स्वास्थ्य

आँखाको डेढोपन : कारण र उपचार

डा ज्योतिबाबा श्रेष्ठ

हाम्रो समाजमा डेढो आँखा भएका बच्चा जन्मिए भने भाग्यमानी हुन्छन् भन्ने अन्धविश्वास छ। यही अन्धविश्वासका कारण बेलैमा उपचार नगर्दा धेरै बच्चामा एउटा आँखाको दृष्टि कम हुने गरेको छ।

आमा–बुबाले भाग्यमानी हुन्छ भनेर उपचार नगराए पनि बच्चा ठूलो भएपछि आफैं उपचार गर्न आउँछन्, जतिबेला उनीहरुको एउटा आँखाको दृष्टि कम भइसकेको हुन्छ। यस्तो अवस्थामा आँखा त कस्मेटिक शल्यक्रिया गरेर सोझो हुन्छ तर दृष्टि फर्काउन गाह्रो हुन्छ।

डेढो आँखा भनेको के हो ?
कुनै पनि वस्तुलाई एउटा आँखाले सिधा र अर्को आँखाले बाङ्गो हेर्‍यो भने त्यस्तो अवस्थालाई डेढो आँखा भन्ने गरिन्छ। बाङ्गिएको आँखाले सिधा आँखाले जति देख्दैन। एउटा आँखा बाङ्गो छ भने ‘वान इन हाफ’ मात्र काम गर्छ।

दुवैमा बराबर दृष्टि हुन्छ। देख्न त एउटा आँखाले पनि सकिन्छ तर एउटा आँखाले हेर्दा दुवै आँखाले हेरको जस्तो प्रष्ट नहुन पनि सक्छ। यदि दुवै आँखामा बराबरी दृष्टि छ भने मात्र कुनै पनि वस्तुलाई प्रष्ट रुपमा देख्न सकिन्छ।

आँखा बल जस्तो आकारमा हुन्छ, त्यो मांसपेसीको माध्यमबाट चल्ने गर्छ। विभिन्न कारणले गर्दा आँखाको मांसपेसी कमजोर भएरमा आँखा डेढो हुने गर्छ। कुनै बच्चामा एउटा आँखा मात्रा डेढो देखिने गर्छ भने कुनैकुनै बच्चाको दुवै आँखा पालोपालो गरेर डेढो हुने गर्छ। उमेर बढ्दै जाँदा विभिन्न कारणले चोटपटक लागेर डेढो हुने गर्छ। ठूलो भएपछि हुने डेढो आँखाले कुनै पनि वस्तु दुई वटा देख्ने गर्छ।

एउटा आँखा डेढो छ भने त्यो आँखा अल्छी भएर बस्छ र विस्तारै दृष्टिमा कमी आउँछ। यदि दुवै आँखा पालोपालो गरेर डेढो हुन्छ भने त्यस्तो अवस्थामा आँखाको दृष्टि दुवै आँखाको बराबर हुने गर्छ।

डेढो हुनुको मुख्य कारण
– जेनेटिक कारण।
– कुनैकुनै बच्चाको डेढोपन बिना कारण पनि हुन सक्छ।
– बच्चा जन्मँदा आँखाको नशामा चोट लागेको छ भने पनि डेढोपन हुने गर्छ।
– चोटपटक लागेर वा कुनै रोगको कारणले आँखाको मांसपेसी कमजोर भई डेढोपन हुन्छ।
– प्यारालाइसिस भएर।
– कुनै बेला आँखाको मांसपेसी कडा भई आँखामा डेढोपन आउने गर्छ।
– कुनै बच्चालाई हाई पावरको चस्मा लगाउनुपर्ने हुन्छ। यदि बच्चाले लगाउनुपर्ने चस्मा नलगाउँदा आँखामा डेढो पन आउने गर्छ।
– आँखाको पर्दामा समस्या छ भने पनि आँखा डेढो हुने गर्छ।
– आँखामा ट्युमर।

उपचार
– सुरुमा के कारणले आँखा डेढो भएको हो पत्ता लगाउनुपर्छ। कारण पत्ता लगाएपछि त्यहीअनुसार उपचार गर्न सहज हुन्छ। त्यसपछि आँखाको दृष्टि कस्तो छ भनेर जाँच गर्नुपर्छ।
– डेढो आँखाको सुरुको उपचार चस्मा लगाएर आँखाको दृष्टि ठिक गर्ने हो। दृष्टि ठिक भएपछि कस्मेटिक शल्यक्रिया गरेर आँखाको डेढोपन हटाउन सकिन्छ।
– आँखाको पर्दामा समस्याले गर्दा डेढोपन भएको हो भने त्यसकै उपचार गर्नुपर्छ। यदि ट्युमरको कारणले भएको भने शल्यक्रिया गरेर ट्युमर फल्नुपर्छ।
– परिवारका अन्य सदस्यलाई पनि डेढोपनको समस्या छ र बच्चाको आँखामा जन्मजात नै डेढोपन देखियो भने त्यस्ता बच्चाको आँखा दुई वर्षभित्रै शल्यक्रिया गर्नुपर्छ।
– आँखाको दृष्टि बराबर भयो भने डेढोपनलाई शल्यक्रिया मार्फत सिधा बनाउन सकिन्छ।
– यदि टाउकोमा चोट लागेर वा अन्य कारणले मांसपेसी कमजोरी भई प्यारालाइसिस भएर आँखा डेढो भएको छ भने त्यस्ता बच्चाको आँखा थेरापी गराउनुपर्छ। थेरापीले पनि डेढोपन हटाउने गर्छ। यदि थेरापीले निको भएन भने शल्यक्रिया गर्नुपर्ने हुन सक्छ।
– बच्चाको आँखाको विकास ८ वर्षको उमेरसम्म भइसक्छ। डेढोपनको शल्यक्रियाबाट बच्चाको आँखाको दृष्टि बराबर बनाउन सकिन्छ। बच्चा १५/१६ वर्षका छन् भने आँखा शल्यक्रिया गरेर सोझो बनाए पनि दृष्टि बराबर नहुन सक्छ।

(डा श्रेष्ठ आँखा रोग विशेषज्ञ हुन‍्)swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button