
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापासहित सुरक्षा निकायका प्रमुखहरू नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भको निरीक्षण गर्दै। तस्बिर : सुधा देव
सुधा देव
भारदह (सप्तरी), असार १५ गते । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्कासहितको संयुक्त टोलीले आइतबार जिल्लाका विभिन्न सीमावर्ती प्रहरी चौकी र सीमा सुरक्षा बल (बीओपी)को स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा टोलीले नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको निरीक्षण गर्नुका साथै सीमावर्ती क्षेत्रको शान्ति–सुरक्षा अवस्था, प्रहरी परिचालन तथा सुरक्षा व्यवस्थाबारे स्थलगत जानकारी लिएको थियो।
प्रमुख जिल्ला अधिकारी थापाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था अझ प्रभावकारी, चुस्त र दुरुस्त बनाउन आवश्यक निर्देशन दिनुभयो। उहाँले सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण, अपराध न्यूनीकरण तथा नागरिकको सुरक्षामा कुनै कमजोरी हुन नदिन सुरक्षा निकायबीच समन्वय र सक्रियता बढाउन आग्रह गर्नुभयो।
प्रहरी उपरीक्षक खड्काले सीमावर्ती प्रहरी युनिटलाई नियमित गस्ती, सूचनाको प्रभावकारी सङ्कलन तथा सुरक्षा चुनौतीको समयमै सामना गर्न उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।
प्रमुख जिल्ला अधिकारी थापाले सीमा स्तम्भको नियमित निरीक्षण तथा सीमावर्ती क्षेत्रको अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। उहाँले यस्ता गतिविधिले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
गोरखापत्र अनलाइन



