
झापा / बितेका मंसीर महिनामा किसानलाई पाकेको धान बाली थन्क्याउन भ्याईनभ्याई हुन्थ्यो ।
तर, यसवर्ष भने अधिकाँश कृषकलाई धान थन्क्याउने चटारोभन्दा पनि धान डढाउने हतारो छ । पछिल्लोसमय पाकिसकेको धान फड्के कीरा(ब्राउन होपर) ले डढेपछि धानमा आगो लगाउनुको विकल्प नभएको पीडित कृषकहरु बताउँछन् ।
झापा जिल्लामा लगाइएकोमध्ये धेरैजसो धान बालीमा फड्केको संक्रमण फैलिएर धान डढ्न थालेपछि कृषकहरु धान काट्न छाडेर धमाधम परालसमेत नराखी डढाउन थालेका हुन् ।
सोमबार मात्र मेचीनगर–९ खुट्टिडाँगीका कृषक कमलमणि पौडेलले धान काट्नुको सट्टा खेतमै आगो लगाएर डढाएका छन् ।
‘धान थन्क्याउनुपर्ने बेला डढाउनुपर्र्यो । खेती गरेको यत्रो वर्ष भयो । कहिल्यै यस्तो भएको थिएन’ धानमा आगो दन्काउँदै पौडेलले भने–‘खेती गरेमध्ये १० कठ्ठा माटोमा पाकेको धान फड्केले सोत्तरै बनायो ।’
‘यसबारे वडा अध्यक्षलाई फोनमार्फत जानकारी गराएँ । वडामा केही छैन, सिधै नगरपालिका जानु भन्नुभो’ उनी भन्छन्–‘उपमेयरलाई फोन गरेँ, आउनु भन्नुभो । मेयरले नगरपालिकामा बजेट छैन, प्रदेशले गर्र्यो भने क्षतीपूर्ति पाउनुहुन्छ भन्नुभो ।’
नगरप्रमुख विमल आचार्यले निवेदन लेख्न सुझाएपछि राहत र क्षतीपूर्तिको माग गर्दै कृषि ज्ञान केन्द्रलाई नगरप्रमुखको तोक लगाएको निवेदन दिएपनि त्यसबारे सुनुवाई नभएको पौडेलले बताए ।
‘१० कठ्ठा खेतमा झण्डै ४० मन धान फल्थ्यो । फड्केले असर गर्ने हुँदा धान खान पनि भएन ।’ उनी भन्छन्–‘गाईबस्तुलाई पराल खुवाउन पनि मिलेन । त्यहीभर धान नकाटी खेतमै आगो लगाएका हौं ।’
‘जेटिए पठाइदिनु भन्न पनि नगरपालिकानै नगई हुँदैन । यो रोग लागीसकेपछि उपचार पनि नहुँदो रहेछ’ धानमा आगो लगाउँदै गर्दा भेटिएकी तारा पौडेल भन्छिन्–‘फड्केले रातभरमा १० मिटर धान खाँदोरछ । बाली सखापै पार्र्यो ।’ उनका अनुसार छिमेकी नवराज फूयाँलसहित धेरै कृषकको धान फड्केले सोत्तर पारेको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बालीलाई रोगले आक्रान्त पारेपछि पीडित किसानहरुबाट समस्या बारे जानकारी आएको बताए ।
‘समस्या बारे नगरलाई अवगत भएलगत्तै हामीले प्राविधिक टोली पठाएका थियौं’ उनले भने–‘टोलीले क्षतीको स्थलगत निरीक्षण गरेको छ । नगरले तत्काल राहत दिने अवस्था रहेन । त्यस विषयमा कृषि ज्ञान केन्द्रलाई अवगत गराएका छौं । अबका दिनमा समयमै प्राविधिकसहितको सहयोग उपलब्ध गराउँछौं ।’
यसअघि धानबालीमा फौजी कीरा, शिट ब्लाइट, नेक ब्लाष्टजस्ता रोगको प्रकोप फैलिएको थियो । एकपछि अर्को रोगले धानमा असर गर्न थालेपछि धान उत्पादक किसान चिन्तित भएका छन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख शेषराज पौडेलले हालसम्म झापा जिल्लाभर करिब ७० हजार हेक्टर जमिनमा लगाइएको धान खेतीमा फड्केले प्रभाव पारेको बताए ।
‘केही स्थानीय तहमा क्षतीको विवरण संकलन कार्य भइरहेको छ ।’ उनले भने–‘रोग लागेपछि धान त खानै मिल्दैन, बस्तुभाउले पराल पनि खाँदैनन् । सुरुवातमै भए समाधान हुन्थ्यो । अहिले त केही उपायनै छैन ।’
उनका अनुसार यसवर्ष झापा जिल्लामा ८७ हजार ५ सय हेक्टर जमिनमा धान खेती भएको छ ।janasamsadonline



