
डम्बर बराल
झापा / अर्जुनधारा–१० का नेत्रबहादुर सुनुवारले मुढा बनाउन थालेको २५ वर्ष बित्यो । ५ वर्षको उमेरमा सिकेको सीपलाई पछिल्लोसमय उनले व्यवसायीक रुपमा अंगालेका छन् । नेत्रबहादुर भन्छन्–‘घरायसी काम सकेपछि मुढा बनाउन थाल्छौं, श्रीमती निर्मलाले पनि काममा सघाउपगाउ गर्छिन् ।’ सुनार दम्पत्तिको दिनचर्या मुढा बुनेरै बित्छ ।
सुनार परिवार मात्र होईन, यही पेशा गरेर आत्मनिर्भर बनेका छन्–कालीझोडाका ३ सय ५० घर परिवार । गाउँका अधिकाँश पुरुष वैदेशिक रोजगारीमा गएपछि महिलाहरुले मुढा व्यवसायलाई निरन्तरता दिँदै आएका निर्मलाले बताइन् । उनी भन्छिन्–‘यस ठाउँमा मुढा व्यवसायको विकल्प छैन ।’
बिहान सबेरै उठेदेखि अबेरसम्म मुढा बुनेरै बित्छ कालीझोडाका अधिकाँश युवादेखि वृद्धसम्मको दैनिकी । त्यहाँ बस्ने धेरैजसो स्कूले विद्यार्थी समेत मुढा बुनेरै पढाई खर्च जुटाउने गरेका छन् । २०३९ सालदेखि कालीझोडामा मुढा बनाउन थालिएको नेत्रबहादुर सुनाउँछन् ।
‘कालीझोडाका कोही पनि बेरोजगार भएर बस्नु परेको छैन’ स्थानीय किरण आले मगर भन्छन्–‘सबैलाई मुढा बनाउन भ्याईनभ्याई छ ।’ सो क्षेत्रका ५ देखि ६० वर्ष उमेर समूहका अधिकाँशले मुढा बनाउने पेशा अपनाएका छन् । गाउँका सबैले व्यवसायीक रुपमा मुढा बनाउन थालेपछि कालीझोडालाई पछिल्लोसमय मुढा गाउँ समेत भन्न थालिएको छ ।
‘वैदेशीक रोजगारीका लागि २८ महिना कतार र ७ महिना दुवई बसेर फर्किएँ’ कालीझोडाका मगर भन्छन्–‘नेपाल फर्किएपछि गाउँघरमै व्यवसाय गर्ने सोच बनाएँ, र मुढा बुन्न थालेँ ।’ मुढा बनाउन चाहिने बाँस गाउँमै उत्पादन हुने गरेको मगरको भनाई छ । तर, पछिल्लोसमय मेशीनले तयार गरेका सिन्का समेत ल्याउन थालिएकाले मुढा बुन्न सहज बनेको मुढा व्यवसायमा लागेकाहरु बताउँछन् ।
कारागार जीवन बिताएका तिलक सार्की र खड्गबहादुर सार्कीले छालाको मुढा बनाउन सुरु गरेपछि गाउँमा मुढा बनाउने लहर नै चलेको सुनुवार बताउँछन् ।
‘यो काम साना÷ठूला सबैले गर्छन्, गाउँमा कोहीपनि बेरोजगार हुनुपरेको छैन, यहाँ उत्पादन भएका मुढा नारायणघाट, पोखरा, बुटवलदेखि काठमाडौँसम्म निर्यात हुन्छ’– स्थानीय नागेश्वर मगर भन्छन् ।
ठूलो परिमाणमा मुढा उत्पादन गर्दे आएका मगरले गाउँमा सबैलाई मुढा बनाउन प्रोत्साहित गर्दै आएका छन् । मुढा बनाउन आवश्यक सामाग्रीको जोहो गरिदिने र तयार भएको मुढा प्रतिगोटा ३० रुपैयाँमा कामदार बेच्दै आएका छन् मगर । उनीहरुले दैनिक २५ देखि ३० वटासम्म मुढा बनाउने गरेका छन् । तयार गरिएका मुढा प्रतिगोटा २ सय देखि २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको मुढा बनाउँदै गर्दा भेटिएका स्थानीय विनोद पुर्कुटीले बताए ।
‘बजार नपाइएला भनेर अहिलेसम्म चिन्ता गर्नुपरेको छैन’ २० वर्षदेखि मुढा बनाउँदै आएका उनी भन्छन्–‘बस्नका लागि बजारमा फलाम र काठका कुर्सी र सोफा र अनेकन सामग्री प्रचलनमा छन्, तैपनि मुढाको व्यापार घटेको छैन ।’ एकजनाले दैनिक २० देखि २५ वटासम्म मुढा बनाउन सक्ने पुर्कुटीको अनुभव छ ।
त्यस्तै, मेचीनगर–९ लिला बस्तीका चित्र खातीले पनि व्यवसायीक रुपमा मुढा बुन्न थालेको ५ वर्ष भयो । जीविकोपार्जन गर्ने अरु बाटो नभएपछि खातीले मुढा बनाउने सीप सिकेर मुढा व्यवसाय गर्न थालेका हुन । उनलाई श्रीमती र दुई छोराले यो काममा सहयोग गर्दै आएका छन् । धेरै पैसा कमाएर परिवारलाई सुखसँग राख्ने सपना सजाउँदै महँगो ब्याज दरमा ऋण काढेर साउदी अरेबिया भासिएका थिए खाती । उनी थप्छन्–‘ कम्पनीले धोका दिएपछि रित्तो हात घर फर्किएँ अनि यो व्यवसाय थालेँ ।’
उनी मात्र होईन उक्त बस्तीका कविता शंकर, रोमना घतानी, माया बराईली, टंक तामाङ, मनोज तामाङलगायत १० घर परिवारले मुढा बनाउने कामलाई व्यवसायीक रुपमा अघि बढाएका छन् । सो बस्तीमा निर्माण गरिएका मुढा स्थानीय बजार धुलाबारीमै खपत हुने गरेको खातीको भनाई छ ।
‘हामीले बनाएका मुढाका लागि बजारको समस्या छैन, बाँसको मूल्य महँगो छ’ उनी भन्छन्–‘त्यसैले, मुनाफा चाहिँ खासै हुँदैन, तर, काम खोज्न अन्यत्र भौंतारिनु परेको छैन, थोरै मुनाफाले पनि घर व्यवहार टरेको छ ।’ खेतीपाती गर्न निजी जमिन नहुँदा गुजारा चलाउन अरुकोमा धाउनुपर्ने बाध्यता रहेकाले सानै भएपनि आफ्नै व्यवसाय सुरु गरिएको खाती बताउँछन् ।janasamsadonline



