एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले आफ्ना मुख्य प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेका छन् । जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार राति इन्ट्रक्ट फ्रांकफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि बायर्नले मुख्य प्रशिक्षक कोभाकलाई आइतबार राति बर्खास्त गरेको हो ।
बुन्डेस लिगाको पछिल्लो १० सिजनमा बायर्नको यो सबैभन्दा खराब प्रदर्शन हो । बायर्नले विज्ञप्ति जारी गर्दै प्रशिक्षकसँगको सल्लाहमै यो निर्णयमा पुगेको उल्लेख गरेको छ । क्रोएसियाका ४८ वर्षे पूर्व मिडफिल्डर कोभाकले सन् २०१८ को जुलाईमा बायर्नको प्रशिक्षण सम्हाल्न आइपुगेका थिए । त्यहाँ उनले गत सिजन बुन्डेसलिगा र लिग कप जितेका थिए ।
कोभाकले १८ महिने बायर्न बसाईका लागि क्लबलाई धन्यवाद पनि दिएका छन् । कोभाक बर्खास्त गरेसँगै बायर्नले सहायक प्रशिक्षक हान्सी फ्लिकले जिम्मेवारी सम्हाल्नेछन् । बायर्न म्युनिखले बुझबार च्यामिपयन्स लिगमा ओलम्पियाकोसँग र शनिबार बण्डेस लिगामा बोरुसिया डोर्टमण्डसँग प्रतिस्पर्धा गर्दैछ ।



