काठमाडौँ : मिथिला स्वायत्त प्रदेश जनप्रतिनिधिसभाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन–सत्रमा जनप्रतिनिधिसभाका अध्यक्ष मिथिला चौहानको अध्यक्षता रहेको थियो भने बन्द–सत्रमा जनप्रतिनिधिसभाको नवनिर्वाचित अध्यक्ष प्रमिला थिङले अध्यक्षता गर्नुभएको थियो । आइतबार सम्पन्न उक्त अधिवेशनले २ रिक्त सहित ११ सदस्यीय मिथिला स्वायत्त प्रदेश जनपरिषद् गठन गरेको छ । जनपरिषद् प्रमुखमा महेन्द्र मण्डल, उप–प्रमुखमा भक्तबहादुर कार्की र सदस्यहरुमा रामनाथ मण्डल, करण यादव, रामकुमारी महरा, उमेश सिंह, चेतनारायण मुखिया, विमला भट्टराई र विकल्प रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि सन्देश पौडेलले वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापनामा अघि बढ्नुपर्ने बताउनु भयो । वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले विकास र समृद्धिको नाममा भ्रष्टचार, दलालीकरण, महंगी र हत्या जस्ता जघन्य अपराध गरिरहेको बताउँदै वहाँले वैज्ञानिक समाजवादी सत्ताले मात्रै जनताको न्याय गर्ने बताउनु भयो । वहाँले जनसत्तालाई सुदृढ गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको मार्गमा अघि बढ्न सम्पूर्ण उत्पीडित जनता, वर्ग र जनसमुदायलाई आग्रह गर्नुभयो । अधिवेशनमा नेकपाका केन्द्रीय सदस्य सरल, ब्युरो सदस्यहरु शिखर, अमर, अकेला, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य झलकलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक र ताम्सालिङ स्वायत्त प्रदेशका प्रतिनिधि कपिलले नवनिर्वाचित जनपरिषद्लाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो ।
२०७६, १२ मंसिर बिहीबार १९:४० ई-रातो खबर



