फिल्मीखबर, काठमाण्डौ,
कात्तिक २९ गतेबाट पोस्टपोन्ड भएर मंसिर २० मा पुगेको क्राइम-कमेडी जनरामा निर्मित फिल्म ‘माछा माछा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘म्याडम म्याडम’ बोलको आइटम नम्बरमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ठुम्का लगाएका छन् । दुईलाई विजय बराल र अनोज पाण्डेले साथ दिएका छन् । गीतका गायक र संगीतकार अनुपम शर्मा हुन् ।
‘माछा माछा’ मा सौगात, विजय र अनोजका अलावा माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा फिल्म आधारित रहेको उनले बताए ।
फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । फिल्ममा दयाहाङ अतिथी भूमिकामा छन् ।

केही वर्षदेखि प्रेमको अथाहा गहिराइमा डुबेका अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले पछिल्लो समय एकसाथ फिल्ममा काम गर्दै आएका छन् । दुई अभिनीत पछिल्लो फिल्म हो, ‘पोइ पर्यो काले’ । यसअघि दुईले फिल्म ‘मासु भात’ मा काम गरेका थिए । उनीहरु चाँडै निर्देशक मधुसुदन भट्टराईको फिल्म ‘सँग सँगै’ मा पनि काम गर्दैछन् ।
प्रेममा परेपछि सौगातले आफूले गर्ने फिल्ममा सृष्टिलाई अभिनेत्रीमा सिफारिस गर्ने गरेको चर्चा छ । तर, यो कुरा उनी नकार्छन् । ‘माछा माछा’ को ‘म्याडम म्याडम’ गीत सार्वजनिक कार्यक्रममा उनले कुनै फिल्ममा आफूले सृष्टिलाई अभिनेत्रीमा सिफारिस नगरेको दाबी गरे । उनी आफूहरुलाई मेकरले नै अप्रोच गर्ने गरेको बताउँछन् । तर, सृष्टिसँग काम गर्दा रमाइलो लाग्ने उनको भनाई छ ।



