
एजेन्सी – स्टार फरवार्ड नेयमारले पूनरागमन गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । शुक्रबार राति भएको अदेमा पीएसजीले लिलमाथि २–० को सहज जित निकालेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जिताउन माउरो इकार्डी र एन्जड डि मारियाले गोल गरे । पहिलो हाफमा नै दुवै गोल सम्भव भएको थियो ।
खेलको १७औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरे । इकार्डीको यो फ्रेन्च लिग वानमा सात (पछिल्ला १०) खेलमा छैटौं गोल हो । उनले पछिल्लो समय उच्च प्रदर्शन गरिरहेका छन् ।
३१औं मिनेटमा एन्जल डि मारियाले ड्राक्सलरको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । दोस्रो हाफमा पनि पीएसजीले लिललाई दवावमा राखेको थियो । तर, गोल भने गर्न नसक्दा पहिलो हाफको दुइ गोल नै पीएसजीको जितमा पर्याप्त बन्यो ।

यही खेलबाट नेयमारले खेलमा पूनरागमन गरे । ह्यामस्ट्रिङका कारण नेयमार अक्टोवर ५ देखि टोली बाहिर रहँदै आएका थिए । उनले लिलविरुद्धको खेलमा ६४ मिनेट मैदान बिताएका थिए । उनलाई अर्का फरवार्ड केलियन एमबाप्पेले विस्थापन गरेका थिए ।
जितसँगै पीएसजीले १४ खेलबाट ३३ अंक जोडेर शीर्षस्थानलाई थप मजवुत बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई ११ अंकले पछि पारेको छ । लिल १९ अंकसहित सातौ स्थानमा छ ।hamrokhelkud



