
गोविन ल्वागुन
दमक / जनता आवास कार्यक्रम दमक नगरपालिकामा पनि लागू भएको छ ।
अन्य पालिकाले एक कठ्ठा सरह जमिन भएकालाई घर निर्माणका लागि नगद प्रदान गरेका छन् । दमक नगरपालिकाले भने विपन्न परिवारका लागि भनेर एकीकृत बस्ती निर्माणलाई प्राथमिकतामा राखेर घर निर्माण गरेको छ । सो बस्ती २०७५ को असार मसान्त सम्ममा सक्नुपर्ने थियो । तर, ठेकेदारको लापरबाही र लक्षित वर्ग पहिचानमा उत्पन्न जटिलताका कारण घर हस्तान्तरणमा ढिलाई भएको नगरपालिकाले जनाएको छ ।
दमक १ स्थित रतुवा किनारमा नगरपालिकाको १८ कठ्ठा जमिनमा एकीकृत नमूना बस्ती नाम राखेर २३ वटा घर निर्माण गरिएको छ । सो बस्तीमा जाने जो कोहीको पनि ध्यानाकृष्ट हुन्छ । हेर्दा रमित लाग्दो देखिन्छ, सबै घर एकै प्रकारको छ । प्रत्येक घरमा फल्स सिलिङ लगाएको ४ कोठा र ट्वाइलेट, बाथरुम समेत रहेको छ भने धारा र बिजुलीको वायरिङ समेत सम्पन्न भइसकेको छ । गेट निर्माण र टायल्स बिच्छ्याउन बाँकी रहेको सो नमूना बस्तीमा राजनीतिक पहुँच र नातावादलाई प्राथमिकता नदिई ३ पुस्ता सम्म जमिन नभएका विपन्न परिवारलाई राख्नुपर्ने स्थानीय यामबहादुर राईको भनाई ।
आर्थिक रुपमा विपन्न भएका परिवारलाई जनता आवास कार्यक्रममा सहभागी गराउने राज्यको नीति अनुसार नगरपालिका एकीकृत बस्ती निर्माण गरेको हो । तर, बस्ती निर्माण व्यवसायीको लापरबाहीले गर्दा समय सीमाभित्र सम्पन्न नभएको र अहिले काम अन्तिम चरणमा रहेकाले विपन्न वर्गको लागत संकलन गरी चाँडै व्यवस्थापन गर्ने विपन्न आवास व्यवस्थापन समितिका संयोजक पशुपतिराज गौतमले बताए ।
नगरको गत ७ गते बसेको बोर्ड बैठकको निर्णय अनुसार जति सक्दो चाँडै एकीकृत बस्तीको सम्पूर्ण काम सम्पन्न गर्ने योजना अनुरुप काम भइरहेको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा हाट खोला, पशुहाटलगायतका क्षेत्रबाट विस्थापित भएका विपन्न परिवारले प्रमुख ग्राहस्थ पाउने छन् भने क्रमशः नगरका सरकारी जमिन अधिग्रहण गरी बसेका विपन्न नागरिकलाई सो घर हस्तान्तरण गरिने र छुटेकाहरुलाई क्रमशः आगामी कार्यक्रममा समेट्दै जाने नगर उपप्रमुख गीता अधिकारीले जानकारी दिए ।
प्रतिनिधिसभाको सांसद् विकास कोषबाट १ करोड ५० लाख र नगरपालिकाको १करोड गरी कुल २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो एकीकृत बस्ती भुकम्प प्रतिरोधात्मक भएको नगरपालिकाले जनाएको छ । विपन्न परिवारको उद्धार नभएसम्म सुखी नेपाली, संमृद्ध नेपाल नरहने भएकोले विपन्न भएका नागरिकहरुलाई घर प्रदान गरिने भएको हो । सो कार्यक्रमका लागि आ.व. २०७६ ÷०७७ को बजेटमा १ करोड रुपैयाँ विनियोजन गरिसकेको नगरपालिकाले जनाएको छ । तर, घर पाउने आशामा बसेका नागरिकहरु कहिले नगरपालिकाले घर हस्तान्तरण गर्छ भनेर दिन गन्दै बस्नुपरेको बताउँछन् । विपन्न जनता आवास कार्यक्रम मार्फत पहिलो चरणमा नगरपालिकाभित्र रहेका २३ परिवारलाई घर हस्तान्तरण गर्ने नगरपालिकाको भनाई छ । विपन्न समुदायको उत्थानका लागि नगरपालिकाले लिएको नीतिअनुसार घर निर्माण गरि हस्तान्तरण गरिने नगर प्रमुख रोमनाथ ओलीले बताए । प्रत्येक वर्ष जनता आवास कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाई छ ।janasamsadonline



