मूल खबरहेड लाइन

भोटेकोशी हिमबाढी पीडितको माग

“अब राहत होइन, स्थायी आवास र रोजगारीको व्यवस्था गरियोस् ”

विदुर–९, जोगेटारस्थित त्रिशूली आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएका पीडितहरू ।

सिराज खान

विदुर (नुवाकोट), असोज १ गते । भोटेकोशीमा आएको विनाशकारी हिमबाढीले घर, पसल र बर्साैंको मेहनत एकैछिनमा बगाउँदा घरबारविहीन भएका नुवाकोट–९ का अधिकांश पीडितको माग छ, “अब राहत होइन, स्थायी आवास र रोजगारीको व्यवस्था गरियोस् ।”

नुवाकोट जिल्लाको विदुर नगरपालिका–९, माछापोखरी, सिलट्याङ्की र सो वरिपरिका १२५ वटा घर, पसललाई बाढीले बगाएर बगर बनाएपछि बाँचेकाहरूले अहिले विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएका छन् । प्राकृतिक विपत्तिले उनीहरूको बस्ने ठाउँ मात्र खोसेको छैन, जीविकोपार्जनको आधारसमेत खोसिदिएको छ । पीडितहरूलाई त्रिशूली आधारभूत विद्यालय र सुलक्षणा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा राखिएको छ । जोगेटारस्थित त्रिशूली आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिनुभएका माछापोखरीका इस्मिता श्रेष्ठले भदौ ९ गतेसम्म आफ्नै घरमा परिवारसँग सुरक्षित जीवन बिताइरहेका माछापोखरी र सिलट्याङ्कीका ४६ जनालाई भदौ १० गते आएको बाढीले बगाएर बेपत्ता पारेको तथा १२५ परिवारलाई घरबारविहीन बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज हामी अस्थायी आश्रयस्थलमा बसेर आफ्नो भविष्यप्रति अत्यधिक चिन्तित छौँ । कसैको घर छैन, कसैको पसल छैन । धेरैका लागि घरसँगै आम्दानीको बाटो पनि बगेको छ । राहतका रूपमा तत्काल चाहिने आवश्यक सामान हातमा परे पनि अधिकांशको मनमा भोलिको चिन्ता छ ।”

यस्तै सोही होल्डिङ सेन्टरमा बस्नुभएका माछापोखरीका अर्का पीडित धनबहादुर रिजालले सरकार तथा विभिन्न सङ्घसंस्थाबाट प्राप्त हुने राहतले तत्कालको आवश्यकता मात्र केही हदसम्म पूरा गर्ने बताउनुभयो ।

उहाँका अनुसार खाद्यान्न, कपडा, त्रिपाल तथा अन्य सामग्री विपत्तिको समयमा अत्यावश्यक पनि हुन्छन् तर यस्तो राहतले आजको समस्या समाधान गरे पनि पीडितको भविष्यलाई सुरक्षित बनाउँदैन ।

अङ्गापुटारस्थित सुलक्षणा माविको होल्डिङ सेन्टरमा रहनुभएकी बाढीपीडित चमेली तामाङले भन्नुभयो, “बाढीका कारण बेघर र बेसहारा बनेकाहरूलाई अब सुरक्षित स्थानमा स्थायी बासको व्यवस्था र दुई छाक टार्न आयआर्जनको अवसर प्रदान गरिनु पर्छ ।”

उहाँका अनुसार केही दिन खानेकुरा दिएर मात्र समस्या समाधान हुँदैन । घर कहाँ बनाउने, परिवार कसरी पाल्ने र अबको जीवन कसरी चलाउने भन्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनु पर्छ । होल्डिङ सेन्टरहरूमा रहेका अधिकांश पीडितको मुख्य माग अहिले क्षणिक राहतभन्दा स्थायी आवास र दुई छाक टार्ने माध्यम अर्थात् रोजगारीको व्यवस्थापन रहेको छ ।

वडा नम्बर ९ का वडा अध्यक्ष हरिराम भण्डारीले बाढीले आफ्नो वडामा मात्रै ४६ जनालाई बेपत्ता पारेकोमा कसैको पनि शव नभेटिएको तथा १२५ परिवारलाई घरबारविहीन बनाएको बताउनुभयो । उहाँले आफूले पनि सो बाढीबाट आफ्ना दाजु शिवराम भण्डारी र बुहारी सङ्गिता भण्डारीलाई गुमाएको सुनाउँदै धेरैले आफन्त गुम्नुको पीडामा बस्नु परेको दुखेसो पोख्नुभयो । बेपत्ताहरू जीवित भेटिने आशा नरहेकाले अधिकांशले बेपत्ता आफन्तको काजक्रियासमेत गरिसकेको वडाध्यक्ष भण्डारीले जनाउनुभयो ।

घर गुमाएका परिवारलाई सुरक्षित र व्यवस्थित आवास, रोजगारी गुमाएकालाई आयआर्जनको अवसर तथा बालबालिकाको शिक्षा र स्वास्थ्यमा निरन्तर पहुँच सुनिश्चित गर्न सके मात्र उनीहरू सामान्य जीवनमा फर्कन सक्ने वडाध्यक्ष भण्डारीको भनाइ छ ।

अहिलेको प्राथमिकता राहत वितरणमा मात्र सीमित नराखी दीर्घकालीन पुनस्र्थापनाको योजनातर्फ पनि केन्द्रित हुनुपर्ने विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले बताउनुभयो । उहाँले स्थायी आवास, रोजगारी, शिक्षा र स्वास्थ्यका लागि सङ्घीय सरकारसँग समन्वय गरेर स्थानीय सरकारले काम गर्ने बताउनुभयो ।

यसैबिच शुभ सन्देशसभा नेटवर्क नेपाल बाँकेले विदुर–९ मा पुगेर वडा कार्यालयसँगको समन्वयमा १२५ पीडित परिवारका सात सय जनालाई एक करोड ३७ लाख रुपियाँका विभिन्न राहात वितरण गरेको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button