुधबार) १२ बजेदेखि काम नगर्नु भनेर शम्भु भण्डारी र राजकुमार थापाले दबाव दिएका छन्’, व्यवसायी गिरीले भने–‘काम त गर्दै छौं, समन्वयको काम पनि हुँदैछ ।’
सडक निर्माण सम्पन्न हुने मिति भनेर साइडमा लेखिएको बोर्डमा २०७६ असोज २३ गते उल्लेख छ । तर, ठेकेदारलाई दिएको सम्झौतामा २०७६ पुस मसान्त उल्लेख भएको इन्जिनियर यादवले बताए ।
बिर्तामोडको भद्रपुर रोडमा बिर्ताबजारसम्म ४ लेन र त्यसपछि २ लेन निर्माण हुने पहिलेको ठेक्का थियो । पछि प्रधानमन्त्रीको निर्देशनमा सबै ४ लेनको बनाउने भनेर ठेक्का थप भएको छ । प्रमुख यादवले पुस मसान्तसम्ममा नै काम सक्नुपर्ने सम्झौता रहेको बताए ।
सडक निर्माण रोक्ने विषयमा सांगठानीक रुपमा कुनैपनि निर्णय नभएको राष्ट्रिय युवा संघ झापाका सहसंयोजक दधिराम रिमालले बताए । उनले भने–‘जहाँसम्म संगठनको संयोजकको नाम जोडिएको छ, त्यो उहाँको व्यक्तिगत कुरा हुनसक्छ । त्यो विषयसँग संगठनको कुनै आधिकारीक सहमति छैन ।’janasamsad



