
पूर्वनिर्धारित नेकपाको केन्द्रीय कार्यक्रमअनुसार कैलालीका धनगढी उपमहानगरपालिका, लम्की नगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका, बर्दिया, कपिलवस्तुको शिवराज नगरपालिका, बाँणगंगा नगरपालिका, नवलपुरको सिजी, चितवनको कालिका नगरपालिका, खैरेनी नगरपालिका, रत्न नगरपालिका, भरतपुर महानगरपालिका र राप्ती नगरपालिका, माडी नगरपालिकामा मोदीको पुतला दहन गरिएको छ ।

यस्तै कास्कीका विभिन्न ठाउँमा, पूर्व झापाका विभिन्न ठाउँ, धनकुटा, सुनसरी, विराटनगर, पश्चिमका बुटवल, दाङ, कालीकोटलगायत देशैभरि मोदीको पुतला दहन गरिएका समाचारहरू प्राप्त भएका छन् ।
‘भारतीय साम्राज्यवाद मुर्दावाद ! दलाल सामाजिक फासिवादी संसदीय व्यवस्था मुर्दावाद !! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद !!’ लगायत नारा लगाउँदै मोदीको पुतला जलाइएको थियो ।
नेकपाले यही कात्तिक २१ गते देशैभरि मशाल जुलुस गरेको थियो भने २२ गते ठाउँठाउँमा कोणसभा गरेको थियो । यस्तै २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र बुझाइएको थियो भने २४ गते अतिक्रमित भारतीय नक्सा जलाइएको थियो । यस्तै २५ गते देशैभरि विरोध प्रदर्शन गरेको नेकपाले २६ गते मङ्गलबार भारतीय प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।

यसअघि नेकपाका महासचिव विप्लवले प्रेसविज्ञप्ति जारी गर्दै मशाल जुलुुुसदेखि मोदीको पुतलादहनसम्मका सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए । भारतको उक्त कदम साम्राज्यवादी, अतिक्रमणकारी रबैया भएको, नेपालमाथिको हमला, नेपालको स्वाधीनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप भएको भन्दै उनले भारतले अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण गरेकाले आफ्नो पार्टीले राष्ट्रिय स्वाधीनताको आन्दोलन सञ्चालन गर्ने चेतावनीसमेत दिएका थिए ।



