कला

निरुताले नेपाल बसाईमा साइन गर्लिन् फिल्म ?

फिल्मीखबर, काठमाण्डौ,
एक समय नेपाली फिल्ममा अभिनेत्री निरुता सिंहको गजबकै रजगज थियो । अझ भनौं, उनी निर्विकल्प अभिनेत्रीझैँ थिइन् । उनलाई फिल्ममा लिन निर्माताबीच ठूलो हानाथाप हुन्थ्यो । महिनै पर्खिएरै भए पनि अभिनेत्रीमा उनैलाई खेलाउँथे । त्यसबेला उनले हिरोसरह पारिश्रमिक बुझ्ने गरेको चर्चा अझै पनि फिल्मवृतमा चल्ने गर्छ । एकसेएक ब्लकबस्टर फिल्म दिएकी उनले अघिल्लो पुस्ताका प्रायः सबै अभिनेतासँग रोमान्स गरेकी छन् ।

तर, अहिले समय परिवर्तन भएको छ । कुनै समय नेपाली फिल्ममा एकलौटी राज गरेकी अभिनेत्री अहिले गुमनामझैँ छिन् । लगातार फिल्म फ्लप भएपछि उनी करीब एक दशक काँचको पर्दामा टाढा भइन् । मुम्बईमा परिवारसँग बस्दै आएकी उनले गएको दुई वर्ष अगाडि फिल्म ‘नाईं नभन्नू ल ५’ बाट नेपाली फिल्ममा सुखद कमब्याक गरेकी थिइन् । तर, फिल्ममा उनको भूमिका अत्यन्त छोटो थियो । त्यसैले फिल्म हिट हुँदा पनि ‘जस’ उनले पाइनन् ।

यो फिल्मपछि उनको माग नेपाली फिल्ममा पुनः चुलियो । तर, अभिनेत्रीको रुपमा होइन, आमाको भूमिकामा । गत वर्षको फागुनमा उनले ठुम्का लगाएको फिल्म ‘क्याप्टेन’ प्रदर्शनमा आएको थियो भने गएको बैशाखमा उनको प्रमुख भूमिका रहेको फिल्म ‘दाल भात तरकारी’ प्रदर्शन भएको थियो । यसमा उनी कलाकार हरिवंश आचार्यको श्रीमती तथा अभिनेता पुष्प खड्काको आमाको भूमिकामा थिइन् । फिल्मले आलोचनाको बावजूद पनि राम्रो व्यापार गर्‍यो ।

फिल्मको मात्र होइन, अभिनेत्री निरुताको अभिनयको पनि चर्को आलोचना भएको थियो । उनको ‘लाउड अभिनय’ ले फिल्म हेरुन्जेल दर्शकले टाउको समातेर बसेका थिए । रिलिजपूर्व उनले आफ्नो वास्तविक कमब्याक फिल्म ‘दाल भात तरकारी’ रहेको बताएकी थिइन् । तर, अभिनयको आलोचनाले उनी निराश भइन् । यो फिल्मपछि उनी पुनः मुम्बई लागिन् । डेंगुका कारण लामो समय थलिएकी उनी अहिले तंग्रिएकी छन् । तर, नयाँ फिल्म साइन गरेकी छैनन् ।

निरुतालाई फिल्म अफर गर्ने आँट पनि मेकरले गर्न सकेका छैनन् । कारण हो, उनको पारिश्रमिक । उनले आमाको भूमिकाका लागि समेत ५ लाख माग्ने गरेकी छन् । महँगो पारिश्रमिक डिमान्ड गरेकै कारण उनलाई मेकरले फिल्म अफर गर्न नसकेको कतिपयको विश्लेषण छ । निरुताले नयाँ फिल्म नगर्नुको पछाडि पारिश्रमिक मुख्य कारण हो वा अरु नै ? धेरैको मनमा प्रश्न उब्जिएको छ । कतै फेरि फिल्मबाट दूरी बनाउन खोजेकी त होइनन् ?

अहिले उनी वीरगञ्जमा जारी ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएकी छन्, बलिउड अभिनेता गोविन्दासँग । नेपाल बसाईको क्रममा उनले नयाँ फिल्म साइन गर्ने अपेक्षा दर्शकलाई छ । तर, उनको पारिश्रमिक सुनेर मेकर तर्सिने पो हुन् कि ! डर पनि छ । आशा गरौं, यस वर्ष अभिनेत्री निरुता सिंहको नयाँ फिल्म दर्शकले हेर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button