स्वास्थ्य

बालबालिकामा हुने दम : लक्षण र उपचार

डा सुधीर अधिकारी

दम बालबालिकामा हुने श्वासप्रश्वास सम्बन्धी प्रमुख समस्या हो। यो फोक्सोको एलर्जीले हुन्छ। दमको समस्या वर्षैपिच्छे बढ्दो छ। यसले बच्चाको दैनिक क्रियाकलापको साथै निद्रा, शैक्षिक गतिविधि र विकासमा समेत नराम्रो असर पार्छ।

लामो खोकी लाग्दैमा दम भन्न मिल्दैन। पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा श्वासप्रश्वास सम्बन्धी संक्रमण, अन्य एलर्जी हुँदा पनि दम जस्तै लक्षण देखिन सक्छ।

समयमा उपचार गरे यो रोग नियन्त्रणमा राख्न सकिन्छ र उत्पन्न हुने दमको एट्याकबाट तथा फोक्सोमा हुने असरबाट बचाउन सकिन्छ। सबैभन्दा ठूलो जोखिम भनेको स्टाटस अज्माटिकस (दमको आकस्मिक अवस्था) हो।

लक्षणहरु
-बारम्बार दोहोरिएर आउने सुख्खा खोकी,
– बिहान–बेलुका बढ्ने खोकी,
-लामो समय निको नहुने खोकी,
-श्वास गति छिटो हुने,
-श्वास फेर्दा सिटीजस्तो आवाज आउने,
-छाती गह्रुङ्गो हुने, दुख्ने,

रोगको पहिचान
स्पइरोमेट्री मुख्य जाँच हो तर ६ वर्षभन्दा कम उमेरका बालबालिकामा यो परीक्षण गर्न मुस्किल पर्छ। तसर्थ यो रोग लक्षणहरुबाट पत्ता लगाउन सकिन्छ।

यदि बालबालिकामा पहिलादेखि नै नाकको एलर्जी, छालाको एलर्जी छ अथवा परिवारका सदस्यमा दम र अन्य एलर्जी आदि छ भने सन्तानलाई दम हुने सम्भावना बढी हुन्छ।

उपचार
दम रोगको औषधि मुख्यतया दुई किसिमका हुन्छन्। धेरैजसो औषधि बाफको (निबुलाइजेसन) माध्यमबाट दिइन्छ। त्यसैले यसलाई प्रयोग गर्ने तरिका अभिभावकले राम्रोसँग जान्नु जरुरी हुन्छ।

-तुरुन्त काम गर्ने (रिलिफर अथवा रेस्क्युअर) औषधिहरु: जसले छिटो आराम गराउँछ र आकस्मिक अवस्थामा पनि प्रयोग गरिन्छ।
– लामो समयसम्म काम गर्ने (प्रिभेन्टर): यी औषधिहरुले फोक्सोमा एलर्जीले हुने सुजन (एन्फ़्लमेसन) बाट जोगाउँछ तर यस प्रकारका औषधिहरु लामो समय प्रयोग गर्नुपर्छ।

रोकथाम
दमको रोकथामका उपायहरु अपनाउन सकिन्छ। जस्तै दम रोगलाई उत्पन्न गराउने तथा बढाउन सक्ने तत्वहरु जस्तै धुवाँ, धुलो, परागका कण, चुरोटको धुवाँ, चिसो आदिबाट बचाउनु पर्छ। नियमित खोपको साथै भाइरल इन्फ्लुएन्जा र निमोकोकल आदि खोप पनि उपयोगी हुन्छ।

– (सह-प्राडा अधिकारी बालरोग विशेषज्ञ हुन्)swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button