मूल खबर

पार्टी निर्णयविपरीतको विशेष महाधिवेशनले सभापति हटाउन सक्दैन : डा. महत

फिक्कल। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय समितिको निर्णयविपरीत कुनै पनि महाधिवेशन गर्न नसकिने बताएका छन्। उनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिले सहभागिता नजनाएको कथित विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न वा निर्वाचित सभापतिलाई पदबाट हटाउन नसक्ने स्पष्ट पारेका छन्।

नेपाली कांग्रेस इलामको जिल्ला अधिवेशनलाई बुधबार फिक्कलमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै डा. महतले पार्टी विधान र विधिसम्मत प्रक्रियाबिना नेतृत्व परिवर्तनको दाबी गर्नु भ्रम मात्र भएको बताए।

सभापतिले राजीनामा नदिएको, पार्टी विधानको धारा ४५ अनुसार अविश्वासको प्रस्ताव ल्याएर दुईतिहाइ बहुमतबाट हटाइएको अवस्था नरहेको तथा नेतृत्व परिवर्तनका अन्य वैधानिक आधारसमेत नभएको अवस्थामा सभापति हटाएको भन्नु निराधार रहेको उनको भनाइ थियो।

विशेष महाधिवेशनको नाममा नाटक मञ्चन गरेर केही व्यक्तिले पार्टीलाई विभाजनको संघारमा पुर्‍याएको आरोप लगाउँदै महतले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिले नै १५औँ महाधिवेशन सम्पन्न गराएर सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्ने बताए।

पार्टीभित्रको विवाद समाधानका लागि दुवै पक्षका अधिवेशन स्थगित गरेर राजनीतिक सहमति वा अदालतको फैसलाअनुसार अघि बढ्न आफूहरूले प्रस्ताव गरे पनि विश्वप्रकाश शर्मा र गगन थापाले त्यसलाई स्वीकार नगरेको महतले बताए।

देश जलेर खरानी भएको र पार्टी सभापतिमाथि गम्भीर सांघातिक हमला भएको संवेदनशील अवस्थामा समेत पार्टी एकताका लागि उनीहरू तयार नभएको उनको आरोप थियो। पार्टीलाई एकताबद्ध हुन नदिन आफूहरूले साथ पाएको तत्वको प्रभावले काम गरेको हुन सक्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक गोम भट्टराई, केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महिन्द्राकुमारी लिम्बू, सुजता परियार, लक्ष्मी खतिवडा, नेपाली कांग्रेस झापाका सभापति कृष्ण हुमागाईं र खोटाङका सभापति रोजन राईलगायतले धारणा राखेका थिए।

वक्ताहरूले जालझेल र षड्यन्त्रका आधारमा पार्टी कब्जा गरेको दाबी गर्दैमा कार्यकर्ता र जनताको मन जित्न नसकिने बताएका थिए। पछिल्लो संसदीय निर्वाचनको परिणामले पनि त्यसलाई स्पष्ट पारेको उनीहरूको भनाइ थियो।

नेपाली कांग्रेस इलाम जिल्ला अधिवेशन आयोजक समितिका संयोजक सोनाम छिरिङ काजीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी इलामका अध्यक्ष दिनेश महतलगायत विभिन्न राजनीतिक दलका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा आयोजक समितिका सहसंयोजक यमन लामाले स्वागत मन्तव्य राखेका थिए भने सचिव कृष्ण श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button