
फिल्मीखबर, काठमाण्डौ,
अहिले नेपालमा फिल्म अवार्ड च्याउसरह उम्रिएका छन् । चलचित्र विकास बोर्डले गर्ने ‘राष्ट्रिय अवार्ड’ सहित प्राइभेट कम्पनीले बाँड्ने अवार्ड वर्षमा एक दर्जनभन्दा बढी हुन्छन् । त्यस्तै, हरेक वर्ष नयाँ अवार्डको घोषणा हुने क्रम पनि रोकिएको छैन । आजभोली नेपालमा भन्दा विदेशमा बढी अवार्ड आयोजना हुने गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको बजार विस्तार र प्रबद्र्धन गर्न भन्दै गरिने अवार्डले न त आजसम्म विदेशी भूमिमा नेपाली फिल्मलाई प्रबद्र्धन गर्न सकेको छ न त अवार्डको साख र गरिमा नै बचाएको छ ।
दशक अगाडिसम्म अवार्ड भनेपछि फिल्मकर्मीलाई दशैं आएझैँ हुन्थ्यो । तर, अहिले अवार्डप्रति फिल्मकर्मीमा मात्र होइन, आम सर्वसाधारणमा समेत वितृष्णा पैदा भएको छ । उत्कृष्ट कामको सम्मान र भविष्यका लागि प्रोत्साहनस्वरुप अवार्ड प्रदान गरिनु पर्ने भए पनि नेपालमा ठिक उल्टो हुन्छ । यहाँ कामको सम्मान गरेर होइन, पैसाको वजन र चिनजानको आधारमा अवार्ड थमाइने संस्कार छ । त्यसैले अचेल फिल्म अवार्ड समारोहमा दिने र लिनेमात्र धेरै हुन्छन् । अवार्ड पाउने निश्चित भएकाहरु मात्र पुग्छन्, अरुले अनुहार देखाउँदैनन् ।
आजसम्म नेपालमा विवादरहित अवार्ड भएका छैनन् । प्राइभेट कम्पनीले गर्ने अवार्ड मात्र होइन, राष्ट्रपतिको हातबाट प्रदान गरिने ‘राष्ट्रिय चलचित्र अवार्ड’ समेत विवादित बन्ने गरेको छ । गएको असारमा भएको राष्ट्रिय अवार्ड पैसा र पहुँचको आधारमा प्रदान गरिएको भन्दै व्यापक विरोध र आलोचना भएको थियो । अवार्डमा नृत्य गर्न राष्ट्रपति भवन गएका कलाकारहरु ट्वाइलेटको कमोडमा बसेको तस्विर बाहिरिएपछि त झन् त्यसले सिंगो देश नै तरंगीत बनायो । भर्खर-भर्खर राष्ट्रिय चलचित्र अवार्डको विवाद सामसुम भएको छ ।
यसबीच, आइतबार जापानको टोकियोमा भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा दर्शकभन्दा नेपालबाट गएका अतिथी धेरै रहेको तश्विर सार्वजनिक भएपछि अहिले यस विषयमा सामाजिक सञ्जालदेखि चिया पसलसम्म बहस भैरहेको छ । तस्विरमा दर्शकको संख्या दुई दर्जनभन्दा बढी छैन । तर, स्टेजमा नेपालबाट अवार्ड थाप्न गएका कलाकारहरुको ठूलो भीड छ । अवार्डको नाममा मानव तस्करी गर्ने गरेको आरोप लागेको सूर्य इन्टरनेशनल कम्पनीले आयोजना गरेको अवार्ड जापानबासी नेपालीले बहिस्कार गरेको जानकारी प्राप्त छ ।
स्टेजमा अवार्ड थाप्दा ताली पिट्ने दर्शक नभए पनि नेपाली कलाकारहरुले भने गर्वका साथ अवार्ड चुमेको तस्विर सामाजिक सञ्जालमा पोस्ट्याएर बधाई खाइरहेका छन् । तर, अभिनेत्री साम्राज्ञी आरएल शाहले भने अवार्ड पाएको तस्विर फेसबुक वा इन्स्टाग्राममा कतै साझेदार गरेकी छैनन् । उनले फिल्म ‘कायरा’ बाट पपुलर अभिनेत्री अवार्ड पाएकी थिइन् । सधैं अवार्ड जितेपछि सामाजिक सञ्जालमा तस्विर पोस्ट्याएर बधाई खान हतारिने साम्राज्ञीले यसपटक न फेसबुक न त इन्स्टाग्राममा अवार्ड चुमेको तस्विर राखेकी छन् ।
अवार्ड पाएपछिको ‘क्याप्सन’ लेखेर जापान उडेकी उनले अवार्ड जितेको तस्विर सामाजिक सञ्जालमा राख्नुभन्दा अगाडि नै अवार्ड कार्यक्रममा दर्शक नभएको तस्विर सार्वजनिक भैसकेको थियो । जसलाई लिएर अवार्डबारे टिका-टिप्पणी हुन थालेपछि उनलाई अवार्ड चुमेको तस्विर साझेदार गर्न ‘लज्जाबोध’ भएको हुनसक्छ । दर्शक नै नभएको अवार्ड कार्यक्रममा पाएको अवार्ड देखाएर लज्जित हुनुभन्दा नपाएझैँ गर्नु नै साम्राज्ञीले उचित ठानेको हुनसक्छिन् । नभए, अवार्ड पाएको तस्विर राखेर सामाजिक सञ्जालमा बधाई खान उनलाई मन थिएन होला र ?
कतै ‘कायरा’ बाट पपुलर अभिनेत्रीको अवार्ड पाएकोमा साम्राज्ञी बेखुसी भएकी त होइनन् ? उनले ‘कायरा’ भन्दा फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट ज्यादा पपुलारिटी कमाएकी थिइन् । फिल्मले पनि राम्रो व्यापार गरेको थियो । तर, ‘कायरा’ बक्सअफिसमा नमज्जासँग डुबेन मात्र, साम्राज्ञीको अभिनयको पनि आलोचना भएको थियो । तर, कस्तो अचम्म ! उनले यही फिल्मबाट पपुलर अभिनेत्रीको अवार्ड जितेकी छन् । जुन फिल्मले करिअर डुबायो त्यही फिल्मबाट पाएको अवार्ड देखाएर बधाई खाने साम्राज्ञीलाई मन होस् पनि कसरी !



