
परम्परागत प्रविधिबाट चिनो प्रशोधन गर्दै स्थानीय महिलाहरू। तस्बिर : राजन रावत
राजन रावत
हुम्ला, असार १० गते । हुम्लामा उत्पादन हुने रैथाने बालीको प्रशोधन अझै पनि परम्परागत प्रविधिबाट गर्नुपर्ने बाध्यता रहेको छ। यी बाली प्रशोधनका लागि आधुनिक प्रविधि भित्रिन नसक्दा किसान र स्थानीय महिलाले परम्परागत शैलीमै काम गर्दै आएका हुन्।
जिल्लाभर उत्पादन हुने चिनो, कागुनो, तिते फापर, मिठे फापर, उवा र जौजस्ता रैथाने बालीको प्रशोधन स्थानीय परम्परागत प्रविधिबाट गरिँदै आएको सिमकोट गाउँपालिका–२ की जानकला भण्डारीले बताउनुभयो। उहाँका अनुसार यो काम विशेषगरी महिलाले गर्दै आएका छन्।
भण्डारीले पहिले घरायसी प्रयोगका लागि मात्र प्रशोधन गरिने भए पनि पछिल्लो समय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाका रैथाने बाली खरिद गर्न थालेपछि महिलाले रोजगारीसमेत पाउन थालेको बताउनुभयो। “अहिले एकातिर रैथाने अन्नबाली बिक्री हुने गरेको छ भने अर्कोतर्फ कम्पनीले खरिद गरेको अन्न प्रशोधन गर्ने कामबाट महिलाले आम्दानी पनि गर्न थालेका छन्,” उहाँले भन्नुभयो।
हाल हुम्लामा विशेषगरी चिनो र कागुनो प्रशोधन गरी जिल्लाबाहिर पठाइने गरिएको छ। महिलाहरूले यसबापत दैनिक ज्यालासमेत पाउने गरेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, हुम्ला शाखाका प्रमुख कृष्ण थापामगरका अनुसार केही दिनअघि ४० क्विन्टल चिनो स्थानीय महिलामार्फत परम्परागत प्रविधिबाट प्रशोधन गरिएको थियो। उहाँले जिल्लामै प्रशोधनको काम हुनु ढिलो भए पनि यसबाट स्थानीय महिलाले रोजगारी पाउनु सकारात्मक पक्ष भएको बताउनुभयो।
त्यसैगरी कागुनोको पनि यही प्रविधिबाट प्रशोधन गरिन्छ। उवा, जौ, कोदो, तिते फापर र मिठे फापर केलाउने तथा सफा गर्ने काममा समेत स्थानीयले रोजगारी पाइरहेका छन्।
गोरखापत्र अनलाइन



