खबरहेड लाइन

मधेशमा धाँजा नपुरिने चिन्ता

चाँदनी हमाल

काठमाडौँ, साउन ११ गते । ऋतु अनुसार साउन मनसुनको उत्कर्ष महिना हो तर आकाशमा बादल र चर्को घामको लुकामारीमै साउन बित्न लागेको छ । लुकामारीकैबिच खडेरीले गाँजेको मधेशमा ५० प्रतिशत हाराहारीमा पनि धान रोपिएको छैन । रोपिएको ठाउँमा पनि धाँजा फाटेर रोपो मर्ने अवस्थामा पुगेको छ । असार र साउन दुवै महिनामा वर्षा महसुस हुने गरी झरी पर्न सकेन ।

यसपालि मनसुनको झल्को दिने गरी निरन्तर वर्षा नभएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् स्विकार्नुहुन्छ । विभागको जलवायु विश्लेषण शाखाको वर्षा विश्लेषण हेर्ने हो भने पनि देशव्यापी रूपमै विगत एक सातायता झार्रझुर्र खण्डीकृत वर्षाबाहेक राम्रो वर्षा भएको देखिँदैन ।

शुक्रबार र बिहीबारको वर्षाको दर हेर्दा पूर्वी पहाडको दुई स्थानमा मात्र एक सय मिलिमिटरसम्मको वर्षा भयो । अन्य केही स्थानमा ५० मिलिमिटर र धेरै स्थानमा एकदेखि २५ मिलिमिटरसम्म मात्र वर्षा भयो । त्यसको अघिल्लो दिन बुधबार देशका केही स्थानमा २५ मिलिमिटरसम्मको मात्र वर्षा रेकर्ड भएको थियो । मङ्गलबार भने पूर्वी नेपालका एकाध स्थानमा दुई सय मिलिमिटर वर्षा भएको पाइएको थियो ।

नेपालको मधेशमा मात्र होइन, भारतको विहार र उत्तरप्रदेशसम्म पनि वर्षाको बादल मडारिन नसकेको विभागका उपमहानिर्देशक सुमनकुमार रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यतिबेला वर्षा गराउने न्यूनचापीय रेखा नेपालको पश्चिम तराईनजिक सेपिएर बस्नुपर्ने थियो तर लामो समय भयो त्यो रेखा माथि सर्नै सकेको छैन ।” बादल बने पनि बादलमा जलवाष्पको मात्रा बलियो बनाउन न्यूनचापीय रेखाको महत्वपूर्ण भूमिका हुन्छ । त्यो हुन नसक्दा मधेश वर्षाविहीन बनेको दाबी उहाँले गर्नुभयो । बङ्गालको खाडीमा वर्षा गराउने प्रणाली बनिरहेको छ र बादल यता आइरहेको छ । उहाँले थप्नुभयो, “तर तल सरेर बसेको न्यूनचापीय प्रणाली माथि नसरी झन् तल तल गइरहेकाले हुनुपर्ने वर्षा हुन सकेको छैन ।” न्यूनचापीय रेखाको उतारचढावले मौसमविद् तनावमा छन् ।

नेपालको खाद्यान्न भण्डार मधेश प्रदेशमा वर्षा नहुँदा राम्ररी धान रोपाइँ भएको छैन । आकासे पानीको पर्खाइमा किसान काकाकुल झैँ पर्खिरहेका छन् । बादल आउने र वर्षा नगराई हराउने वा नेपालको आकाश हुँदै अन्यत्र जाने क्रम बढेको छ । जसले देशव्यापी रूपमा तापक्रम पनि बढाएको विभागले औँल्याएको छ । अर्कोतर्फ विश्वका मौसमी प्रणाली एकअर्कोसँग आपसमा जोडिएका हुन्छन् । साउथ चाइना समुद्रमा ठुलो प्रणाली जन्म हुँदा त्यसले बङ्गालको खाडीको प्रणालीमा असर पुर्‍याएकाले पनि बलियो प्रणालीको विकास हुन नसकेको अनुमान रेग्मी गर्नुहुन्छ ।

अब केही दिनका लागि यसअघि जस्तै बङ्गालको खाडीमा राम्रो प्रणाली विकास भइरहेको देखाएको छ । नेपालतिर आउँदै गर्दा बलियो भयो भने त्यसले राम्रो वर्षा गराउने अनुमान मौसमविद् सरोज पुडासैनी गर्नुहुन्छ तर त्यसले पनि मधेशका एकाधबाहेक सबै भूभागमा वर्र्षा गराउने छेकछन्द भने दिएको छैन । गत साताको जस्तै कमजोर भयो भने नेपाल नआउँदै वर्षा हराउने सम्भावना पनि प्रबल रहने उहाँ बताउनुहुन्छ ।

प्रणाली जुन हिसाबले जलवाष्प बोकेर नेपाल आउनुपर्ने हो त्यसरी नआउँदा हुनुपर्ने मात्राको वर्षा हुन नसकेको पुडासैनी औँल्याउनुहुन्छ । उता दक्षिण एसियामा वर्षा गराउन प्रशान्त महासागरमा विकसित भएको अलनिनो प्रणाली यतिखेर तटस्थ छ । नेपालसँगै दक्षिण एसियामा वर्षा गराउन अलनिनो पोजेटिभ हुनु पर्छ । त्यसको असरले पनि मधेशनजिक वर्षा प्रणालीलाई सक्रिय गराउन नसकेको अनुमान मौसमविद्ले गरेका छन् । मौसम पूर्वानुमान महाशाखाको साताव्यापी प्रक्षेपणले शुक्रबारदेखि आउँदो बिहीबारसम्म पनि मधेशमा वर्षा न्यून हुने दर्शाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button