
फिल्मीखबर, काठमाडौं,
काठमाडौंको ठमेलमा रहेको व्यापारिक भवन ‘छाँया सेन्टर’ मा आइतबारबाट तीन दिने ‘मास्टर क्लास’ सुरु भएको छ । छाँया सेन्टर र इन्स्टिच्यूट अफ फिल्म एण्ड टेलिभिजनबीचको सहकार्यमा आयोजना भएको कार्यशालामा इन्डियन माइम थिएटरका निर्देशक तथा पद्मश्री विजेता निरञ्जन गोस्वामीले अभिनयको प्रशिक्षण दिइरहेका छन् ।
नोभेम्बर २४ देखि २६ तारिखसम्म चल्ने कार्यशाला सहभागीहरुका लागि मुल्यवान रहने इन्स्टिच्यूट अफ फिल्म एण्ड टेलिभिजनका अध्यक्ष तथा फिल्म निर्देशक विशारद बस्नेतले विश्वास व्यक्त गरे । केही फिल्ममा अभिनय समेत गरिसकेका उनले भारतको मुम्बईमा माइम गुरूको रुपमा प्रसिद्ध निरञ्जन गोस्वामीबाटै अभिनयको प्रशिक्षण लिएका थिए ।
इन्स्टिच्यूट अफ फिल्म एण्ड टेलिभिजनले नेपालसँगै दुनियाँभरका दिग्गज शिक्षकसँग यस प्रकारको कार्यशाला गर्न चाहेको विशारदको भनाई छ । निरञ्जन गोस्वामीले कार्यशालामा सहभागीहरुलाई आफ्नो अनुभव र अभिनयको बारेमा ज्ञान बाड्नेछन् । ‘मास्टर क्लास’ मा एक दर्जनभन्दा बढीको संख्यामा प्रशिक्षार्थीहरु सहभागी रहेको बताइएको छ ।



