जोगाउनुपर्ने भनेकै आँखा, मिर्गाैला, खुट्टा, नशा र मुटु हो
डा दीपक मल्ल
नेपालमा पछिल्लो समय मधुमेह अथवा चिनी रोग (डाइबिटिज) का बिरामी बढ्दै गइरहेका छन्। मधुमेह कस्तो खालको रोग हो?
मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुनु हो। हाम्रो शरीरलाई चिनी अथवा सुगर चाहिन्छ। चिनी बिना मान्छे बाँच्न सक्दैन। चिनीबाट कार्बाेहाइटेड र इनर्जी पाउने हो। तर त्यो चिनीको मात्रा शरीरमा धेरै भयो भने मधुमेह हुने हो। शरीरमा इन्सुलिन भन्ने तत्व निस्कन्छ र प्यानक्रियाजग्ल्यान्ड हुन्छ। त्यो ग्ल्याण्डले इन्सुलिन्स बनाउँछ। इन्सुलिन बनाउँदै बनाएन भने त्यसलाई हामी ‘टाइप वान मधुमेह’ भन्छौँ। इन्सुलिन छ तर पर्याप्त मात्रामा उत्पादन गरेन अथवा शरीरले भएको इन्सुलिनलाई राम्रोसँग युटिलाइज गर्न पाएन भने त्यो अवस्थालाई ‘टाइप टु’ मधुमेह भनिन्छ।
हामीले जान्नुपर्ने भनेको ‘टाइप वान’ र ‘टाइप टु’ मधुमेह हो। गर्भवती अवस्थामा पनि पहिला मधुमेह नभएको र गर्भवती भएको २४ हप्तादेखि २८ हप्ताको बीचमा रगत परीक्षण गर्दा मधुमेह देखियो भने त्यसलाई गर्भवती अवस्थामा देखिने मधुमेह भनिन्छ।
गर्भवती समयमा मधुमेह भएको खण्डमा आमा, शिशु दुवैमा समस्या आउँछ। शिशु जन्मेपछि पनि भविष्यमा आमा र शिशु दुवैलाई मधुमेह हुने सम्भावना हुन्छ। त्यसैले ‘टाइप वान’ र ‘टाइप टु’ अनि गर्भवती अवस्थामा देखिने मधुमेह प्रमुख हो। त्यस बाहेक पनि अन्य विभिन्न किसिमका जस्तै ‘टाइप वान’ मधुमेह पनि स्टेज १, स्टेज २, स्टेज ३ पनि हुन्छन्। तर हामीले जान्नुपर्ने भनेको मुख्यतया यी माथि उल्लेख गरिएको ३ किमिसका मधुमेह हुन्।
मधुमेहको कुन अवस्थालाई सामान्य मानिन्छ?
फास्टिङमा १२० भन्दा कम। पिपी १८० भन्दा कम भएको मधुमेहलाई सामान्य मानिन्छ। बेलुका ७ बजे खाना खाने भोलि बिहान ९, १०, ११ बजे परीक्षण गरेको सुगर खासै मिल्दैन। त्यो समयसम्म तपाईंको शरीरले केही पनि खाना पाएन भने आफैं सुगर बनाउँछ। त्यस्तो अवस्थामा सुगर परीक्षण गर्दा फल्स पोजेटिभ रिजल्ट आउन सक्छ। ८ घन्टासम्म केही खाएन भने त्यसलाई फास्टिङ भनिन्छ। बिहान परीक्षण गरेको मधुमेह फास्टिङको समयमा पर्छ।
मधुमेहको बिरामीले आफूले मात्रै जानकारी लिनु हुँदैन। आफ्नो रोगको बारेमा अरुलाई पनि भन्नुपर्छ। आफूलाई मधुमेह छ भने सबैभन्दा पहिला आफ्नो परिवारलाई भन्नुपर्छ। अनि बल्ल तपार्इंको खानपिन, परिवारले गर्ने हेरचाह मिल्छ।
‘टाइप वान’ मधुमेह छ भने त्यसको उपचार विधि इन्सुलिन नै हो। इन्सुलिन बाहेक अरु उपाय छैन। ‘टाइप टु’ मधुमेहमा पनि दुई–तीन वटा औषधि चलाउँदा मधुमेह अनकन्ट्रोल भएको अवस्थामा सक्दो छिटो इन्सुलिन प्रयोग गर्नुपर्छ। इन्सुलिन भनेको तपाईंको शरीरमा नभएको कुरा दिने हो। इन्सुलिन तपाईंको शरीरले उत्पादन गर्न सकेन भने विकल्प इन्सुलिन नै हो। अरु औषधि दिँदा पनि इन्सुलिनको उत्पादन बढाउने हो तर हामीले बाहिरबाट इन्सुलिन पाउनु भनेको सबभन्दा राम्रो उपचार त्यो हो।
नेपालीको धारणा भने अन्तिम अवस्थामा मात्रै इन्सुलिन प्रयोग गरिन्छ भन्ने बुझाइ छ। तर त्यस्तो होइन। सुरुमै जति सक्दो छिटो इन्सुलिन चलाउन सकियो त्यति नै महत्वपूर्ण अङ्गहरु जोगाउन सकिन्छ।
त्यसैले इन्सुलिन, औषधिको विषयमा बिरामीले राम्रोसँग बुझ्नु पर्छ। तर हामीकहाँ बिरामी हतारमा आउने हतारमा जाने चलन छ। तपार्इंले आफ्नो चिकित्सकसँग २० मिनेट राम्रोसँग कुरा गर्न पाउनुपर्छ। २० मिनेट नै नलाग्ला, ५ मिनेटमा पनि सबै कुरा टुंगिन सक्ला तर आफ्नो रोग, उपचार, ध्यान दिनुपर्ने कुराको बारेमा भने स्पष्ट रुपमा बुझ्नु पर्छ।
अस्पतालमा आउँदा बिरामी मात्रै आउने होइन, बिरामीसँग परिवारका अन्य सदस्य पनि आउनुपर्छ। तपार्इंको रोगको बारेमा परिवारलाई थाहा हुनुपर्छ। आफ्नो स्वास्थ्य अवस्था के छ भनेर महत्वपूर्ण अंगको अनिवार्य जाँच गर्नुपर्छ।
नेपालमा मधुमेहको अवस्था कस्तो पाउनुहुन्छ?
अहिले नेपालले मधुमेह रोगको बारेमा अनुसन्धान गर्न पाएको छैन। तर एउटा अन्तर्राष्ट्रिय डाइबिटिज फेडरेसनले हरेक वर्ष तथ्यांक निकाल्दा सन् २०१७ र २०१८ मा हाम्रो ४ प्रतिशत जनसंख्यामा मधुमेह देखाएको छ। सन् २०१६ मा ३.३ प्रतिशत मात्रै थियो।
अहिले आएर लगभग वर्षमा १ प्रतिशत नै बढेको देखिन्छ। यो तथ्यांकले पनि बढ्ने क्रम धेरै भएको देखाउँछ। हामीले आफ्नो अभ्यासमा पनि पहिलाको भन्दा अहिले धेरै नै अन्तर पाइरहेका छौँ। हरेक दिन, हरेक वर्ष मधुमेह बिरामीको संख्या एकदमै बढ्दो छ।
मधुमेह भएका बिरामी कुन अवस्थामा अस्पताल आइपुग्छन्?
सुरुकै अवस्थामा बिरामी अस्पताल आउँदैनन्। परिवारमा मेरो, बा–आमालाई पनि सुगर छ, मेरो पनि हेरिदिनुस् भनेर आउने निकै कम छन्। फास्टिङमा १२० भन्दा कम, पिपी १८० भन्दा कम भएको मधुमेहलाई सामान्य मानिन्छ। तर हामीकहाँ आउने बिरामीहरु ३००–४०० नै भएपछि आउनुहुन्छ।
नेपालको ४ प्रतिशत जनसंख्यामा मधुमेह छ भन्ने कुरा हामीले पत्ता लगायौँ। तर जति छ, त्यो संख्याको आधा व्यक्तिहरु अस्पताल आएका छैनन। नागरिकलाई मधुमेह लागेपछि अथवा लाग्नुभन्दा पहिला के गर्ने भन्ने कुराको बारेमा जानकारी भएमात्रै मान्छे अस्पताल आउने हो।
मुख सुक्यो, राति सुतेको बेलामा धेरै पानी तिर्खा लाग्यो, धेरै भोक लाग्यो, धेरै पिसाब लाग्यो भने मधुमेह हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा छ। तर आधा जनसंख्यालाई मधुमेह भनेको के हो भन्ने कुरा नै थाहा छैन।
मधुमेह लाग्यो भनेर नागरिकले कसरी अनुमान लगाउने?
पिसाब धेरै लाग्नु, पानी तिर्खा धेरै लाग्नु र ज्यादा भोग लाग्नु। मधुमेह लागेको व्यक्ति छोटो समयमा धेरै दुब्लाउँछ। यी ३ वटा प्रमुख लक्षण हुन्। जसलाई अंग्रेजीमा ‘थ्रिपी’ भनिन्छ। तर हामीले जे भन्यो त्यही कुरा बिरामीमा नआउन पनि सक्छ।
नेपालको अवस्थाको कुरा गर्ने हो भने पहाडी क्षेत्रका नागरिक आउन–जान एकदमै गाह्रो हुने अवस्था छ। सहरमा भएका बिरामीहरु केही न केही लक्षण लिएर अस्पताल आउनुहुन्छ। सुरुमै आँखाको ज्योति जानु, मिर्गाैला खराब हुनु, खुट्टाको नशा सुकिसकेको र खुट्टामा घाउ भएको अवस्थामा बल्ल अस्पताल आउने बिरामी पनि छन्।
त्यसैले मधुमेहको लक्षण यो नै हुन्छ भन्ने चाहिँ हुँदैन। तर सबैभन्दा ठूलो कुरा यसमा आफ्नो परिवारमा कसैलाई मधुमेह भएको छ भने अन्य सदस्यले मलाई पनि यो रोग लाग्नसक्छ है भन्ने जानकारी हुनुप¥यो। लाग्नैपर्छ भन्ने कुरा पनि होइन। दुई, तीन जनामा एक जनामा लाग्न सक्छ।
कसैको परिवारमा मधुमेहको बिरामी छ भने आफू पनि सचेत हुनु, समय–समयमा स्वास्थ्य परीक्षण गर्नु नै उत्तम उपाय हो। ४०–४५ वर्ष लागेपछि मधुमेहको परीक्षण गर्नैपर्छ। अथवा जो मोटो छ, उचाई अनुसारको तौल धेरै भयो, बिएमआई ३० भन्दा पनि धेरै भयो, परिवारमा कसैलाई मधुमेह छ, ब्लड प्रेसर, कोलेस्टेरोल छ भने त्यस्ता व्यक्तिले ३०–३५ वर्षको उमेरमा पनि मधुमेहको परीक्षण गर्नुपर्छ।
मधुमेह लाग्नुको मुख्य कारण केके हुन्?
मधुेमह ‘टाइप वान’ र ‘टाइप टु’ हुन्छ। ‘टाइप वान’मा इन्सुलिन नै बन्दैन शरीरमा। मोटोपन, खानपिन, मसल्स भएन भने, इन्सुलिन छ तर कम मात्रामा उत्पादन भयो अथवा इन्सुलिन उत्पादन हुँदा पनि शरीरले प्रयोग गर्न सकेन भने त्यसलाई ‘टाइप टु’ मधुमेह भनिन्छ।
अव्यवस्थित खानपान, चिल्लो तारेको खानेकुरा धेरै खाने व्यक्तिलाई मधुमेह लाग्न सक्छ। मिसावट र फास्टफुडले पनि समस्या ल्याउँछ। तपार्इंलाई भोक लागेको बेलामा कुनै पनि ठाउँमा गएर खानेकुरा खानु हुन्छ। त्यस्तो किमिसको खानेकुरामा कोलेस्टेरोल लेवल हाई हुन्छ। कहिले पकाएको, कहाँबाट ल्याएको भन्ने कुरा थाहा हुँदैन। त्यसैले स्वस्थ खानेकुरा खानुप¥यो।
मधुमेहको उपचार भनेको सबैभन्दा पहिलो कुरा मानसिक तनाव कम, खानापानमा ध्यान दिने अनि मात्र बल्ल औषधिमा आउने हो। नेपालीहरुमा मधुमेह अहिले युवा उमेरमा पनि देखापर्न थालेको छ। विशेषगरी विदेशबाट फर्केर आउने धेरैलाई देखापर्न थालेको छ। विदेश जानुभन्दा पहिला स्वास्थ्य अवस्था राम्रो भए पनि पछि समस्या आउने र विदेशबाट आउनेहरुमा जोखिम पनि धेरै छ। विदेशबाट आउनेमा मिर्गाैला फेल भएको, आँखा, नशा र मुटुमा पनि समस्या भएका व्यक्तिहरु पनि धेरै छन्।
मधुमेह लागेपछि स्वास्थ्यमा थप कस्ता खालका समस्या निम्त्याउँछ?
मधुमेह रोग लागेका बिरामीमा ल्याउने समस्या भनेको आँखा, मुटु, मिर्गाैला, खुट्टा र नशा यी ५ अंगमा विस्तारै–विस्तारै समस्या ल्याउँछ। टाइप वान मधुमेहले यो रोग लागेको ५–१० वर्ष पछाडि यस्ता समस्या ल्याउन सक्छ भने टाइप टु मधुमेहले भने सुरुमा पनि यस्ता समस्याहरु लिएर आउँछन्।
हामीले बिरामीको मधुमेह मात्रै नियन्त्रण गरेर हुँदैन। मसँग बिरामी १० वर्षपछि आउँदा पनि उसको आँखा, मिर्गाैला राम्रो हुनुप¥यो र ऊ आफ्नै खुट्टाले टेकेर आउन सक्नुप¥यो। अस्पतालमा आउँदा अन्धो भएर, मिर्गाैला नै फेरेर आउने अथवा खुट्टै काटेको अवस्थामा आयो भने कि चिकित्सकले राम्रोसँग उपचार गरेन कि त बिरामी आफैंले आफ्नो स्वास्थ्यको बारेमा ध्यान दिएन भन्ने कुरा बुझ्नु प¥यो। त्यसैले हामीले जोगाउनुपर्ने भनेकै आँखा, मिर्गाैला, खुट्टा, नशा र मुटु हो।
मधुमेह लाग्न नदिन के गर्ने र लागेको व्यक्तिले ध्यान दिनुपर्ने कुरा केके हुन्?
मधुमेह लागेको बिरामीको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको नियमअनुसार खानपान, सुत्ने, हिँड्ने गर्नुप¥यो। मानसिक तनाव एकदमै कम गर्नुपर्छ। तपार्इं निदाएर मात्रै हुँदैन सुत्नु नै पर्छ। निदाएको छ तर धेरै तनाव लिएर सुत्नुभयो भने अरु हर्माेनको कारणले गर्दा सुगर बिहान उठ्दा हाई हुनसक्छ। समय मिल्छ भने आफ्नो परिवारसँग रमाइलो गर्ने, घुम्न जाने, गीत सुन्ने, नाँच्ने गर्ने हो भने शरीरको लागि व्यायाम पनि भयो र मानसिक तनाव पनि कम हुन्छ।
दोस्रो कुरा चिकित्सकले दिएको औषधि तोकिएको समयमा नियमित खानुपर्यो। दुई पटक खाने औषधि छ, एक पटक मात्रै खानुभयो भने काम गर्दैन। मधुमेहको औषधि धेरै छन्। कोही खाना अगाडि, केही खाना पछाडि खाने छ भने कोही औषधि खानाको पहिलो गाँसमै त कोही खानाको बीचमा खानुपर्ने छ।
चिकित्सकले मात्रै लेखेर भएन, बिरामीले पनि राम्रोसँग आफ्नो औषधिको बारेमा बुझ्नुपर्यो। बिरामीले कुन औषधि कतिखेर र कसरी खाने भन्ने बारेमा लेखेर राख्नु प¥यो। चिकित्सकसँग खासै नबुझ्ने अनि औषधि लिएर घर गएपछि औषधि कसरी खाने भन्ने बारेमा पनि अन्योल हुने गरेका छन्। अनि आफ्नै गाउँमा गएर अन्य मधुमेह रोगीहरुलाई सोध्छन्। मैले त खानापछि खाएको छु भन्ने जवाफ खानाअघि खानुपर्ने औषधिमा खाइयो भने त्यो औषधिले राम्रो काम गर्दैन।
सबै औषधिको फरक–फरक बाटो हुन्छ। एउटा बाटोमा जाने औषधि अर्काे बाटोमा गयो भने काम लाग्दैन। मधुमेहको औषधि मुटु, क्यान्सरको लागि काम गरिरहेको हुन्छ भने कतिपय औषधिले मोटोपन घटाइरहेको हुन्छ।
त्यसैले औषधि रोक्नुभन्दा पनि सानो डोजमा औषधि निरन्तर खाइरहेको राम्रो हो। एकै पटक औषधि बन्द गर्नको लागि बिरामी चिकित्सकको सम्पर्कमा हुनुप¥यो। हरेक महिना स्वास्थ्य परीक्षणमा आउँछु भन्नु पर्यो। साथै मधुमेहका मानसिक तनाव नलिने, समयमा उठ्ने, समयमा औषधि र खाने कुरा खाने आफ्नो काम गर्ने होल डेको प्लान बिरामीले बनाउनुपर्छ।
मधुमेह भएको बिरामीले एकै पटक धेरै खाने होइन। थोरै–थोरै धेरै पटक खाने बानी बसाल्नु पर्छ। दिनमा ६ पटक खान मेरो सुझाव छ। बिहान ६, ९, १२, दिउँसो ३, साँझ ६ र ९ बजे खानुपर्छ। यसरी आफ्नो दैनिक जीवनलाई परिवर्तन गर्न एकदमै जरुरी छ।
मधुमेह भन्दैमा बिरामीले दौडधुप नै गर्नुपर्छ, नखाई बस्नुपर्छ भन्ने होइन। बिरामीले अरुले जसरी नै खाने हो। अरुले सबै कुरा खाएको छ, मधुमेह बिरामीले पनि खानुपर्छ तर अरुले जसरी खानु चाहिँ भएन। तर जुन दिन अलि धेरै अथवा एक्स्ट्रा क्यालोरी खाइन्छ त्यो दिन बिरामी एक्स्ट्रा हिँड्नुपर्छ।
उपचारको क्रममा औषधि मात्रै सबैभन्दा ठूलो कुरा होइन। बिरामीले हिँड्ने, डुल्ने बसिराख्ने काम नगर्ने, ९० मिनेट बस्नु भएको छ भने १५ मिनेट हिँड्ने। दैनिक हिँड्नु पर्छ भन्ने पनि होइन, दिनमा ४५ मिनेट, हप्तामा ३ दिन हिँड्नु भयो भने पनि मधुमेह औषधिको साथसाथै कम पनि भएर जान्छ।
मधुमेहका बिरामीले खान नहुने चिज पनि हुन्छ?
हाम्रो खानामा कार्बाेहाइड्रेड, प्रोटिन, फ्याट पनि चाहिन्छ। हामीले कम गर्ने हो भने कार्बाेहाइड्रेडको मात्रा हो। चामल, रोटी अर्थात् अन्नहरु कम गर्नुपर्छ। तर बिरामीलाई यो पनि नखा, त्यो पनि नखा भनेर मानसिक तनाव दिनु हुँदैन। कुनै पनि भोजमा जाँदा खानै पाएन भने मानसिक तनाव हुन्छ। खाने तर धेरै खानु भएन। जस्तै जेरी, स्वारी, लड्डु एकै पटक खानु भएन। जुन कुराले सुगर बढाउँछ, ती कुराहरु कम गर्नुप¥यो। सबै कुरा आफ्नो लेवलमा राखेर खाने हो भने यो नखा, त्यो नखा भन्नु पर्दैन।
मधुमेह नलाग्नको लागि व्यक्ति, परिवार, समाज र सरकार कसको के भूमिका हुनुपर्छ?
यो वर्षको नारा नै ‘मधुमेह र परिवार’ भनेका छौँ। मधुमेह लाग्दैमा डराइहाल्नु पर्दैन। बिग्री नै सकेको छ भने चिकित्सकले पनि केही गर्न सक्दैन, तर शरीरको आवश्यक अंग बिग्रिन नदिनको लागि चिकित्सक र बिरामीसँगै परिवारको ठूलो भूमिका हुन्छ। मधुमेह बढ्यो र समस्या आउन २० वर्ष लाग्ला तर औषधि नखाई बस्ने तर सुगर घट्यो भने मान्छे ढल्न २० मिनेट पनि लाग्दैन।
नेपालको परिस्थितिमा कोही मान्छे बाटोमा ढल्यो भने उठाउने मान्छे पनि छैन। त्यस्तो बेलामा बिरामीलाई जानकारी हुनुप¥यो कि मैले औषधि खाइराखेको छु। सुगर नर्मल राख्न सक्छ तर एकदम लो चाहिँ राख्नुहुन्न भन्ने कुरा जान्नु पर्छ। विशेषगरी मधुमेह भएका बुढेसकाल लागेका व्यक्तिहरुले खाना कम खानेसँगै औषधि पनि प्रयोग गर्ने अनि इन्सुलिन पनि हालिराखेको छ भने त्यस्तो बेलामा समस्या देखिन्छ।
त्यसैले वर्षमा एक पटक आँखा, मिर्गाैला, मुटु, नशा सम्बन्धीका चिकित्सकलाई भेट्नु पर्छ। मधुमेह नियन्त्रण गर्ने हाम्रो उद्देश्य होइन। बिरामीको आँखा, मिर्गाैला, मुटु, नशा र खुट्टा जोगाउन हामी लाग्नुपर्छ।
सरकारको तर्फबाट मधुमेह दिवसको दिन मात्रै कार्यक्रम गर्ने होइन, बाटोमा हिँड्ने जनतालाई पनि मधुमेहको जानकारीमूलक पम्प्लेटहरु बाँड्नुप¥यो। विभिन्न सञ्चार माध्ययममा यस्ता सन्देश प्रवाह गर्नुप¥यो। अहिले इन्टरनेटको समयमा मधुमेहको सबै कुराहरु हेर्न पाइन्छ। मलाई मधुमेह हुनसक्छ कि सक्दैन भन्ने सफ्टवेयरहरु पनि छन्। योबाट पनि जानकारी लिन सकिन्छ।
उपचारको लागि काठमाडौं नै आउनुपर्छ भन्ने छैन। इन्टरनल मेडिसिनमा एमडी गरेका सबै चिकित्सकहरुले मधुमेहको बारेमा हेर्न मिल्छ र सबैले हेरेर मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ।swsthyakhabarpatrika/from



