सृजनाको चौतारी

 जे हुन्छ, राम्रैका लागि हुन्छ

राजेन्द्र गौतम

आङले खदा नओडेको निकैभो
काँधमा कसैको हात नपरेको
र, कसैले धाप नमारेको थुप्रैभो
स्याबास शब्द नसुनेको पनि ।

माला, अविर र दोसल्ला
नपहिरिएको त
कतिभो कति
धन्यवाद नसुनेको
बधाई नपाएको वर्षौँ बित्यो ।

तर पनि
मन विचलित छैन
मथिङ्गल हल्लिएको छैन
झन् आनन्द भएको छ
थप खुसी बढेको छ
हिम्मत, जोश र जाँगर
थपिएको छ ।

अचेल
खदा, माला र सम्मानको
झुत्रो ल्याप्टो थन्क्याउने
झन्झट हटेको छ
विषाक्त हातहरुबाट
अनुहारमा रातो नदलिदा
रुप बिग्रनबाट बचेको छ
स्वरुप कुरुप हुनबाट जोगिएको छ ।

कलुसित तिम्रा हातहरु
मेरो काँधमा
अब कहिल्यै नपरुन्
विष लाग्ने तिम्रा पन्जाहरुले
मेरो ढाडमा धाप कहिल्यै नमारुन्
किनकि,
मलाई अहिले हाइसञ्चो छ ।

विषाक्त मन, मस्तिष्क
र, सोच भएको
तिमीले मलाई नछुदा
मलाई आराम भएको छ
धेरै पटक मैले सुनेको
जे हुन्छ,राम्रैका लागि हुन्छ भने जस्तै
मलाई राम्रो भएको छ
हल्का भएको छ ।

मेरो माग हो
तिम्रा हातले नछोए जस्तै
तिम्रो कुदृष्टिले
तिम्रो कुभावनाले पनि
नछोओस् र नदेखोस्
किनकि
तिमीले नछुदा
तिम्रो पापी नजर नपर्दा
मलाई सञ्चो भएको छ
सुखानुभूती भएको छ ।

जे भइरहेको छ
राम्रो भइरहेको छ
आजभोलि
न मन जलेको छ
न शरीर गलेको छ
दिमाग पोलेको छैन
तिम्रा दाह्रा र नङ्ग्राहरुको
विष पनि लागेको छैन ।

मेरो कामना
भुस्याहा कुकुरका दाह्रा
र, बोक्सी बिरालाका नङ्ग्राहरु
मेरो शरीरमा नपरुन्
मेरो दिमाग चुस्ने
तिम्रा विषाक्त चुच्चाहरुले
मलाई कहिल्यै नघोचुन् ।

दिनचर्या सुखद छ
भविष्य शान्त छ
प्रत्येक दिन मनोरम
र, माधुर्य छ
जीवन सार्थक छ
त्यसैले
जे हुन्छ, राम्रैका लागि हुन्छ ।

धुलाबारी, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button