कला

किन बन्दैनन् मान्छेका कथाहरुका सिनेमा

जी एन शर्मा
प्रविधिका हिसाबले नेपाली सिनेमा जगतले अहिले निक्कै फड्को मारेको छ । विश्वस्तरमा उपलब्ध भएका सिनेमा प्रविधिलाई आफ्नो ल्याकतले भ्याए सम्म नेपाली सिने क्षेत्रले पनि केही समय यता देखि प्रयोग गर्न थालेकोछ । नेपाली चलचित्रको क्षेत्रमा अहिले नयाँ अनुहारको प्रवेशसँगै नाटक क्षेत्रममा खारीएका कलाकारहरुको उपस्थितिले पनि चलचित्रको अभिनय पक्षलाई कलाकारहरुको एउटा समूहले न्यायनै गरेको भन्न सकिन्छ । निर्देशक, कलाकार, निर्माता र प्राविधिकहरुको नयाँ प्रवेशसँगसगै केही नयाँ पनको आभाष नभएको होइन । तर , नेपाली सिने जगतमा कथा वस्तुको कमोजोरी पन र सिङ्गो चलचित्रको कथा भने पुरानो पाराबाट अहिले समय खासै परिवर्तन भएको देखिदैन ।
हुनत चलचित्रमा समाज भित्रका कथा र मान्छेका भोगाईकै कथाहरु हुन्छन् । कुनै पनि कथामा हर्ष, विस्मात्, आवेग र संवेग अनि समवेदना त हुन्छनै तर त्यो भन्दा अर्को फरक पाटो भनेको समाज र मान्छे बीचको सम्बन्ध लाई पनि नजर अन्दाज गर्न सकिदैन तर यो वा त्यो कथाका नाममा नेपाली चलचित्र जगतले कोरा प्रेमको कथामा फन्को मार्न छाडेको छैन । कथा वस्तुको बगाइको एउटा पक्ष त हुन्छनै तर अन्तिमा गएर एउटा केटा र केटीको प्रेमको डोरी कहिले यता र कहिले उतामा गएर कथा बिसौनीमा पुग्छ । हुनत प्रेम बिनाको संसारको कल्पना गर्न सकिदैन तर प्रेम, करुणा , घृणा र हिंसाको गोल चक्करमा मान्छेहरुको कथा र जिन्दगी रहेको हुन्छ र समग्रमा यी सबै कुरा एउटा समुच्च जिवन र जिन्दगीसँग मौजाद रहेको हुुन्छ मान्छे र उसका कथाहरु फरक फरक हुन सक्छन् ।
बिगतदेखि वर्तमान सम्मको नेपाली चलचित्रको इतिहासलाई नियाल्दा अक्सर नेपाली सिनेमा थोरै मानविय चेतना र समाजका विविध पाटाहरुलाई उन्ने प्रयत्न गरेको भएपनि प्रायस जवानीको फितलो प्रेमको कथामानै अल्झेको पाईन्छ । यो कति सत्य हो धेरै सिनेमाका कथा त बलिउडकै कथाका वरिपरि हुन्छन् भन्ने पनि सुनिन्छ । नेपाली समाजको सामाजिक चरित्र र आम नेपालीको जिवनको भोगाईका पत्रहरुलाई कथा बनाएर पनि चलचित्रको निमार्ण गर्न नसकिने होइन तर समस्या यो पनि छ कि पश्चिमा संस्कृतिले गाँजेको वर्तमानको विश्वबाट हामी र हाम्रो मनोदशा पनि उन्मूक्त बन्न सकेको छैन शायद त्यसैले पनि हुन सक्छ चटपटे मसलाको मिश्रण बिना सिनेमाको लगानीको भर नभएर पनि निर्माताहरुले समाजको चित्रलाई उति महत्व न दिएका हुन सक्छन् ।
नेपाली चलचिात्रका निर्माताहरुले मात्र होइन स्वयम् सरकारले पनि नेपाली समाज र नेपाली जनताको भोगाई र यहाँको आम परवेशलाई ख्याल गरेर चलचित्रको निमार्ण गर्नु पर्ने हो । चलचित्रलाई केही घण्टाको मनोरञ्जन मात्र नठानेर यसले चेतना र सूचना पनि दिन सक्नु पर्छ । हाम्रो समाजको यथार्थता र हाम्रो पहिचानलाई पनि चलचित्रले उठान गर्नु पर्ने हो तर यो वास्तविकता अहिले ओझेलमा परे जस्तो भएको छ । कतिपय चलचित्रमा समाजको चित्रलाई प्रस्तुत गर्न खोजीएको पनि देखन्छ तर त्यो कथाले पनि अन्तिमा प्रेमको प्रसङ्गलाई जोड दिएर प्रेममै समाप्त गरिन्छ ।यसको मुख्य कारक तत्वका रुपमा ब्यबसायिकता, पश्चिमा संस्कृतिको जबरजस्त प्रभाव र समाजका यावत घट्नाहरुप्रतिको कम महत्वलाईनै मान्न सकिन्छ । नेपाली समाजमा ब्याप्त छुवाछुत, नारीमाथिको शोषण, राजनीतिमा देखिएको भष्ट्रीकरण, बलत्कार, यौन हिंसा र हाम्रा आम परम्परामा आएको तडक भडक मात्र होइन प्रविधिका नाममा आएका यन्त्रको प्रयोग र उपभोक्तावादी संस्कृति र त्यसबाट भित्रिएको आम मनोदशालाई पनि चलचित्रका विषय वस्तु बनाउन नसकिने होइन । नेपाली समाजको आफ्नो पन र समाज भित्रका पाटा र पक्षहरुलाई जोड्ने हो भने राम्रा आख्यानहरु हाम्रै आँनमा फूलेकाछन् तर केही समाजका पाटा र पक्षलाई उन्ने बाँकी रमाईलोसँग प्रेमकै चक्करमा उतायता गर्ने हाम्रो पुरानो शैलीले ब्याबसायिक रुपमा अर्थोपार्जन त होला तर त्यस्ता चलचित्रहरु लामो समय सम्म दिल र दिमागमा रहदैनन् र सिनेमा निमार्णको सामाजिक योगदान भित्र शायदै पर्दैन पनि होला यो विषयमा स्वयम् चलचित्र निर्माताहरुले ख्याल गर्नु पर्ने विषय हो।
चलचित्र निर्माताहरुका भरमा मात्र होईन सरकारले समेत हाम्रा मौलिकता र पहिचानका विषयमा केन्द्रीत रहेर चलचित्र निमार्ण र सामाजिक परिवर्तन र चेतनामूलक चलचित्रको निमार्ण र त्यस्ता चलचित्र निमार्णका लागि प्रोत्साहन गर्ने नीति निमार्ण गर्न आबाश्यक छ । मान्छेका कथाहरु केवल प्रेममा मात्र सिमित हुदैनन् उसको जिवनको भोगाई र सिङ्गो सामाजिक परिवेशले पनि महत्व राखेको हुन्छ । एउटा समाज, परिवार र ब्यक्तिको सम्बन्ध त्यो देशको राज्यको नीतिले पनि प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । यसर्थ चलचित्र जस्तो विषय र त्यसको सञ्चारले ठूलो महत्व राखेको हुन्छ । कतिपय लामा र अर्थ बुझ्न सकस हुने विषय श्रब्य र दृश्यका माध्यामले मानिसले सहजै बुझ्न सक्ने यो सुरक्षि र भरपर्दो दस्तावेज समेत भएका हुनाले यसलाई एक हद सम्म मनोरञ्जनको माध्यामको रुपमा बुझ्न सकिने भए पनि यतिमा मात्रै सिनेमालाई सिमित गर्न सकिदैन यसर्थ सिनेमाको निमार्णमा ज्वलन्त विषय वस्तु पनि आउदा अझ यसको महत्व रहन्छ भन्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button