स्वास्थ्य

अस्पताललाई बिमाको दुई अर्ब भुक्तानी

काठमाडौँ, असार १० गते । स्वास्थ्य बिमा बोर्डले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई दुई अर्ब रुपियाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयले रकम निकासा गरेपछि बोर्डले देशभरका ३६४ स्वास्थ्य संस्थालाई रकम भुक्तानी गरेको हो ।

बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले ३६४ स्वास्थ्य संस्थालाई दुई अर्ब रुपियाँ भुक्तानी गरिएको जानकारी दिनुभयो । प्राप्त बजेटलाई पारदर्शी, न्यायोचित तथा समानुपातिक ढङ्गले वितरण गरिएको प्रजापतिले जानकारी दिनुभयो । अर्थ मन्त्रालयबाट प्राप्त रकमलाई प्राथमिकताका आधारमा देशभरका स्वास्थ्य संस्थामा वितरण गरिएको जानकारी उहाँले दिनुभयो । उहाँले स्वास्थ्यसेवा प्रवाहमा देखिएको आर्थिक दबाब केही हदसम्म कम हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन बाँकी दाबी रकम व्यवस्थापनका लागि पनि सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँको भनाइ छ । कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेका सरकारी, सामुदायिक तथा निजी अस्पतालले लामो समयदेखि दाबी रकम भुक्तानी हुन नसक्दा आर्थिक समस्या झेल्दै आएका थिए । कतिपय स्वास्थ्य संस्थाले भुक्तानी नपाए बिमा बन्द गर्न सक्ने चेतावनीसमेत दिएका थिए ।

निजी मेडिकल कलेजको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले सरकारले बाँकी दाबी रकम पनि यथाशीघ्र उपलब्ध गराउनुपर्ने बताउनुभयो । लामो समयसम्म भुक्तानी नपाउँदा निजी स्वास्थ्य संस्था गम्भीर आर्थिक सङ्कटमा परेको दाबी गर्दै सरकारले निजीमा बन्द गरेको बिमा कार्यक्रमको बाँकी रकम तत्काल व्यवस्था गर्नुपर्ने बताउनुभयो । दाबी रकम नपाउँदा निजी अस्पतालले औषधी तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई समयमै भुक्तानी गर्न नसकेको गुनासो कार्कीले गर्नुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button