ढाका (हाम्रो खेलुकद) – उपाधिको बलियो दावेदारिता प्रस्तुत गरिरहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज (बुधबार) राउन्ड रोविन लिगको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार दिउसो १२ः४५ बजेपछि ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । नेपाल र माल्दिभ्सले नै बिहीबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । दुवै टोली अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएका हुन् । मंगलबार नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेपछि माल्दिभ्सले फाइनलको यात्रा तय गरेको थियो ।

लगातार उच्च प्रदर्शन गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको नेपाल च्याम्पियनसिपमा अपराजित रहने दाउमा हुनेछ । नेपालले सुरुवाती सबै तीन खेल (अफगानिस्तान, किर्गिस्तान र बंगलादेश) विरुद्ध एक सेट पनि नगुमाई शतप्रतिशत जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ । माल्दिभ्सविरुद्ध पनि नेपाल यही प्रदर्शनलाई निरन्तरता दिदै च्याम्पियनसिपमा अपराजित रहने दाउमा रहनेछ ।
टोलीका लागि लगातार उच्च प्रदर्शन गरिरहेकी स्टार ओपन स्पाइकर प्रतिभा माली माल्दिभ्सविरुद्धको खेलमा पनि मुख्य हतियार हुनेछिन् । चोटबाट पूनरागमन प्रयासमा रहेकी अर्की ओपन स्पाइकर सरस्वती चौधरी, यही च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी ब्याक स्पाइकर निरुता ठगुन्ना, मिडल ब्लकर सुनिता खड्काको पनि टोलीलाई साथ रहनेछ । च्याम्पियनसिपमा जबरजस्त प्रदर्शन गरिरहेकी लिवेरो सलिना श्रेष्ठको पनि नेपाली टोलीलाई साथ रहेको छ ।
यता, च्याम्पियनसिपमा अपराजित नै रहेको माल्दिभ्स पनि नेपाललाई स्तब्ध पार्दै शीर्षस्थानमा कब्जा जमाउने लक्ष्यमा कोर्टमा उत्रनेछ । तर, माल्दिभ्समै प्रतिभाको कला देखिसकेका माल्दिभ्स टोली नेपालविरुद्ध मानसिक दवावमा हुन सक्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल फाइनल अघि कमजोरी केलाउने खेलको रुपमा रहने छ ।
अपराजित रहेको माल्दिभ्सले पहिलो खेलमा किर्गिस्तानसँग ३–२ को रोमाञ्चक जित निकालेको थियो । त्यसपछि भने माल्दिभ्सले घरेलु टोली बंगलादेश र अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । आजै दोस्रो खेलमा घरेलु टोली बंगलादेशले किर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजेपछि हुनेछ । यि दुई टोलीले बिहीबारै तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
गत शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्र (बंगलादेश, नेपाल, माल्दिभ्स, किर्गिस्तान र अफगानिस्तान) को सहभागिता रहेको थियो। राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल तथा बाँकी दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ ।



