मूल खबरहेड लाइन

नेपालको पीडामा विश्वको साथ

चाँदनी हमाल

काठमाडौँ, भदौ ३१ गते । नेपालमा भोटेकोशी हिमबाढीले दिएको पीडालाई विश्वका उच्च नेतृत्वहरूले आत्मसात् गर्नुभएको छ । रसुवाको लाङटाङ लिरुङ हिमालबाट भदौ १० गते हिमाल चोइटिएर झरेपछि भोटेकोशीहुँदै नेपालमा विनाशकारी हिमबाढी महाविपत् निम्त्याएको हो ।

हिमबाढीमा नेपालीसँगै विश्वका ३५ मुलुकका नागरिकको जिउधनसमेत परेको छ । आफ्ना नागरिकको खोजीको चासो एकातिर छ । अर्कोतर्फ नेपालले भोगिरहेको विपत्मा विश्वका उच्च नेतृत्वले पनि पीडा अनुभूत गर्नुभएको छ । जस अनुसार कतिपय देशको संसद्मा नेपालको पीडा सुनिए । कतिपय देशका नेतृत्वले सार्वजनिक धारणामा नेपालबारे बोल्नुभयो । कतिपयले नेपालको दूतावासमै पुगेर शोक वक्तव्य लेख्नुभयो । सम्बन्धित देशको संसद्देखि सामाजिक सञ्जालसम्म विश्वका उच्च नेतृत्वको भावना यतिखेर नेपाल र नेपालीतिर सोझिएको प्रस्ट देखिन्छ ।

विपत्को बेला विश्वको बलियो साथ यो पटक नेपालले पाएको पूर्वपरराष्ट्र सचिव डा. मदनकुमार भट्टराई सुनाउनुहुन्छ । विपत् २०७२ मा महाभूकम्पले पनि ल्याएको थियो । उहाँले भन्नुभयो, “यस पटक त्योभन्दा ठुलो साथ विश्वका उच्च नेतृत्वले देखाउनुमा नेपालको सुधारिँदो राजनीतिक चरित्र पनि हो ।” विपत्पछि सरकारले देखाएको उद्धारको तदारुकता र सहयोगको सही सदुपयोग हुन्छ भन्ने भरोसाको आड मित्रराष्ट्रले पाएको दाबी उहाँको छ । भट्टराईले थप्नुभयो, “बोली मात्र हैन यस पटक मित्रराष्ट्रहरूले दिल खोलेर सरकार सामु साथ राखेको छ, यो विश्वास पछिसम्म कायम राख्न प्रभावितको पुनस्र्थापनामा पनि सरकार सही देखिनु पर्छ ।”

उहाँले भन्नुभए जस्तै हिमबाढीको तेह्रौँ दिनमा विश्वका अधिकांश मित्रराष्ट्रका राष्ट्रिय झन्डा नेपालको पीडामा आधा झुक्यो । कतिपय उच्च नेतृत्वले प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन गरेर विपत्मा ऐक्यबद्धता जनाउनुभयो । कतिपय विदेशमन्त्रीस्तरको नेतृत्व नेपाल आउनुभयो ।

विश्वकै शक्तिराष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी बाढीको पीडाबारे बोल्नुभयो । राष्ट्रपति ट्रम्पले नेपालमा आएको विनाशकारी विपत्को भिडियोमा देखिएको दृश्य निकै डरलाग्दो महसुस गरेको भन्दै अमेरिकासँग लामो समयदेखि सुमधुर सम्बन्ध रहेको नेपालले जस्तो सहयोग चाहन्छ अमेरिका खुला दिलले सहयोग गर्न तयार रहेको सार्वजनिक धारणा राख्नुभयो । विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फोन गरेर सान्त्वना दिँदै जस्तो सहयोग पनि उपलब्ध गराउन तयार रहेको दोहोर्‍याउनुभयो ।

दक्षिणको छिमेकी भारतले नेपालमा हिमबाढी आएलगत्तै विदेश मन्त्रालयमा आपत्कालीन बैठक डाक्यो । सहयोग गर्ने योजना नै बनायो । पहिलो दिन नै प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले प्रधानमन्त्री वालेन्द्र शाहलाई फोनमार्फत पीडामा नेपाल एक्लो नरहेको अभिव्यक्ति दिनुभयो ।

उत्तरको छिमेकी चीनका राष्ट्रपति सी चिनफिङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देशमार्फत विपत्तिमा चीनलाई सबैभन्दा बढी दुखेको औँल्याउनुभयो । हिमाल र हिमनदीले जोडिएको दुई मुलुकको साझा पीडामा एकअर्काको साथ रहेको सुनाउनुभयो । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई शोक सन्देशमार्फत हरतरहले सयोग गर्ने वचनबद्धता प्रकट गर्नुभयो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पहिले प्रधानमन्त्री शाहलाई फोन गर्नुभयो । त्यसपछि त्यहाँको संसद्मा सहयोगको प्रस्ताव राख्नुभयो । जापानका प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री शाहलाई फोन गरेर पीडामा साथ रहेको बताउनुभयो ।

बेलायतका इन्डो–प्यासिफिक मामिलामन्त्री रोजी विन्टरटन ठुलो राहत सहायता बोकेर नेपाल आउनुभयो । कोरियाका विदेशमन्त्री चो ह्युन पनि नेपाल आउनुभयो । सहयोगी हातसँगै दुवै जना विपत् क्षेत्र पुग्नुभयो । मित्रराष्ट्र बङ्गलादेशको संसद्ले एक मिनेटको मौनधारणसहित भोटेकोशी हिमबाढीमा परेर निधन भएकाप्रति श्रद्धाञ्जली दियो । साथै नेपालको पीडा कम गराउन नेपाली राष्ट्रिय गान बजायो । अनि प्रार्थनासहित शोक प्रस्ताव पारित गर्‍यो ।

पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले नेपालको पीडामा साथ रहेको उद्घोष गर्दै विमानमार्फत नेपालमा राहत सामग्री पठाउनुभयो । उता, भुटानका राजा जिग्मेखेसर नामग्याल वाङचुकले दुःखको सारथि रहेको भन्दै सहयोग पठाउनुभयो । श्रीलङ्का, माल्दिभ्स, अफगानिस्तान सरकारको सहयोग र साथ राहतसँगै आयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको हिमालमा जलवायु परिवर्तनको प्रभाव बढी पर्दा यस्तो विपत्ति आएको दाबी गर्नुभयो । नेपालले जलवायु न्याय पाउनुपर्नेसम्मको अडानसँगै गर्विलो पक्षधरता देखाउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button