
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोट २०२२ को दोस्रो चरण छनोट अन्तर्गत पाँचौ खेलमा नेपाल र कुवेत खेलिरहेका छन् । भुटानको चाङलिमिथाङ रंगशालामा पहिलो हाफ सकिंदा नेपाल १-० ले पछाडी छ ।
खेलको सुरुवाती मिनेटदेखि नै कुवेतले नेपालमाथि दबाब कायम गरेको थियो । नेपालले बिरलै मात्र कुवेती हाफमा बल खेलाउन सक्यो । १५ औं मिनेटमा रवी पासवानले दिएको क्रसले पेनाल्टी क्षेत्रभित्र रहेका एकमात्र खेलाडी अभिषेक रिजाललाई भेट्न सकेन । खेलको २३ औं मिनेटमा पेनाल्टी क्षेत्र भित्र सुजल श्रेष्ठको लो क्रसमा अभिषेक रिजालको प्रहार ६ यार्ड बक्सनजिकबाट आकाशिएको थियो ।
खेलको २८ औं मिनेटमा कुवेतले अग्रता लियो । कप्तान बदर अल मुतावाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई बिट गर्दै मध्यभागको बाहिरसम्म बल ल्याउँदै गरेको गोलरक्षक किरणले डाइभ दिएपनि बचाउन सकेनन् ।
खेलको ४१ औं मिनेटमा नेपालले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । तेज तामाङको कर्नरमा विक्रम लामाले दिएको पासमा रोहित चन्दको प्रहार कुवेती गोलरक्षकले डाइभ दिंदै उत्कृष्ट बचाउ गरे । उक्त रिबाउन्डमा तेजको प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपाल खेलमा पछि नै रहेको थियो ।



