
झापा । झापा र इलामको दुरी द्रुत मार्गले छोट्याएको छ । मेची राजमार्गभन्दा झण्डै आधा छोटो दुरीमै झापा र इलाम जोडिएका छन् ।
इलामलगायत पूर्वी पहाडी जिल्लाहरुबाट झापा आइपुग्न मेची राजमार्ग प्रयोग गर्नुपर्ने बाध्यता अब हट्ने भएको छ । इलाम सदरमुकामबाट मेची राजमार्ग हुँदै झापाको बिर्तामोड पुग्न ८३ किलोमिटर दुरी पार गर्नुपर्छ । तर, हालै निर्माण सम्पन्न भएको दु्रत मार्गबाट ४७ किलोमिटरको यात्राबाट झापाको बिर्तामोड आइपुग्न सकिन्छ ।
खाद्यान्न ढुवानी, निर्माण सामग्रीको ढुवानी र स्वास्थ्य क्षेत्रमा अझै पनि इलामबाट झापामै निर्भर हुनुपर्ने अवस्था छ । यसले पनि द्रुत मार्गले आशा जगाएको इलामबासीको भनाइ छ । महंगो ढुवानीले समस्या भइरहेका बेला द्रुत मार्गले त्यसलाई केही न्यूनीकरण गर्नेमा आफूहरु आशावादी रहेको व्यवसायीहरुले बताएका छन् ।
इलाम बजार मात्र नभइ इलाम मंगलबारे जोड्ने द्रुत मार्ग पनि निर्माण भइरहेको छ । यहाँबाट हिउँदमा सहज रुपमा गाडी वारपार गरिरहेका छन् । अस्थायी र कच्ची सडक भएकाले वर्षाको समयमा गाडी चल्दैनन् । द्रुत मार्ग निर्माण भएसँगै इलाम बजार र मंगलबारेबाट झापा पुग्न आधा दुरी घट्ने भएको छ । इलाम नगरपालिका ९ को भञ्ज्याङ, राकसे हँुदै बेलासे पुग्ने दश किलोमिटर नयाँ ट्रयाक सडक खण्ड खुलेसँगै इलाम बजारबाट झापा पुग्न आधा दुरी घट्ने भएको हो ।
इलाम बजारबाट झापा जाने सडकको थालनी भने २०७४ सालमा नै भएको थियो । तत्कालीन निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत् १४ लाख ५५ हजार, उक्त कार्यक्रममा तत्कालीन जिल्ला विकास समितिको दुई लाख ५० हजार रुपैयाँले नयाँ ट्रयाक खोल्न सुरु गरिएको हो ।चालु वर्षमा इलाम नगरपालिकाको १५ लाख र एक नम्बर प्रदेशबाट पाँच लाखको लागतले उक्त सडक खण्डको ट्रयाक खुलेको हो । सडक निर्माण उपभोक्ता समिति अध्यक्ष तारादेवी कटुवालले १५ लाखले आठ मिटर चौडा भएको सडक एक हजार सात सय मिटर बाटो खुलाइएको जानकारी दिइन् । उनले घोर्लेभीर भन्ने स्थानसम्म सडक फराकिलो पार्ने काम भएपनि त्यहाँदेखि बेलासेको सोयाक–चिसापानी सडकसम्म सडक अmझै साँघुरो रहेको बताइन् । इलाम भञ्ज्याङबाट नयाँ ट्रयाक खुलेपछि रक्से हुँदै माई नगरपालिका दानाबारी र झापाको खुदुनाबारी सडक पुरानो सडकमा यातायात सञ्चालन भएमा भाडासँगै सामग्री ढुवानी र पर्यटन क्षेत्रमा थप सम्भावना खुल्ने स्थानीयले बताएका छन् ।
janasamsadonline



