खबरहेड लाइन

उपत्यकामा बाह्रै महिना खानेपानी,विकल्पमा लिफ्टिङ र जलाशय

भउचप्रसाद यादव

ललितपुर, पुस २४ गते । सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ ।

यसै व्रmममा मेलम्ची खानेपानी आयोजनाको विकल्पका रूपमा अगाडि सारिएको मकवानपुरस्थित सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न प्रव्रिmया अगाडि बढाइएको छ । ड्यामको ‘डिपिआर’ निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता सन्तोष बरालले आयोजनाको ड्याम निर्माणको ‘डिपिआर’ तयार गर्न परामर्शदाता छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । सिस्नेरी खानेपानी आयोजना ललितपुरको सैँबु रिजर्भ भ्वायरबाट करिब १९ किलोमिटर टाढा दक्षिणमा पर्छ ।

उहाँले भन्नुभयो, “चालु आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख गरिएबमोजिम खानेपानी मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न परामर्शदाता कम्पनी छनोटका लागि बोलपत्र आह्वान गरिएको हो ।” बोलपत्र भर्ने म्याद माघ ८ गतेसम्म छ । प्रवक्ता बरालका अनुसार चालु आवभित्र परामर्शदाता छनोट भई १४ महिनाभित्र प्रतिवेदन तयार हुन्छ । निर्माण हुने ड्याममा सिस्नेरी खोलाको पानी सङ्कलन गरी त्यसलाई काठमाडौँ उपत्यकामा वितरण गर्ने योजना रहेको प्रवक्ता बरालले जानकारी दिनुभयो । उक्त आयोजनाबाट दैनिक १३ करोडदेखि १४ करोड लिटर पानी उपत्यकामा ल्याउन सकिने लक्ष्य छ । यसअघि समग्र आयोजनाको सम्भाव्यता अध्ययन तथा ‘डिपिआर’ प्रतिवेदन तयार भइसकेको छ । साढे सात करोड रुपियाँको लागतमा बिल्डिङ डिजाइन अथोरिटी (बिडिए) परामर्शदाताले आयोजनाको डिपिआर तयार गरेको थियो । निर्माणाधीन काठमाडौँ–निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैँबुसम्म पाइप लाइन निर्माण गर्न मिल्ने अध्ययनले देखाएको छ । आयोजना सम्पन्न गर्न २६ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

उहाँले भन्नुभयो, “कुलेखानीनजिक रहेको सिस्नेरी खोलाबाट पानीलाई करिब दुई सय मिटर माथि पम्प गरेर त्यहाँ जलाशय निर्माण गरी भण्डारण गरिने र त्यहाँदेखि पाइप लाइनबाट ललितपुरस्थित भैँसेपाटीमा पानी खसालिने छ र त्यहाँबाट काठमाडौँ उपत्यकामा पानी वितरण गरिने छ । कोगटे खोला र सिस्नेरी खोला मिसिएको ठाउँमा ड्याम बनाई जलाशय निर्माण गरिने छ ।”

सिस्नेरी बाँधदेखि ललितपुरको सैँबुस्थित पानी प्रशोधन केन्द्रसम्म कुल १९ किलोमिटर पाइप लाइन जडान गर्नुपर्ने हुन्छ । वर्षायाममा सिस्नेरी खोलाबाट लिफ्टिङ गरेर दैनिक १५ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउन सकिने ‘डिपिआर’ ले देखाएको छ । निर्माणाधीन काठमाडौँ–निजगढ दु्रत मार्ग हुँदै सिस्नेरीदेखि सैँबुसम्म पाइप लाइन निर्माण गर्न मिल्ने प्रारम्भिक अध्ययनले देखाएको प्रवक्ता बरालको भनाइ छ ।

२०७७ चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण सो आयोजना पटक–पटक बन्द हुँदै आएको छ । अहिले पनि अस्थायी रूपमा नै मेलम्चीको पानी वितरण हुँदै आएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button