
झापाको मेचीनगर ६ काँकरभिट्टा स्थीत मेची नेत्रालय आँखा अस्पतालले “नेपालमा अन्धोपनको अवस्था” बिषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य स्वास्थ्य स्वयम सेविका हरुका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपालमा अन्धोपनको अवस्था साथै नेपाल सरकारले उपलब्ध गराएको स्वास्थ्य बिमा अन्र्तगत आँखा उपचारका लागि मेची नेत्रालयमा पाउने उपचार सेवाका बारेमा जानकारी गराइएको मेची नेत्रालयका ब्यवस्थापन प्रमुख नवराज प्रधानले रेडियो साथीलाई जानकारी दिनु भयो ।
मेचीनगरका ३० जना र बुद्धशान्तिका १४ जना गरी ४४ जना स्वास्थ्य स्वयम सेविकाहरुको सहभागिता रहेको कार्यक्रमा मेची नेत्रालयका सिनियर अप्थाल्मिक अफिसर योगेन्द्र राउतले सहजीकरण गर्नु भएको थियो । नेत्रालयको सभाहलमा आज सम्पन्न कार्यक्रम ब्यवस्थापन प्रमुख प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।
मेची नेत्रालय आँखा अस्पतालले २०७६ भदौ १ गतेदेखी नेपाल सरकारको स्वास्थ बिमा कार्यक्रम अन्र्तगत आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ । अन्य रोगको बिमा मार्फत उपचार गराउँदा स्थानिय सरकारी स्वास्थ्य केन्द्रबाट सिफारिस गर्नु परे पनि आँखाको उपचार बिमा अन्र्तगत गराउनु पर्दा सिधै मेची नेत्रालयमा गएर बिमा कार्ड मार्फत उपचार गराउन सकिने ब्यवस्था रहेको नेत्रालयका मेडिकल डाइरेक्टर डाक्टर शरदचन्द्रप्रकाश राईले बताउनु भयो ।रेडियो साथी



