
झापामा तरबुजा बियाँको गोदाम छापा हान्दै प्रहरी । तस्बिर : सौजन्य
नवराज कट्टेल
विराटनगर, असार ३० गते । झापाको भद्रपुर नगरपालिका–३, ज्ञाने चोकस्थित भीमलाल सुवेदीको घरकोठामा भण्डारण गरिएको ९४८ बोरा तरबुजाको बियाँ प्रहरीले आइतबार बेलुका नियन्त्रणमा लियो । प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार त्यहाँ गोदाम गरेर अवैध निकासी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो ।
वीरगन्ज भन्सारबाट कुबेर एक्जिम प्रालिले आयात गरेको उक्त वस्तु महादुर्गा अर्डर सप्लायर्स भद्रपुर–५ र पशुपति एक्जिम प्रालि वीरगन्जमार्फत कारोबार हुने गरेको आरोप छ । झापामा समुद्रपारका मुलुकबाट आयात गरेर भारततर्फ अवैध निकासी गराउने उद्देश्यले तरबुजा बियाँको कारोबार एक वर्षदेखि तीव्र देखिएको हो । अवैध निकासीका लागि सीमानजिक र सहज हुने सहरमा यसको भण्डारण गरेर राख्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसका आधारमा झापाका प्रहरी उपरीक्षक वसुन्धरा खड्काको नेतृत्वमा ५५ जनाको टोली खटिएर गोदाममा छापा हानेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।
भन्सारको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्ष २०८२/८३ मा नसोचेको आयात भएको छ । तरबुजाको बियाँ नेपालमा खपत हुनेभन्दा अधिक आयात भइरहेको भए पनि निकासीको वैधानिक मार्ग भेटिएको छैन । भारतमा यसको परिणामात्मक बन्देज भएका कारण वैधानिक बाटोबाट जान नसक्ने व्यवसायी नै बताउँछन् ।
त्यही आशङ्कामा प्रहरीले प्राप्त गरेको सूचना अनुसार छापा हानेर ३७ हजार ९२० केजी वस्तु नियन्त्रणमा लिइएको हो । भारतले तीन वर्षअगाडि २०२३ देखि तरबुजा बियाँ आयातमा परिमाणात्मक बन्देज लगाएको छ । भारतमा बन्देज लागेपछि नेपालका व्यवसायीले यसको कारोबार सुरु गरेका हुन् । तरबुजा बियाँको दिउल (गुदी) भारतमा बढी प्रयोग हुने गर्छ । तरकारीमा मसला अर्थात् लदबद (ग्रेभी) बनाउनदेखि मिष्ठान्न वस्तुसम्ममा यसको प्रयोग हुने गरेको छ । मसलाका रूपमा प्रयोग हुने यसको फाइदासमेत उतिकै रहेको मानिन्छ । काजु, बदाम, पोस्ता दानासँगै तरबुजाको बियाँको मिश्रण मासु तथा तरकारीमा बढी प्रयोग हुने गरेको छ ।
मध्यपूर्व एसियामा बढी प्रयोग हुने यो भारत सरकारले परिमाणात्मक बन्देज लगाएपछि नेपालमा कारोबार भएको देखिन्छ । त्यसपछि नेपालमा यसको वैधानिक आयात भएर अवैधानिक निकासी भइरहेको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको ११ महिनामा तीन अर्ब चार करोड ८४ लाख १२ हजार मूल्य बराबरको २० हजार १५४ टन तरबुजाको बियाँ आयात भइसकेको देखिन्छ । गत वर्ष र अघिल्लो वर्षभन्दा यसको आयात अधिक देखिएको हो । विभागका अनुसार सबैभन्दा बढी अफगानिस्तानबाट सात हजार १०९ टन, दोस्रोमा नाइजेरियाबाट छ हजार ४०६ टन, तेस्रोमा सुडानबाट तीन हजार ८२७ टन र युएईबाट दुई हजार ८१२ टन आयात गरिएको छ । त्यसबाहेक चीन, टर्की, भारत, उज्वेकिस्तानबाट समेत आयात भएको देखिन्छ ।
गत आवमा २५ करोड ७० लाख मूल्य बराबरको एक हजार २८६ टन आयात भएको थियो । जसमा सबैभन्दा बढी अफगानिस्तानबाट ४४५, नाइजेरियाबाट ३२४ र चीनबाट १४५ टन भित्र्याइएको थियो । तरबुजाको बियाँ २०८१ सालको चैतदेखि आयात बढ्दो देखिन्छ । त्यसबेलादेखि नै भारतले समेत परिमाणात्मक बन्देज लगाएको थियो । आव २०८०/८१ मा नौ करोड १३ लाख मूल्य बराबरको ५०२ टन आयात भएको थियो । त्यसअगाडि आव २०७९/८० मा दुई करोड १४ लाखको १२७ टन र २०७८/७९ मा दुई करोड तीन लाखको ९९ टन आयात भएको देखिन्छ ।गोरखापत्र अनलाइन



