
सूर्यप्रसाद पाण्डे
काठमाडौँ, भदौ ३० गते । विद्यालय तहमा नयाँ पाठ्यक्रम लागु गर्ने कि पुरानो भन्ने अन्योलका कारण विद्यालय तहको पाठ्यपुस्तक छपाइ प्रभावित भएको छ ।
तत्काल यो अन्योलको अन्त्य नभएमा आगामी शैक्षिक सत्र २०८४/८५ मा विद्यालय तहमा पाठ्यपुस्तक अभावको समस्या निम्तिने चिन्ता बढेको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ । विद्यालय तहमा हाल रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप (एनसिएफ) २०७६ को परिमार्जनका लागि सरकारले कार्यदल बनाएर काम गरिरहेको छ । कार्यदलले विभिन्न समूहमार्फत जिल्लामा गएर विद्यार्थी, शिक्षक, अभिभावक, नीति निर्मातालगायत अन्य सरोकारवाला समूहबाट पृष्ठपोषण लिइरहेको छ ।
पृष्ठपोषण सङ्कलन तथा चरणबद्ध छलफल सकेर नयाँ पाठ्यक्रम निर्माणको तहमा पुग्न केही समय लाग्न सक्छ । नयाँ पाठ्यक्रम अनुसार पाठ्यपुस्तक छपाइसम्मको चरणमा पुग्न झन कति दिन लाग्छ भन्ने यकिन छैन ।
यही अन्योलका बिच जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छपाइका लागि आवश्यक निर्णय गरिदिन पाठ्यक्रम विकास केन्द्रलाई पटक पटक अनुरोध गरिसकेको छ । पाठ्यपुस्तक छपाइका लागि आवश्यक पर्ने मुद्रणीयप्रति (प्रिन्ट राइट कपी) पाठ्यक्रम विकास केन्द्रले दिनुपर्ने हुन्छ । मुद्रणीय प्रतिका आधारमा पाठ्यपुस्तक छपाइको काम हुन्छ ।
जनक शिक्षाका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मुद्रणीय प्रति उपलब्ध गराइदिन पाठ्यक्रम विकास केन्द्रलाई अनुरोध गरिएको तर हालसम्म निर्णय नभएको बताउनुभयो । समयमै निर्णय भएर आफूहरूलाई पाठ्यक्रमको मुद्रणीय प्रति उपलब्ध गराइदिएमा पाठ्यपुस्तक छाप्न सहज हुने उहाँले बताउनुभयो ।
जनक शिक्षाले गत वर्ष साउन महिनाबाट नै पाठ्यपुस्तक छपाइ सुरु गरेको थियो । बेलैमा छपाइको काम गर्न पाएका कारण उसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसमेत छापेको थियो । यस पटक भने पुस्तक नै छाप्न नपाउँदा कर्मचारीहरूलाई काम लगाउनसमेत मुस्किल भएको केन्द्रले जनाएको छ ।
प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो, “अहिले काम नपाउँदा कर्मचारी हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ । ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थाको आर्थिक भारसमेत बढाउँछ ।”
पाठ्यक्रम विकास केन्द्रले पनि जनक शिक्षाको गुनासो सम्बन्धित निकायमा जानकारी गराएको बताएको छ । केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरेले भन्नुभयो, “हाम्रोतर्फबाट काम गरिरहेका छौँ । सम्बन्धित निकायबाट छिट्टै निर्णय हुन्छ होला ।” अबको एक साताभित्र मुद्रणीय प्रति उपलब्ध गराए पनि शैक्षिक सत्रअघि नै पाठ्यपुस्तक छपाइ सक्ने जनक शिक्षाले जनाएको छ । यस केन्द्रसँग अहिले छ वटा छापाखाना सञ्चालनमा छन् । ती छापाखाना पूर्ण रूपमा सञ्चालन भएमा दैनिक एक लाखको हाराहारीमा पाठ्यपुस्तक छाप्न सक्छन् । जनक शिक्षासँग गत वर्ष छापिएको ३० लाख थान पुस्तक मौज्दात छन् । नयाँ पाठ्यक्रम अनुसार पुस्तक छाप्नुपर्ने अवस्था आयो भने यी पुस्तक खेर जान्छ, जसबाट जनक शिक्षालाई ४० करोड रुपियाँ जति नोक्सान हुन सक्छ ।
अहिलेकै अवस्थामा पुरानो पाठ्यक्रम अनुसार पुस्तक छाप्ने अधिकार दिने हो भने कक्षा १ देखि १२ सम्मै पुस्तक एक्लैले छाप्न सक्ने र शैक्षिक सत्र सुरु हुनुअघि पनि विद्यालयमा पुस्तक पु¥याउन सकिने जनक शिक्षाको दाबी छ । गत वर्ष कक्षा १, २ र ४ को पाठ्यपुस्तक छपाइको जिम्मा सरकारले निजी मुद्रण संस्थालाई दिएको थियो । बाँकी कक्षाका पाठ्यपुस्तक जनक शिक्षाले छापेको थियो ।गोरखापत्र दैनिकमा खबर छ ।



