काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले लेगसी टुरअन्तर्गत दोस्रो खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ५ विकेटले पराजित गरेको छ । जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
नेपालको जितमा विकेटकीपर विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका भण्डारीले ४ चौका र २ छक्का प्रहार गरे । भण्डारीले ३८ ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै नेपालको जित जिताउनुको साथै आफ्नो अर्ध शतक पुरा गरेका थिए । पवन सरार्फले आक्रमक ब्याटिङ गर्दै ४ चौका र २ छक्का सहित ३८ रनमा अविजित रहे । पवन र विनोदले छैटौं विकेटका लागि नटआउट ६९ रनको साझेदारी गरे ।
यासिर अराफातले पहिलो ओभरको दोस्रो बलमै ओपनर इशान पाण्डे ४ रनमा पेभिलिएन फर्काएका थिए । यासिर अराफातले पाँचौ ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई १० रनमा क्याच आउट गराए । मल्लले २ चौका प्रहार गरे । १८ ओभरको दोस्रो बलमा शरद भेषवकर ४ चौका सहित २४ रनमा क्याच आउट भए । शरद आउट भएलगतै दीपेन्द्र सिंह ऐरी २३ रनमा क्याच आउट हुन पुगे । दीपेन्द्रले २ छक्का प्रहार गरे । २९ औं ओभरमा आरिफ ३ चौका सहित २३ रनमा क्याच आउट भए । नेपालले ३१ रन एक्स्ट्रा पाएको थियो ।
त्यसअघि सोमबार विहान टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसी ४० औं ओभरमा २ सय १ रनमा अल आउट भएको थियो। एक समय विशाल योगफलतर्फ अग्रसर देखिएको एमसीसी स्पिनर पवन सर्राफ र ललितनारायण राजवंशीको प्रदर्शनसँगै मध्यम स्कोरमा समेटिएको थियो । ओपनर विल रोड्सले सर्वाधिक ५४ रनको योगदान दिए । २७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई क्याच आउट ४ चौका प्रहार गरे ।

अर्का ओपनर ओपनर बिली गोडलम्यानले ५२ रन जोडे । ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गरेका थिए । ललित नारायण राजवंशीले इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरे ।
अभिनासले २८ औं ओभरको चौथो बलमा विल भानडरसपारलाई आरिफ शेखबाट ३६ रनमा क्याच आउट गराए । उनले ३ चौका र २ छक्का प्रहार गरे । २९ ओभरको पाँचौ बलमा ललितले विकेटकीपर विनोद भण्डारी स्टम्पिङ आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काए । कप्तानी जिमी एडम्सलाई पवन सरार्फले ३२ ओभरको चौथो बलमा १० रनमा बोल्ड आउट गरे ।
क्यालम ज्याक्सनलाई ललितले ३७ ओभरमा ८ रनमा आउट गरे । एलेक्स थप्सनलाई पवन सरार्फले १६ रनमा क्याच आउट गराए । ललित नारायण राजवंशी र पवन सरार्फले समान ४ विकेट लिए । तीब्र गतिका बलर अभिनास बोहोरा र करण केसीले १-१ विकेट लिए ।hamrokhelkud.com



