
चौतारी पोष्ट अनलाइन डट कम
एजेन्सी – स्टार फरवार्डत्रय कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमनले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।
घरेलु मैदानमा बार्सिलोनाले डर्टमन्डलाई ३–१ ले पराजित गर्दै समूह ‘एफ’ बाट एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो । अपराजित बार्सिलोनाको ५ खेलबाट ११ अंक रहेको छ । अब बार्सिलोनाले इन्टर मिलानसँग खेल्न बाँँकी छ । यो खेलमा बराबरी या हारले पनि बार्सिलोनालाई कुनै फरक पर्ने छैन ।

नोउ क्याम्पमा बार्सिलोनाले खेलको २९औं मिनेटमा लुइस सुआरेजको गोलबाट अग्रता बनाएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा सुआरेजको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।
६७औं मिनेटमा एन्टोइन ग्रिजमनले मेस्सीको पासमा गोल गरेपछि बार्सिलोना खेलमा ३–० ले अघि बढेको थियो । ७७औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना ३–१ ले विजयी रहन सफल भयो ।
बार्सिलोनासँगको हारसँगै डर्टमन्डको नकआउट चरणमा पुग्ने सम्भावना यथावतै छ । जित निकाल्न सकेको भए डर्टमन्डले नकआउटको यात्रा तय गर्ने थियो । डर्टमन्डको ५ खेलबाट ७ अंक छ ।hamrokhelkud



