
काठमाडौं,
नेपालमा वर्षेनी सयको आसपासमा फिल्म निर्माण हुन्छन् । त्यसमध्ये आधाभन्दा बढी फिल्मबाट नयाँ अनुहारले अभिनयमा डेब्यू गर्छन् । तर, एकाधले मात्र सफलता हात पार्छन् । प्रायःको करिअर पहिलो फिल्मबाटै ब्रेक लाग्छ । नयाँ कलाकारका लागि डेब्यू फिल्म हिट हुन र अभिनयको प्रशंसा हुन अत्यन्त आवश्यक हुन्छ । दुबै नभए करिअर अगाडि बढ्न असम्भव छ ।
गत वर्ष प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट डेब्यू गरेका दुई अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीकै कुरा गरौंन । यो फिल्म बक्सअफिसमा ठिकठाक चल्यो । न सुपरफ्लप न सुपरहिट । तर, यसले अभिनेत्री उपासनालाई नसोचेको चर्चा दिलायो । फिल्ममा उनको स्वभाविक अभिनयले दर्शक र समीक्षक दुबैको मन जितेको थियो ।
दोस्रो फिल्म ‘कबड्डी ३’ सुपरहिट भएपछि अहिले उनलाई फिल्ममा लिन मेकरबीच हानाथाप छ । धेरैले उनलाई नेपाली फिल्म क्षेत्रको उदाउँदो नक्षत्रको रुपमा हेरेका छन् । तर, ‘क्याप्टेन’ बाट उनीसँगै डेब्यू गरेकी प्रियंका एमभी भने गुमनामझैँ छिन् । अभिनेता अनमोलसँग काम गरेपछि अभिनेत्रीको भाग्य बदलिन्छ भनिन्छ । तर, प्रियंका फिल्मविहीन भएर बसेकी छन् ।
हुन त ठूलो स्टारसँग काम गर्दैमा कसैको रातारात भाग्य बदलिने भन्ने हुँदैन । त्यसका लागि अभिनयमा मेहेनत आवश्यक हुन्छ । अभिनय उम्दा नहुँदा फिल्म हिट भएर पनि गुनमान भएका यहाँ थुप्रै कलाकार छन् । त्यसैले, प्रियंकाले अब आफ्नो अभिनय निखार्न जरुरी छ । ‘क्याप्टेन’ मा जस्तो कामचलाउ अभिनयले लामो रेसको घोडा बन्न गाह्रो मात्र होइन असम्भव छ, प्रियंकाजी !फिल्मीखबर,



