
करीब ७ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट’ बाट नेपाली फिल्मको नक्सा नै परिवर्तन गरेका निर्देशक निश्चल बस्नेत आजभोली अरुको एक्सन कटमा अभिनय गर्न बढी व्यस्त छन् । ‘लुट २’ पछि उनले फिल्म निर्देशन गरेका छैनन् । थोरै बनाउने तर बजारको ट्रेन्डभन्दा भिन्न फिल्म बनाउने निर्णयमा अडिग रहेका उनी अर्को वर्ष निर्देशनमा फर्किने सम्भावना प्रवल छ । अहिले उनले निर्देशन गर्ने फिल्मको कथा लेखक बुद्धिसागरले लेखिरहेका छन् ।
‘लुट २’ बाट घैंटोमा घाम लागेको बताउने उनी अभिनीत नयाँ फिल्म ‘घामड शेरे’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । हेमराज विसी निर्देशित फिल्ममा उनले आफ्नै श्रीमती स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । फिल्ममा यो जोडी भेना र सालीको भूमिकामा छन् । ‘घामड शेरे’ गएको कात्तिक ८ मा नै प्रदर्शनमा आउने तयारीमा थियो । तर, मल्टीप्लेक्सले पर्याप्य सोज नदिएपछि निर्माण टिमले फिल्मको रिलिज डेट दुई हप्ता पछाडि धकेल्यो ।
फिल्मले मल्टीप्लेक्समा न्यूज सोज पाएपछि निश्चलले फेसबुकमार्फत् आफूसँग हल सञ्चालक, वितरक र चिनेजानेका साथीभाईहरुले अब नेपाली फिल्मको प्रगतिका लागि काम गरिरहेको कुरा नगर्न चेतावनी दिएका थिए । तर, उनको यो स्टाटसप्रति धेरैले असन्तुष्टि जनाए । अरु निर्मातालाई समस्या पर्दा देखे पनि नदेखेझैँ गर्ने तर आफूलाई पर्दा कुर्लिने उनको शैलीलाई लिएर निकै टिका टिप्पणी भयो । अन्ततः यस विषयमा उनले आफ्नो धारणा गरेका छन् ।
‘जुन निर्मातालाई समस्या पर्छ त्यही मात्र बोल्नु पर्ने हो ?’ आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनलाई पहिलो प्रश्न सोझियो । निर्माताको समस्याको विषयमा चलचित्र निर्माता संघले बोल्नु पर्ने उनको तर्क छ । ‘कसैले कम्प्लेन गरेपछि मात्र संघले बोल्ने हो भने त्यो प्रहरीमा उजुरी दिएपछि एक्सन गरेको जस्तो हो । गलत भइरहेको छ भन्ने लागेपछि संघ स्वयंले आवाज उठाउनुपर्छ’, उनले भने । निश्चलले आफूलाई मन नपरेको चिजमा सधैं लड्ने गरेको बताए ।
यसअघि आफूलाई पर्दा कसैबाट पनि साथ र सहयोग नपाएको सम्झँदै उनले अगाडि भने, ‘फिल्म निर्माण, रिलिज र सेन्सरको कुरालाई लिएर म व्यक्तिगत रुपमा आवाज उठाइरहेको छु । मलाई कुनै कुरा चित्त बुझेन भने लड्छु । त्यो बेलामा अरु कसैले आवाज उठाउँछ भन्ने सुरुमा मलाई आश थियो । मेरो पहिलो फिल्म पाइरेसी हुँदा पनि धेरै ठाउँमा चक्कर काटेँ । तर, कुनै उपलब्धि भएन । त्यसपछि मलाई लाग्यो कि यहाँ जसलाई पर्छ त्यसले मात्र भोग्छ ।’
कुनै समस्या परेको खण्डमा आफ्नो समर्थन रहे पनि फाइट भने आफैंले गर्नुपर्ने सुझाव आफूले मेकरलाई दिने गरेको निर्देशक निश्चल बताउँछन् । ‘मलाई पर्दा म आफैंले भोगेँ । अरुले समर्थन जनाए पनि आवाज उठाएनन् । त्यसैले यहाँ जसलाई पर्छ त्यसैले भोग्नुपर्छ’, उनी सुनिए । आफूले धेरै पटक आवाज उठाए पनि त्यसको कुनै उपलब्धि नभएको निर्देशक बस्नेतको गुनासो छ । अब, उनले बुझेका छन्, ‘यहाँ सबैले आफ्नो लागि मात्र गरिरहेका छन् र आफ्नो लागि मात्र गर्ने हो ।’
सबै आफ्नो फिल्म जोगाउन लागे मात्र पनि ठूलो जित हुने निश्चलको जिकिर छ । निर्माताको समस्यामा सम्पूर्ण फिल्मकर्मी एकजुट हुनुपर्ने भएता पनि अरुको बारेमा बोल्दा आफ्नो इमेज खराब हुने डरले कोही बोल्न नसकेको उनको बुझाई छ । आफू पनि पहिलाजस्तो निर्माताको समस्याको बारेमा धेरै हदसम्म बोल्न कम गरेको उनले धक नमानि बताए । यद्यपि, उनी कसैलाई आफ्नो आवश्यकता परेको खण्डमा सधैं साथ र सहयोग गर्न तयार रहेको बताउँछन् ।flimykhabar.com



