मूल खबर

मनासलु आरोहणमा बढ्यो आकर्षण

काठमाडौँ, भदौ २६ गते । सगरमाथा आरोहण गर्न जानुअघिको तयारीका रूपमा आरोहण गरिने मनासलु आरोहणमा यस वर्ष थप आकर्षण बढेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण रसुवा, लामटाङ र भोटेकोशीआसपासको उत्तरी भेगतर्फको पर्यटन क्षेत्रमा असर पुगे पनि शरद् ऋतुमा हुने आरोहणतर्फ भने उत्साह देखिएको हो ।

पर्यटन विभागका अनुसार गत वर्षको शरद् ऋतुमा मनासलु आरोहण गर्न ३१ समूहका २७९ पुरुष र ९५ महिला गरी ३७४ आरोहीले आरोहण अनुमति लिएकामा यस वर्ष बिहीबारसम्म ४२२ जनाले अनुमति लिएका छन् ।

विभागका निर्देशक सुरज घिमिरेले भन्नुभयो, “बाढीका कारण उत्तरी भेगतर्फको धार्मिक पर्यटनमा असर पुगे पनि असोजदेखि मङ्सिरसम्म हुने पर्वतारोहणमा भने विगतभन्दा आकर्षण देखिएको छ । बाढीको असर एउटा निश्चित भौगोलिक क्षेत्रमा मात्रै परेको र आरोहीले पूर्वतयारी अनुसार पर्वतारोहणको अनुमति लिने भएकाले पनि आरोहण क्षेत्रमा बाढीको असर परेको देखिँदैन ।”

बाढीका कारण पृथ्वी राजमार्गमा पुगेको क्षतिका कारण आरोहण दलका सदस्यलाई गन्तव्यतर्फ जान केही असहज भए पनि विश्व समुदायबाट पर्वतारोहणबारे सोधखोज गर्ने र आरोहणको अनुमति लिने क्रम बढ्दै गएकाले बाढीले पर्वतीय पर्यटनमा असर नपर्ने उहाँले जनाउनुभयो ।

उहाँका अनुसार बिहीबारसम्म मनासलु आरोहण गर्न ३५ समूहका ३१३ पुरुष र १०९ जना महिला आरोहीले अनुमति लिएका छन् । त्यस्तै गरी दङ्ग हिमाल आरोहण गर्न १६ जनाले र मकालु पहिलो आरोहण गर्न तीन जनाले अनुमति लिएका छन् । उक्त हिमाल आरोहणबापत १९ करोड ३१ लाख ७३ हजार ७२८ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

विभागले वसन्त ऋतु (मार्च, अप्रिल र मे) तथा शरद् ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) मा हिमाल आरोहणका लागि अनुमति दिँदै आएको छ । जस अनुसार सन् २०२५ मा ६५९ जनाले मनासलु आरोहण गर्न अनुमति लिएका थिए । त्यस्तै गरी अघिल्लो वर्ष धवलागिरि आरोहण गर्न ४७, अन्नपूर्ण पहिलोमा ४४, हिमलुङ्गमा १८९, अमादब्लममा ५१६, नृत्प्सेमा १० अन्नपूर्ण चौथोमा १० र मकालु आरोहण गर्न ९० जनाले अनुमति लिएका थिए ।

मार्ग निर्माणमा मौसम बाधक

पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अनुसार शरद् ऋतुको मनासलु आरोहणका लागि आरोहण मार्ग निर्माण तथा डोरी टाँग्ने काम दोस्रो शिविर नजिक पुगेको छ । गत वर्ष भदौ २२ गते मनासलु चुचुरोसम्म डोरी टाँग्ने काम सम्पन्न भएकोमा यस वर्ष प्रतिकूल मौसम र अत्यन्त कम दृश्यताका कारण दोस्रो शिविरसम्मको मात्रै बाटो तयार भएको हो । मौसममा सुधार आए अबको एक साताभित्रै चुचुरोसम्म पुग्ने आरोहण मार्ग तथा डोरी टाँग्ने काम सम्पन्न गर्ने लक्ष्य रहेको सङ्घले जनाएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button