
सरोज ढुङ्गेल
काठमाडौँ, असार ३१ गते । कुनै समय कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामीहरूको गन्तव्य विदेश हुने गथ्र्याे । कलेजो प्रत्यारोपण गर्ने बिरामीले करोड रुपियाँ खर्चेर विदेशमा गई प्रत्यारोपण गराउनुपथ्र्यो । नेपाली बिरामी एक दशकअघिसम्म कलेजो प्रत्यारोपणका लागि भारत, थाइल्यान्ड सिङ्गापुरलगायत मुलुकमा जाने गर्थे । विदेशमा जान सामान्य नेपाली नागरिकको हैसियत पुग्दैनथ्यो । पछिल्लो एक दशकदेखि नेपालमा कलेजो प्रत्यारोपण हुन थालेको छ । विदेश गएर करोडभन्दा धेरै खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
उपचारका लागि करोडौँ रुपियाँ खर्च, महिनौँसम्म विदेश बसाइ तथा परिवारमाथि ठुलो आर्थिक तथा मानसिक बोझ पथ्र्यो । अहिले नेपालमै कलेजो प्रत्यारोपण सम्भव भएको छ । नेपाली चिकित्सकले आफ्नै नेतृत्वमा कलेजोको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न थालेका छन् । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले नेपालमा पहिलो पटक २०७३ मङ्सिर २२ गते भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न भएको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार उक्त प्रत्यारोपण दक्षिण कोरियाली विशेषज्ञको सहकार्यमा सम्पन्न भएको थियो । कलेजो प्रत्यारोपण सफलताको दृष्टिले नेपालले उत्साहजनक उपलब्धि हासिल गरेको छ । पछिल्ला वर्षहरूमा प्रत्यारोपण केन्द्रले गरेका सबै प्रत्यारोपण सफल भएको जानकारी दिएको छ । कार्यकारी निर्देशक डा. श्रेष्ठले कलेजो प्रत्यारोपणमा अझै चुनौती रहेको जानकारी दिनुभयो । अङ्गदान गर्ने व्यक्तिको अभाव, मस्तिष्क मृत्युपछि अङ्गदानबाट हुने प्रत्यारोपण न्यून हुनु, प्रत्यारोपणपछि जीवनभर खानुपर्ने औषधीको खर्च, सीमित मात्रामा प्रत्यारोपण सेवा मुख्य चुनौतीका रूपमा देखापरेका छन् ।
डा. श्रेष्ठका अनुसार अङ्गदानसम्बन्धी जनचेतना विस्तार गर्ने, बिमा प्रणालीलाई प्रभावकारी बनाउने तथा प्रत्यारोपणपछिको औषधी सहज उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । “एक दशकअघि कल्पना जस्तो लाग्ने कलेजो प्रत्यारोपण अहिले नेपालमै सम्भव भएको छ,” उहाँले भन्नुभयो, “अबको लक्ष्य निरन्तर रूपमा प्रत्यारोपण गर्ने र अङ्गदानबाट हुने प्रत्यारोपणलाई बढाउनु पनि हो ।” उहाँले सीमित स्रोत र साधन भए पनि कलेजो तथा मिर्गौला प्रत्यारोपणमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको बताउनुभयो । केन्द्रको आफ्नै भवन नहुँदा समस्या परेको उहाँको भनाइ छ । हाल प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालको एउटा भवनमा सीमित भएर मिर्गौला तथा कलेजो प्रत्यारोपण गरिरहेको छ । केन्द्रलाई सरकारले अर्को ठाउँमा स्थानान्तरण गरेर सञ्चालन गर्न सकेको छैन ।
वरिष्ठ प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपण क्षेत्रमा नेपालले ठुलो फड्को मारेको जानकारी दिनुभयो । आफू केन्द्रको कार्यकारी हुँदा नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपणको सुरुवात गरेको चर्चा गर्दै उहाँले हालसम्म ३७ जनाको कलेजो प्रत्यारोपण हुनु ठुलो उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो । “अहिले मानव अङ्ग प्रत्यारोपणसम्बन्धी काम गर्ने समिति भङ्ग भएको छ,” डा. श्रेष्ठले भन्नुभयो, “उक्त समिति भङ्ग गरेर अर्को समिति नहुँदा समस्या भएको छ ।” उहाँले सरकारीस्तरमा निरन्तर कलेजो प्रत्यारोपण गर्नका लागि आवश्यक जनशक्ति, उपकरण, पूर्वाधार हुनुपर्ने बताउनुभयो ।
केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलले हालसम्म केन्द्रमा ३७ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको जानकारी दिनुभयो । नेपाल सरकार अन्तर्गत रहेको प्रत्यारोपण केन्द्रमा सामान्यतया प्याकेजमा १५ लाख रुपियाँ खर्च हुने गरेको छ । यसबाहेक बिरामीको अन्य औषधी तथा उपकरण खर्च पाँचदेखि १० लाख रुपियाँसम्म हुने गर्छ ।
यसै गरी २०७६ जेठ १७ गते महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । पहिलो शल्यक्रियामा छोरीले आफ्ना बुबालाई कलेजो दान गरेर सफल प्रत्यारोपण गरिएको थियो । अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीले अन्य रोगका बिरामी देशभरबाट रिफर भएर आए पनि कलेजोका बिरामीहरू रिफर भएर आउन नसकेको जानकारी दिनुभयो । उहाँले अन्य बिरामीको धेरै महिनाको लाइन हुने तर कलेजो प्रत्यारोपणका लागि लाइन नहुने गरेको जानकारी दिनुभयो ।
उहाँले मिर्गौला, क्यान्सरका बिरामीलाई सहुलियत गरे जस्तो सरकारले कलेजोका बिरामीलाई सहुलियत दिन नसकेको जानकारी गराउनुभयो । उहाँले अस्पतालमा शल्यक्रिया खर्च पाँच लाख रुपियाँ मात्र भए पनि औषधी महँगो हुने, विभिन्न परीक्षण गर्नुपर्ने, भर्ना हुने दिनदेखि डिस्चार्ज गर्दा ३० देखि ३५ लाखसम्म खर्च हुने गरेको जानकारी गराउनुभयो । हप्ता, दस दिनमा डिस्चार्ज हुँदा २६/२७ लाखसम्म खर्च हुने गरेको उहाँको भनाइ छ ।
त्रिवि शिक्षण अस्पतालका नेपाली चिकित्सकले विदेशी विशेषज्ञको प्रत्यक्ष संलग्नताबिनै आफ्नै नेतृत्वमा २०८० सालमा कलेजो प्रत्यारोपण सफल रूपमा सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । हालसम्म शिक्षण अस्पतालमा २६ जनाको कलेजो प्रत्यारोपण भएको छ । हाल नेपालमा सरकारी स्तरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नियमित रूपमा कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिरहेका छन् ।
केन्द्रले सबैभन्दा धेरै प्रत्यारोपण गरेको छ भने त्रिवि शिक्षण अस्पतालले पनि पछिल्लो समय निरन्तरता दिँदै आएको छ । डा. भण्डारीले पछिल्लो साढे दुई वर्षमा १७ जनाको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । सुरुमा १० जनाको कलेजो प्रत्यारोपण विदेशी विशेषज्ञ चिकित्सकको सहयोगमा गरिएको भए पनि त्यसपछिका १६ वटा प्रत्यारोपण नेपाली चिकित्सकहरूको टोलीले आफ्नै नेतृत्वमा सफलतापूर्वक गर्दै आएको उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।



