स्वास्थ्य

के हो डिमेन्सिया?, यस्ता छन् लक्षण

डा सिपी सेडाईं

७५ वर्षीय वृद्ध सीताराम बुढाथोकी कुनै काम गर्न सक्दैनन्। उनको हेरचाह छोरा–नातिले गर्दै आएका छन्। १ वर्षदेखि उनको आनीबानीमा निकै परिवर्तन आएको छ। उनी धेरै कुरा बिर्सन्छन्।

दिसा–पिसाब पनि जथाभावी गर्न थालेका उनी आजकाल आफ्ना मानिसदेखि शंका गर्छन्। बुढाथोकीलाई कहिलेकाहीं आफ्नै छोरालाई चिन्न पनि गाह्रो पर्छ। राति सुत्न सक्दैनन्, कराइरहन्छन्।

उनको खान र बस्नको पनि ठेगान छैन। कहिले एक्कासि उत्तेजित हुन्छन् भने कहिले पत्याउनै गाह्रो पर्नेगरी झुठा कुरा गर्छन्।

आफ्नो जीवनकालमा निकै ठूला काम गरे उनले। राजनीति गरेर नेतासमेत बनेका बुढाथोकी अहिले बुढेसकालमा लाग्ने बिरामीबाट पीडित छन्। बिरामी त छन् नै, उनलाई आफैं बिरामी भएकोसमेत थाहा छैन।

बुढेसकालमा लाग्ने रोग डिमेन्सियाबाट ग्रस्त उनलाई अस्पतालबाट औषधि दिइएको छ। यो रोगको मुख्य कारण अल्जाइमर्स डिडिज हो। अहिले उनको दैनिक स्याहारसुसार गर्नुपर्ने स्थिति छ।

यो रोग लाग्दा मानिसको मस्तिष्कको आकार सानो हुन जान्छ। ६५ वर्ष उमेर पुगेपछि यो रोग देखापर्छ र बिरामीको विस्तारैविस्तारै दैनिक क्रियाकलापमा सम्झने शक्ति घट्छ। बिरामी रिसाउने, बिर्सने, दिसा, पिसाब कन्ट्रोल गर्न सक्दैन।

बिरामी एक्लै बस्ने, सोच्ने शक्ति कम हुने र व्यक्तित्वमा परिर्वतन हुने हुन्छ। अमेरिकाका पूर्व राष्ट्रपति रोनाल्ड रेगनलाई पनि यो रोग लागेको थियो।

लक्षणहरु
– सम्झना शक्ति कम हुने। उल्टो कुरा गर्ने। सामान्य कुरा पनि बिर्सने तर मैले बिर्सेको छैन, ठिक भनेको हुँ भनेर ढिपी गर्ने।
– बिरामी अचानक रिसाउने।
– बिरामी शंकालु बन्दै जाने। आफ्ना परिवारका सदस्यले आफूलाई मार्ने षडयन्त्र गर्छन् जस्ता शंकालु कुरा गर्ने।
– एउटै कुरा पटकपटक दोहोर्‍याउने।
– कहिलेकाहीं बिरामीलाई बिहान, दिउँसो, रातिको ज्ञान हँुदैन। मानिस चिन्न छाड्छ। डराएर घरबाट भाग्न थाल्छ।
६. दिसा, पिसाब रोक्न नसक्ने।
७. घरबाट भाग्ने, झगडा गर्ने।
८. सोच्ने शक्ति कम हुने।
९. आत्महत्या गर्न सक्छन्।

यो रोग विस्तारै सुरु हुन्छ र बढ्दै जान्छ। ६ महिनापछि मात्र यो रोगको लक्षण पूर्ण रुपमा देखिन्छ।

डिमेन्सियाको एउटा प्रमुख कारण अल्जाइमर्स रोग हो। ७५ प्रतिशत डिमेन्सिया अल्जाइमर्स रोगबाट हुन्छ। सिटी स्क्यान (एक्सरे) गरी हेर्दा मस्तिष्क सानो तथा चाउरी परेको देखिन्छ।

डिमेन्सिया रोग उमेरको आधारमा ६५ वर्षमा १ प्रतिशत मानिसमा, ८० वर्षमा १० प्रतिशत मानिसमा र ९० वर्षमा ३० प्रतिशत मानिसमा पाइन्छ।

डिमेन्सिया रोगका अन्य कारणहरु पिकस, हन्टिङ टेन्स, मस्तिष्कको रक्तस्राव, भिटामिन कमी, पार्किनसन्स रोग, मस्तिष्कको टयुमर तथा हर्मोन गडबढीको कारणले हुन्छ।

निको हुन्छ?
मस्तिष्कको आकार सानो हुने र नशा खिइने हुनाले यो रोग पूरै निको पार्न गाह्रो छ। त्यसैले बिरामीको सर्पाेटिम उपचार नै मुख्य उपचार हो। बिरामीलाई निद्राको समस्या हटाउनु, शंका लाग्नबाट रोक्नु, आफू खतरामा पर्नु र अरुलाई खतराबाट मुक्त गराउनु नै मुख्य उपचार हो।

कस्तो उपचार गरिन्छ ?
– बिरामीको राम्रो रेखदेख तथा सन्तुलित भोजन दिनुपर्छ।
– बिरामीलाई भिटामिन दिनुपर्छ किनभने भिटामिनको कमी भएमा पनि यो रोग लाग्न सक्छ।
– एनटिसाइकोटिक, (बेन्जो डाइजिपिन) जस्ता औषधि छटपटी घटाउने प्रयोग गरिन्छ।
– मस्तिष्कको रक्त सञ्चालनमा सहयोग गर्ने औषधिले पनि फाइदा गर्छ।
– कतिपय बिरामीलाई अस्पतालमा राखी दैनिक उपचार गर्नुपर्ने हुन्छ।

(डा सेडाईं नशा तथा मानसिक रोग विशेषज्ञ हुन्)swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button