
तिमीले जति खेद्न सक्छौ, खेद,
आखिर सजाय त समयले दिने हो
म त भुइँमान्छेहरूसँग रमाएर,
भुइँकै धूलोमा खेलेर हुर्किएकी मान्छे
तिमीले कहाँ बुझ्न सक्छौ र
मेरो मूल्य के हो?
तिमी त नेताको फेर समाएर
माथि पुगेको मान्छे,
सधैँ आफूलाई ठालु ठानेर
अरूलाई नगन्ने मान्छे
तिम्रो वडाको भ्रष्ट सदस्य पनि
प्रिय लाग्छ तिमीलाई,
दाम चढाउनेहरू,
फेर समाउनेहरू
र चाकडीका शब्द बोल्नेहरूकै
भीडमा खोज्छौ आफ्नो संसार।
तर सम्झिराख
जब दाम र पहुँचको घेरा
तिम्रो वरिपरि रहनेछैन,
जब चाकडीका हातहरू
एक–एक गर्दै पर हट्नेछन्
त्यतिबेला बल्ल देख्नेछौ
मान्छेको असली अनुहार
र आफ्नै व्यवहारको ऐना
आफूमात्र जान्ने विद्वान्,
आफ्नै कुरा अन्तिम सत्य ठान्ने दम्भ,
सबैले आफूलाई मान्नुपर्छ भन्ने अहंकार
यही रहेछ तिम्रो परिचय
तर सम्झिराख,
एक दिन त्यही दिन आउनेछ
जुन दिन तिमीले अपहेलना गरेका
मान्छेकै सामु
हात जोड्नुपर्नेछ।
आज विभेद गरेर के पायौ?
अपमान गरेर के जित्यौ?
कसैलाई खसालेर
उसको स्वाभिमानमा चोट पुर्याएर
क्षणिक सन्तोष मिल्यो होला,
आफूलाई ठूलो ठान्यौ होला
तर सुन,
गद्दीमा बस्दैमा
मान्छे ठूलो हुँदैन
मान्छेको उचाइ कुर्सीले होइन,
उसको विचारले नापिन्छ
उसको मूल्य पदले होइन,
उसको कर्मले लेखिन्छ
भुइँबाट उठेको मान्छेलाई
गद्दी र भुइँ उस्तै लाग्छ,
किनकि उसले देखेको हुन्छ
समयको आँधीमा
गद्दी पनि ढल्छ,
पद पनि खोसिन्छ,
तर चरित्रले बनाएको उचाइ
कहिल्यै झर्दैन।
तिमीलाई लाग्दो हो
संस्थाभन्दा पार्टीका सदस्य महत्वपूर्ण छन्,
पदभन्दा पहुँच ठूलो छ,
विचारभन्दा पैसा बलियो छ
तर स्वतन्त्र पदको मर्यादा
कसैले कुल्चिँदैमा
शिर झुक्दैन
धैर्यले मानिसको पहिचान बनाउँछ,
दृढ सङ्कल्पले बाटो कोर्छ
समय ढिलो होला,
तर अन्धो हुँदैन
न्याय ढिलो होला,
तर हराउँदैन
समय आउँछ
अवश्य आउँछ,
बलवान् भएर आउँछ
तिमीले दिएको अपमानले
एक दिन तिमीलाई नै पिरोल्नेछ,
तिमीले रोपेको तिरस्कार
एक दिन तिम्रै आँगनमा उम्रनेछ
त्यतिबेला बुझ्नेछौ
विद्वान् हुनु र विवेकी हुनु
एउटै कुरा रहेनछ।
महिला र पुरुषबीच
विभेद गरेर हुर्किएको समाजको मान्छे तिमी
नारीको पद देख्दा
किन यति पोल्छ तिम्रो चेतना?
किन नारीको सम्मान
तिम्रो अहंकारमाथिको प्रहारजस्तो लाग्छ?
किन नारीको उचाइ
तिमीलाई आफ्नो हारजस्तो लाग्छ?
किन उसको सफलता
तिम्रो आँखामा काँडाझैँ बिझ्छ?
तिम्रो चेतनाले
पार्टीका ठालु र पैसावालालाई मात्र सम्मान गर्ला
तर म भन्छु
मान्छेको मूल्य
उसको खल्तीमा हुँदैन,
उसको कर्ममा हुन्छ
उसको हैसियत
उसको पदमा हुँदैन
उसको चरित्रमा हुन्छ
त्यसैले धैर्य गर
एक दिन समयले हिसाब मिलाउनेछ
त्यो दिन
तिम्रो पदको दम्भ,
पैसाको घमण्ड,
पहुँचको अहंकार
र चाकडीको साम्राज्य
सबै समयको कठघरामा उभिनेछन्।
म भने
भुइँमै खेलेर,
भुइँमै रमाएर,
मान्छेसँग मन साटेर हुर्केकी हुँ
मलाई तिम्रो गद्दीको लोभ छैन,
तिम्रो कृपाको भोक छैन,
तिम्रो चाकडीको आवश्यकता छैन
मलाई चाहिएको छ
मेरो विचारको सम्मान,
मेरो श्रमको मूल्य,
मेरो अस्तित्वको पहिचान
र मेरो स्वाभिमानको उचाइ
विचारमा ढुसी परेको मान्छे तिमी,
विभेदलाई संस्कार ठान्ने मान्छे तिमी,
नारीलाई कमजोर देखेर
आफूलाई बलवान् ठान्ने मर्द तिमी
नारीको पद र मर्यादाले
किन यति पिरोल्छ तिमीलाई?
त्यसैले त
पटक–पटक हुंकार गर्दै
सभा–सेमिनारमा गर्जन्छौ,
ईर्ष्याको आगोमा छटपटिन्छौ,
र आफूलाई मात्र
सर्वज्ञ, सर्वश्रेष्ठ ठान्छौ
विचरा तिमी!
समयलाई जितेको ठान्छौ,
तर समयको गति बुझ्दैनौ
आज तिमी माथि छौ
भोलि अर्को कोही हुनेछ
आज तिम्रो हातमा सत्ता छ,
भोलि समयकै हातमा हुनेछ
किनकि
गद्दी सधैँ रहँदैन,
पैसा सधैँ रहँदैन,
पद सधैँ रहँदैन,
पहुँच सधैँ रहँदैन
तर मान्छेले दिएको चोट
स्मृतिमा बाँच्छ,
कर्मले छोडेको छाप
इतिहासमा बाँच्छ,
र समयले गरेको न्याय
कहिल्यै हराउँदैन
त्यसैले
मलाई खेदिराख,
अपमान गरिराख,
मेरो बाटो छेकिराख
म झुक्ने छैन
किनकि मेरो शक्ति
तिम्रो गद्दीमा होइन,
मेरो सत्यमा छ
मेरो परिचय
तिम्रो स्वीकृतिमा होइन,
मेरो कर्ममा छ
र मेरो अन्तिम फैसला
तिमीले होइन
समयले गर्नेछ
किनकि
समय नै अदालत हो,
कर्म नै प्रमाण हो,
र सत्य नै अन्तिम फैसला..!


