
ब्राजिलका ‘लिटिल बर्ड’ गारिन्चा सन् १९६२ मा चेकोस्लोभाकियाविरुद्धको फाइनलमा बल प्रहार गर्नुहुँदै । तस्बिर : एपी
काठमाडौँ, जेठ १४ गते । सन् १९६० को मे २२ मा ९.५ रेक्टर स्केलको भूकम्पले तहसनहस भएको चिली दुई वर्षपछि नै विश्वकप फुटबलको सातौँ संस्करण आयोजना गर्न लागेको थियो । अन्तरिक्षमा पहिलो सञ्चार भूउपग्रह टेलस्टार भर्खरै स्थापित गरिकाले युरोपमा पनि विश्वकपका खेल प्रत्यक्ष प्रसारण गरिने अनुमान थियो तर त्यसो हुन सकेन । टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुन नसकेको यो अन्तिम विश्वकप थियो ।
भूकम्पले जताजतै ध्वस्त परेको चिलीले आफ्नै बलबुतामा सन् १९६२ को विश्वकप आयोजना गरेरै छाड्यो । यो प्रतियोगिता खेलाडीको अनुशासनहीनताले पनि परिचित छ । ब्राजिलका चर्चित खेलाडी पेले प्रमुख रूपमा विपक्षी खेलाडीको तारो बने । ब्राजिलको दोस्रो खेलमा पेले घाइते भई प्रतियोगिताबाट बाहिरिएका थिए ।
युरोपका सबै टिमले ‘काटानासियो’ नामले प्रख्यात रक्षात्मक रणनीति अपनाएर खेले । इटालीको क्लब इन्टर मिलानले यस रणनीतिको सुरु गरेको हो । यस विश्वकप अन्तर्गत प्रायः हरेक खेलको नतिजा घम्साघम्सीपछि मात्र निस्कियो तर आयोजक चिली र इटालीबिचको खेलले भने अनुशासनहीनताको सीमा नै नाघेको थियो ।
सो खेल ‘बाटल अफ सान्टियागो’ को नामले पनि प्रख्यात छ । यस खेलमा इटालीका दुई खेलाडीले मैदान छोड्नु प¥यो भने खेलाडीले एकअर्कामाथि मुक्का हानाहान गरेपछि सुरक्षाका लागि खेल मैदानमै प्रहरी छिर्नु प¥यो ।
पेलेलाई पनि यस प्रतियोगिताले नछोडेपछि ब्राजिलले पेलेको स्थानमा आमारिल्डोलाई खेलायो तर ब्राजिलका ‘लिटिल बर्ड’ गारिन्चा यस विश्वकपमा उदाउनुभयो । गारिन्चाले क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई डुबाएपछि सेमिफाइनलमा पनि आयोजक चिलीविरुद्ध दुई गोल गर्नुभएको थियो ।
तर दुई गोल गरेपछि गारिन्चाले पनि आफ्नो संयम गुमाएपछि मैदानबाट निकालिनु प¥यो । ब्राजिल र चेकोस्लोभाकियाबिच फाइनल भिडन्त भयो । चेकोस्लोभाकियाले जिलहेल्म स्रोइफको अविस्मरणीय गोलरक्षणले फाइनल खेलसम्मको यात्रा गरेको थियो तर फाइनल खेलमा स्रोइफकै ठुलो गल्तीका कारण चेकोस्लोभाकियाले ब्राजिललाई उपाधि सुम्पनु प¥यो । ब्राजिलले फाइनल खेल ३–१ ले जितेको थियो । ब्राजिलका भाभाले लगातार दोस्रो पटक फाइनल खेलमा गोल गर्नुभयो । जिटो र आमारिल्डोले पनि चेकोस्लोभाकियाविरुद्ध गोल गर्नुभएको थियो ।गोरखापत्र अनलाइन



