मूल खबरस्वास्थ्य

विस्तार हुँदै क्यान्सरको जोखिम

सरोज ढुङ्गेल

लिम्चुङबुङ (उदयपुर), साउन १ गते । सहरमा मात्र होइन, ग्रामीण भेगमा पनि क्यान्सरलगायत नसर्ने रोगको प्रकोप बढ्दै गएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा केही वर्षअघिसम्म क्यान्सरलगायत नसर्ने रोगका बिरामी थिएनन् । तर पछिल्लो तथ्याङ्कले क्यान्सरलगायत नसर्ने रोगको प्रकोप गाउँमा पनि बढ्दै गएको देखाएको छ । गाउँपालिकाका पाँच वटै वडामा गरिएको स्वास्थ्य परीक्षणले नसर्ने रोगको जोखिम ग्रामीण क्षेत्रमा पनि बढ्दै गएको देखाएको छ ।

यस गाउँमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगका बिरामी भेटिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख कर्णशेर राईका अनुसार गत वर्ष मात्र गाउँपालिकामा १४ जना क्यान्सरका बिरामी पुष्टि भएका छन् । पालिकाले उनीहरूलाई उपचारमा सहुलियतका लागि सिफारिस गरेको छ । तीमध्ये पाँच जना महिला र आठ जना पुरुष छन् । क्यान्सरका बिरामीको उमेर ४५ देखि ७५ वर्ष समूहका छन् ।

शाखा प्रमुख राईले दिनुभएको जानकारी अनुसार २०७९ देखि २०८१ सम्ममा क्यान्सरका कारण सात जनाको मृत्यु भएको छ । क्यान्सर भएका बिरामीमध्ये आठ जनामा पेटको क्यान्सर, तीन जनामा मुखको क्यान्सर, दुई जनामा मलद्वारको क्यान्सर र एक जनामा जिब्रोको क्यान्सर देखिएको छ । पालिकाले पाँच वटै वडामा सञ्चालन गरेको नसर्ने रोग परीक्षणमा एक हजार ५२८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ८६२ जना महिला र ६६६ जना पुरुष थिए । परीक्षण गरिएकामध्ये १८ जनामा मधुमेह, १९ जनामा सिओपिडी रहेको थियो । परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा अधिक तौलको समस्या देखिएको छ । परीक्षणमा ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई समेटिएको थियो ।

पछिल्ला वर्षहरूमा ग्रामीण क्षेत्रमा पनि नसर्ने रोगका बिरामी बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार नियमित स्वास्थ्य परीक्षण, स्वस्थ खानपान, शारीरिक सक्रियता तथा सुर्तीजन्य पदार्थ र मदिरा सेवन नियन्त्रण गर्न सके यस्ता रोगको जोखिम घटाउन सकिन्छ ।

सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ । महिलामा सहरी क्षेत्रमा स्तन क्यान्सर र ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ । परिषद्ले सार्वजनिक गरेको जनसङ्ख्यामा आधारित क्यान्सरको प्रतिवेदन अनुसार अध्ययन गरिएका सबै क्षेत्रमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिएको हो । सहरी क्षेत्रमा महिलामा स्तन क्यान्सर प्रमुख रहेको छ भने ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ । त्यस्तै पेट र पित्तथैलीको क्यान्सर पनि अधिकांश क्षेत्रमा पुरुष र महिला दुवैमा देखिएको छ । अध्ययनमा काठमाडौँ उपत्यका, रुकुम, सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्ला समेटिएको थियो ।

परिषद्का प्रमुख अनुसन्धानकर्ता डा. मेघनाथ धिमालले जनसङ्ख्यामा आधारित क्यान्सरसम्बन्धी अध्ययनले नेपालमा क्यान्सर रोग गम्भीर जनस्वास्थ्य समस्याका रूपमा बढ्दै गएको देखाएको जानकारी दिनुभयो । परिषद्को अध्ययन अनुसार नेपालमा प्रत्येक वर्ष करिब २६ हजार नयाँ क्यान्सरका बिरामी थपिने र करिब १९ हजार जनाको क्यान्सरकै कारण मृत्यु हुने अनुमान गरिएको छ । उहाँले काठमाडौँ उपत्यकामा नयाँ क्यान्सर बिरामीको दर अन्य अध्ययन क्षेत्रको तुलनामा बढी देखिएको जानकारी दिनुभयो । सिराहा, सप्तरी, धनुषा र महोत्तरीमा भने क्यान्सरका बिरामीको सङ्ख्या कम देखिनुको कारण उपचारका लागि भारत जाने, रोग समयमै पहिचान नहुने तथा जनचेतनाको कमी हुन सक्ने प्रतिवेदनले औँल्याएको छ ।

धिमालका अनुसार नेपालमा क्यान्सरसम्बन्धी भरपर्दो राष्ट्रिय तथ्याङ्कको अभाव रहेकाले स्वास्थ्य मन्त्रालयको समन्वयमा सन् २०१८ देखि जनसङ्ख्यामा आधारित क्यान्सर रजिस्ट्री सञ्चालन गरिएको थियो । काठमाडौँ उपत्यका, रुकुम तथा सिराहा, सप्तरी, धनुषा र महोत्तरी गरी नौ जिल्लाका करिब २० दशमलव ५ प्रतिशत जनसङ्ख्यालाई समेटिएको थियो । प्रतिवेदनले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, स्वास्थ्य मन्त्रालयमा छुट्टै क्यान्सर शाखा स्थापना गर्न, सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणलाई कडाइ गर्न, स्तन तथा पाठेघरको मुखको क्यान्सरको नियमित परीक्षण र प्रारम्भिक पहिचान कार्यक्रम विस्तार गर्न तथा ग्रामीण क्षेत्रमा प्रारम्भिक परीक्षण केन्द्र स्थापना गर्न सुझाव दिएको छ । क्यान्सरका बिरामीको अभिलेख व्यवस्थित बनाउन डिजिटल प्रणाली विकास गर्न र मृत्यु दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नसर्ने रोग नियन्त्रणलाई सरकारले प्रमुख प्राथमिकता दिएको बताउनुभयो । सुर्तीजन्य पदार्थको सेवन, मदिरा पिउने बानी, असन्तुलित खानपान, शारीरिक श्रमको कमी तथा वायु प्रदूषण क्यान्सरका प्रमुख कारण भएको बताउँदै उहाँले यी कारणलाई नियन्त्रण गर्न सके क्यान्सरको जोखिम घटाउन सकिने जानकारी दिनुभयो ।

अध्ययनले क्यान्सरको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि, उपचार सेवाको विस्तार तथा रोकथामका कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा अञ्जनीकुमार झाले सुर्तीजन्य पदार्थको सेवन नगर्न, स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित भोजन गर्न, नियमित व्यायाम गर्न तथा जोखिममा रहेका व्यक्तिले समय समयमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिनुभयो । उहाँले पछिल्लो समय ग्रामीण क्षेत्रमा क्यान्सरका बिरामी देखिनुलाई समयमै पहिचान र क्यान्सरसम्बन्धी जनचेतनाको विकास भएको बताउनुभयो । उहाँले क्यान्सर समयमै पत्ता लागे उपचारको सफलता दर बढ्ने र मृत्युको जोखिम घट्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button