
झापा / राजनीतिक संरक्षणमा राष्ट्रिय वाणिज्य बैंकभित्र ठूलो आर्थिक मिनाह हुन लागेको छ । अपारदर्शी आर्थिक चलखेलका आधारमा बैंकलाई करिब ४ अर्ब रुपैयाँ नोक्सान गराउने गरी भित्रभित्रै गोप्य निर्णय हुन लागेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको कम्पनी मोमेन्टो एपरल्सले लिएको ऋणमा ३ अर्ब ८५ करोड ८ लाख रुपैयाँ मिनाह गर्ने अन्तिम तयारीमा बैंक पुगेको छ । उक्त ऋण मिनाहको निर्णय अपारदर्शी रुपमा हुन लागेको स्रोतले जनाएको छ । ‘आज भोलि नै निर्णय हुनसक्छ । यस निर्णयबाट बैंकले ठूलो नोक्सानी ब्यहोर्दैछ’ स्रोतले भन्यो ।
मोमेन्टो एपरल्सले लिएको कर्जाको पुर्नसंरचना गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले स्वीकार गरे । साँवा र साँवाको आधा ब्याज लिएर २६ वर्ष पुरानो कर्जाको पुर्नसंरचना गर्न लागिएको उनले बताए ।
बैंकले २०५० सालमा मोमेन्टो एपरल्सको नाममा ३१ करोड ५६ लाख रुपैयाँ कर्जा दिएको थियो । साँवा र साँवाको आधा ब्याज जोडेर ४७ करोड ३४ लाख रुपैयाँ तिर्ने गरी कर्जाको पुर्नसंरचना गर्न लागिएको उनले बताए ।
बैंकको कर्जा शाखाले दिएको जानकारी अनुसार यसरी कर्जा पुर्नसंरचना गर्दा बैंकलाई ३ अर्ब ८५ करोड ८ लाख रुपैयाँ नोक्सानी हुनेछ ।
ढकालको कम्पनीले २६ वर्षअघि लिएको ऋणको साँवा ब्याजसहित ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । कर्जाको साँवा, ब्याज, पेनाल ब्याज र पूँजीकरण ब्याजसहित ढकालले राष्ट्रिय वाणिज्य बैंकलाई भुक्तानी गर्नुपर्ने रकम त्यति पुगेको हो ।
२०५० सालमा सुरु कर्जा ३१ करोड ५६ लाख रुपैयाँ थियो । त्यसको नियमित ब्याज ८६ करोड ४० लाख रुपैयाँ, पेनाल ब्याज ९ करोड २७ लाख रुपैयाँ, ब्याज पूँजीकरण ३ अर्ब ५ करोड १८ लाख रुपैयाँ गरी असोज मसान्तसम्ममा कूल ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नुपर्ने दायित्व देखिन्छ । उक्त रकम मिनाह गराउन ढकालले विभिन्न शक्ति केन्द्र र सरकारसँग हारगुहार गरेको लामोसमय बितेको छ । ढकालले लिएको ऋण बैंकलाई तिर्न नसकेपछि पटक–पटक यो विषय उठ्दै आएको थियो ।
कर्जा मिनाह गर्न लागेको विषयमा आफूलाई जानकारी नभएको बैंकका अध्यक्ष महेन्द्रमान गुरुङले बताए । तर, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस कर्जाका बारेमा अन्तिम निर्णय हुन लागेको र चाँडै कार्यान्वयनको तयारीमा रहेको दावी गरे । यति ठूलो ऋण मिनाह गर्ने प्रस्ताव सञ्चालक समितिमा नआएको र तत्काल बैंक सञ्चालक समितिको बैठक बस्ने तालिका पनि नरहेको अध्यक्ष गुरुङको दावी छ ।
बन्द अवस्थामा रहेको मोमेन्टो एपरल्सका मालिक चण्डिराज ढकालले पनि कर्जा पुर्नसंरचना गर्न लागेको जानकारी दिए । ‘रुग्ण उद्योगले पाउने छुट मागेको छु । राष्ट्र बैंकले अहिले पेनाल ब्याज, कम्पाउण्ड ब्याज लिन नपाउने व्यवस्था गरेको छ’ ढकालले ऋणमा ३ अर्ब ८५ करोड छुट पाउने आधार पेश गरेका छन् ।
बैंकलाई हाल १० करोड रुपैयाँ बुझाउने तयारीमा छन् ढकाल । ‘बैंकको कर्जा तिर्ने प्रक्रियामा छु । केहीदिनभित्र यो काम सकिएला । त्यसपछि उद्योग सञ्चालन गर्छु’ ढकालले भने ।
प्रधानमन्त्री, अर्थमन्त्री र ढकाल झापाकै भएकाले पनि शक्ति केन्द्रहरु मिलेर ढकाललाई ऋणमा भारी मिनाह गर्न लागिएको स्रोतको दावी छ । स्रोतका अनुसार ढकाल र अर्थमन्त्री डा. युवराज खतिवडाबीच पछिल्लोसमय निकै राम्रो सम्बन्ध स्थापित हुनुले पनि ऋण मिनाह हुने सम्भावनाको ढोका खुलेको जानकारहरु बताउँछन् ।
‘यो कर्जामा सबै डिल सीईओले गरेका छन्, माथि कै संरक्षणमा यस्तो भएको होला’ बैंक उच्च व्यवस्थापनमा रहेरका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने । ‘सरकारी बैंक हो । राजनीतिक नेतृत्वको संरक्षण पाएपछि सीईओले जे भन्यो त्यहि हुन्छ । हाम्रो केही लाग्दैन’ उनले भने ।
राष्ट्रिय वाणिज्य बैंक पनि पूर्ण सरकारी स्वामित्वको बैंक भएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै अगुवाईमा वाणिज्य बैंकको सीईओमा किरण श्रेष्ठ नियुक्त भएकाले यति ठूलो कर्जा मिनाह हुनसक्छ ।janasamsaddaily



