मूल खबरसृजनाको चौतारी

हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन सुरु

काठमाडौँ, चैत २ गते । मदन भण्डारी कलासाहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौँमा शुक्रबारदेखि ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ सुरु भएको छ । देशका सातवटै प्रदेशका साथै भारतका सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल, चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बस्ने नेपाली भाषीहरू सहभागी रहेको सम्मेलनको उद्घाटन पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वप्रसिद्ध हिमशृङ्खला रहेको नेपाल भारोपेली तथा भोट बर्मेली भाषाका आधार क्षेत्र पनि रहेको छ, प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा. विजय सुब्बाले भन्नुभयो, “यहाँ रहेका नेपालीसहित विभिन्न भाषा, सभ्यता र संस्कृतिको उन्नयन र आपसी सद्भाव र सांस्कृतिक एवं मौलिक सिर्जनशील पक्षको विचारविमर्श गर्न सम्मिलन गरिएको हो ।”

उहाँले हिमवत्खण्डका प्राचीन सभ्यता, सांस्कृतिक, सामाजिक, भौगोलिकलगायतका विविध आयामबारे खोज, अध्ययन, अनुसन्धान तथा संरक्षण, प्रवर्धन गर्न सम्मिलनले ठोस निष्कर्ष निकाल्ने बताउनुभयो ।

तीन दिनसम्म चल्ने सम्मिलनको पहिलो दिन पर्यटन बोर्डमा ‘साहित्यिक चलचित्र उत्सव’ तथा चलचित्रमा भाषा परिसंवाद विषय अन्तर्क्रिया गरिएको थियो । साथै कला उत्सव अन्तर्गत चित्रकला कार्यशाला र लोकबाजा प्रदर्शनी गरिएको थियो ।

सम्मिलनको दोस्रो दिन काशी हिन्दु विश्वविद्यालयका आचार्य प्राडा. दिवाकर प्रधानको प्रमुख आतिथ्यमा नेपालबाहिर नेपाली लोकसंस्कृतिबारे प्राज्ञिक विमर्श गरिने आयोजकले जनाएको छ । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हिमवत्खण्डः महिमा र गौरव विषयमा विद्वत् सभा र सांस्कृतिक महोत्सवको आयोजना गरिने छ । सम्मिलनको तेस्रो दिन ‘संस्कृति र समृद्धि’ परिसंवाद हुने छ । सोही दिन प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा ‘सञ्चार माध्यममा नेपाली भाषा’ परिसंवाद कार्यक्रम गरी सम्मिलनको समापन हुने संयोजक सुब्बाले जानकारी दिनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button