स्वास्थ्य

जुम्बाको जादु

बुनु थारु

ओयेस्टर फिटनेस सेन्टर सिनामंगलको एउटा हलमा अहिलेको चर्चित आइटम नम्बर ‘साकी साकी’ गीत बज्दैछ। करिब २५ जना महिला सो गीतमा विभिन्न स्टेप्समा उफ्रीउफ्री नाँच्दैछन्। घरी कम्मर मर्काउदै त घरी हात हल्लाउँदै उनीहरु डान्स मिश्रित जुम्बा नाचिरहेका छन्।

२ वटा गीतमा नाचिसकेपछि असिनपसिन हुँदै बाहिर निस्किएकी थिइन् ४५ वर्षीया लीना ढकाल। निथु्रक्क भिजेकी उनी हप्ताको ४ दिन यहाँ आउँछिन् जुम्बा नाच्न। उनी गृहिणी हुन्। साढे ५ देखि साढे ६ सम्म १ घन्टा मज्जाले यहाँ आएर पसिना बगाउँछिन्। उनी भन्छिन् ‘मलाई डाक्टरले कार्डियो व्यायाम गर्न सुझाएका थिए, त्यसैले मेरो रोजाइमा यो परेको हो।’ उनी ४ वर्षदेखि जुम्बा गरिरहेकी छिन्।

‘प्रेसर हाई थियो जुम्बा गर्दा राम्रो भएको छ। तौल ७१ केजी थियो, अहिले २ केजी घटाएको छु। साथीहरुसँग डान्स गर्दा रमाइलो लाग्छ,’ लीना भन्छिन्।

सिनामंगलकी ४२ वर्षीया रेजिना पोखरेल पनि जुम्बामा रमाउने गृहिणी मध्येकी एक हुन्। विगत ८ वर्षदेखि जुम्बा नाचिरहेकी उनी कुनै जमानामा ७५ केजी थिइन्। अहिले ६१ केजीमा झरेकी छिन्। जुम्बाबाहेक उनी जिम पनि गर्दै आएकी छिन्। ‘अहिले त जस्तो गीतमा पनि नाच्न सक्छु, पहिला पार्टीहरुमा जाँदा पनि नाच्न गाह्रो हुन्थ्यो, लाज पनि लाग्थ्यो, अहिले त स्टेप मिलाइमिलाइ नाच्न सक्छु,’ उनी फुरुङ्ग हुँदै भन्छिन्।’

गृहिणी मात्र होइन, युवाहरुले पनि जुम्बा रुचाएका छन्। सोही फिटनेस सेन्टरमा जुम्बा नाच्दै गरेकी भेटिइन् राजविराजकी गायत्री चौधरी। २८ वर्षीया गायत्री दिनभर डेस्क वर्क भएर आफू मोटाएको बताइन्। उनले जुम्बाबाहेक अरु व्यायाम गर्ने बताए पनि जुम्बा अझै रमाइलो हुने बताइन्।

१६ वर्षकी सुजना पौडेल र २० वर्षे डियांग्दु शेर्पा दुवै फिट्नेस सेन्टर धाउँछन्। व्यायामअघि सुजनाको तौल ८१ किलो थियो। अहिले उनी ७५ केजी तौल हटाउन सफल भएकी छिन्। उनी भन्छिन्, ‘स्कुल जाँदा पनि नराम्रो लाग्थ्यो, आफू अरु साथीहरुभन्दा ठूलो महसुस भएको हुन्थ्यो, त्यसैले फिटनेस सेन्टरमा आएँ।’

कीर्तिपुरको कृनगर फिटेनस सेन्टरमा करिब १५ जना विभिन्न उमेरका महिलाहरु जुम्बा नाँच्दैछन्। जुम्बाका विभिन्न स्टेप्स सिकाउँदैछिन् ट्रेनर मेनुका सञ्जेल। उनले जुम्बामा महिलाको आकर्षण बढ्नुको मुख्य कारण डान्स गर्दा रमाइलो पनि हुने त्यसमाथि व्यायाम पनि हुनाले हो।

जुम्बाले शरीर लचिलो मात्र नबनाई बलियो तथा आत्मविश्वास पनि बढाउने उनी बताउँछिन्।

४० वर्षीया रिभा महर्जन पेसाले सूचीकार हुन्। हरेक बिहान उनको दैनिकी जुम्बाबाट सुरु हुन्छ। महिलाहरुले पनि कामबाट फुर्सद निकालेर व्यायाममा समय दिनुपर्ने मान्यता राख्छिन् उनी।

३० वर्षीया बसन्ती श्रेष्ठ विवाहित हुन्। उनी आफू स्वस्थ्य रहन जुम्बा नाच्न थालेको बताउँछिन्। उनले जुम्बा गरेपछि शरीर हल्का, फुर्तिलो हुनुका साथै सकारात्मक सोचको विकास भएको पाएकी छिन्। उनी भन्छिन्, ‘एक दिन ग्याप हुँदा त अल्छी महसुस हुन्छ। त्यसैले सकभर छुटाउँदिन।’

कृनगर फिटनेस सेन्टरका सञ्चालक सविन्द्र महर्जनका अनुसार पछिल्लो समय मानिसहरुलाई शारीरिक रुपमा स्वस्थ्य हुनुपर्छ भन्ने चेतना विकसित भइरहेको छ, महिला पनि फिटनेस सेन्टरमा धाउन थालेका छन्, विशेषगरी जुम्बामा।

जुम्बा प्रशिक्षक जयप्रताप सिंह पनि अहिले कामकाजी महिलामा जुम्बाको आकर्षण बढेको बताउँछन्। उनी भन्छन्, ‘जुम्बा रमाइलो व्यायाम हो। यसमा डान्स भएपछि मनोरञ्जन त हुने भइहाल्यो नै, त्यसमाथि फिटनेस पनि हुन्छ, धेरै गाह्रो पनि हुँदैन। यसमा कार्डियो व्यायामहरु धेरै हुन्छ। १ घन्टा नाचेमा ५०० देखि १००० क्यालोरी घटाउँछ।’

नाच्न त सबैलाई मनपर्छ। त्यसमाथि यसमा व्यायाम पनि हुने भएकाले पछिल्लो समय जुम्बामा धेरैको आकर्षण बढेको पाइन्छ। राजधानीमा मात्र नभई मोफसलमा पनि जुम्बामा मानिस रुचि बढेको देखिन्छ।

जुम्बा एरोबिक व्यायाम हो। यो डान्स ल्याटिनबाट आएको मानिन्छ । जुम्बा गर्दा डान्स जानेकै हुनुपर्छ भन्ने छैन। आफूले सहज रुपमा जानेअनुसार डान्स गर्दै व्यायाम गर्न सकिन्छ। जुम्बाले सम्पूर्ण शरीरको व्यायाम गराउँछ। जुम्बा घरमा पनि गर्न सकिन्छ तर ट्रेनरसँग गर्दा अझ राम्रो परिणाम आउँछ। यो व्यायाम सस्तो र भरपर्दो छ। घरमै गर्दा पनि अरु किसिमका फिटेनसका सामान आवश्यक पर्दैन। जुनसुकै गीतमा नाच्न सकिन्छ।

केके छन् जुम्बाका फाइदा ?
– यसले धेरै मात्रामा क्यालोरी र फ्याट बर्न गराउँछ।
– जुम्बाले सम्पूर्ण शरीरका हरेक मासंपेसीको व्यायाम हुन्छ।
– जिमभन्दा पनि यसमा एरोबिक व्यायाम राम्रो हुन्छ। मुटुको चाल छिटो बढ्छ। कार्डियाभास्कुलर सिस्टमलाई राम्रो बनाउँछ।
– यो हरेक प्रकारका मानिसले गर्न सक्छन्।
– एक घन्टामा ६०० देखि १००० क्यालोरी यसले घटाउँछ।
– यो रमाइलो पनि छ।
– यसले इन्डोरफोन निकाल्छ, जसले तपाईंलाई खुसी बनाउँछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button