मूल खबर

प्रम ओलीलाई भारतीय प्रमको सन्देश – भारतमा उपचार गर्न आउनुहोस्

३५ रुपैयाँ किलोको प्याज बजारमा दुई सय ५० रुपैयाँमा बिक्री

चौतारी पोष्ट अनलाइन डट कम

मङ्सिर १५ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुमा उपनिर्वाचनको समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको सन्देशको बारेमा पनि समाचारहरु प्रकाशित छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएका छन् । उनले अप्रेसन गरी आइसियूमा रहेका प्रधानमन्त्री ओली चाँडो निको हुने विश्वास गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीको उपचारका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

फाइल तस्विरनयाँ पत्रिका दैनिकका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीको थप उपचार भारतमा गर्न कूटनीतिक प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने चर्चा चलिरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले कूटनीतिक च्यानलबाट शनिबार उपचारका प्रस्ताव गरेका हुन् । नेपालको परराष्ट्र मन्त्रालयमा पठाइएको पत्रमा मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य लाभपछि उनीसँग निरन्तर सहकार्य जारी राख्ने सुभेच्छा पनि व्यक्ति गरेको समाचारमा उल्ल्ेख छ ।

पत्रिकामा बहुमूल्य प्याज : ६ अर्बको आयात, दुई करोडको निर्यात शीर्षकमा पनि समचार छ । वार्षिक करिब ६ अर्ब रुपैयाँबराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात भएको छ । भन्सार विभागका अनुसार आव ०७५र७६ मा एक लाख ७८ हजार क्विन्टल प्याज आयात भयो । यसरी आयात गर्दा देशले पाँच अर्ब ६२ करोड रुपैयाँ विदेश पठाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाखको ४१ हजार नौ सय क्विन्टल प्याज आयात भएको छ । आयातको बढ्दो ग्राफलाई मूल्यांकन गर्दा चालू आर्थिक वर्षमा ६ अर्बको प्याज भित्रने अवस्था छ । विदेशी उत्पादनमा भर परेकाले नेपाली बजारमा पनि प्याजको मूल्य इतिहासमै उच्च बिन्दुमा पुगेको छ । १० मंसिरयता काठमाडौंका खुद्रा बजारमा प्रतिकेजी दुई सय ५० रुपैयाँमा कारोबार भएको छ ।

भारतीय बजार रक्सौलमा शनिबार प्याजको मूल्य प्रतिकेजी सय रुपैयाँ छ । तर, नेपाल भित्र्याउँदा भन्सार छलेर ३५ रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ । जब कि वीरगन्ज छिरेलगत्तै प्याज दुई सय रुपैयाँमा कारोबार भएको छ । काठमाडौं आउँदा खुद्रा बजारमा दुई सय ५० रुपैयाँसम्म पर्छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले वीरगन्ज भन्सार कार्यालयमा प्याजको मूल्य प्रतिकेजी ३५ रुपैयाँ २० पैसा (२२ भारु) रहेको बताए । त्यसमा आयातकर्ताले १० प्रतिशत भन्सार मूल्य, पाँच प्रतिशत अग्रिम आयकर र पाँच प्रतिशत कृषि सुधार शुल्क तिर्नुपर्छ । ती कर समावेश गर्दा वीरगन्ज भन्सारमा प्याजको मूल्य प्रतिकेजी ४२ रुपैयाँ २४ पैसा हुन आउँछ ।

अन्नपूर्ण पोष्ट दैनिकमा सिद्धाबाबा नामले परिचित कृष्णदासजी बलात्कार आरोपमा मुछिएका छन् । कृष्णदासजीले चतारास्थित आश्रममै आफूलाई बलात्कार गरेको उजुरी एक महिलाले दिएकी हुन् । काठमाडौँकी ती महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा बुधबार जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । यता, कृष्णदासजीले भने आफूमाथि लागेको बलात्कार आरोप निराधार भएको बताएका छन् । उनले यो मातृत्वको गलत प्रयोग भएको प्रतिक्रिया दिए । विराटनगरस्थित विराट नर्सिङहोममा बिहीबारदेखि उपचाररत उनले शनिबार भने, ‘मैले धर्म र धार्मिक क्षेत्रका लागि चलाएको अभियानप्रतिको प्रहार हो ।’ उनले घटनालाई स्त्री बम प्रहारसमेत भने ।

नागरिक दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मालाई मिर्गौला फेर्न विदेश लाने तयारी भइरहेको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गौलाले काम गर्न छाडेपछि अर्को मिर्गौला प्रत्यरोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यारोपणका लागि नजिकका आफन्तहरुको मिर्गौला परीक्षण भइरहेको छ । उनको स्वास्थ्य स्थितिबारे जानकारी दिने क्रममा शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा निजी चिकित्सक दिव्या सिंहले घाउ निको भए लगत्तै प्रत्यारोपण गर्ने तयारी भइरहको जानकारी दिएकी थिइन् । प्रधानमन्त्री ओलीका लागि दुई आफन्तले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि चिकित्सकहरुको छलफलमा जुटेका छन् । प्रत्यारोपणका लागि उनलाई विदशे लाने भनिए पनि कुनै देश भन्नेचाहिँ अहिलेसम्म तय भइनसकेको स्रोतको भनाइ छ ।

कान्तिपुरदैनिकमा एकतापछि समाजवादी पार्टीले सत्ता छाड्ने समाचार छ । समाजवादी पार्टी रराष्ट्रिय जनता पार्टी एकीकरण गर्न अनौपचारिक संवादमा जुटेका छन् । पार्टी एकीकरणमा सहमति भएकै दिन सरकार छाड्नेमा आश्वास्त तुल्याएपछि राजपासित अनौपचारिक संवाद अघि बढेको हो । राजपाले यसअघि पार्टी एकीकरणका लागि समाजवादीले सरकार छाड्नुपर्ने सर्त अघि सारेको थियो । आफूले सरकार छाड्दा राजपा सरकारमा जान सक्ने भन्दै समाजवादीले तत्काल सत्ता नछाड्ने निर्णय लिएको थियो । सरकारको सवाललाई लिएर एकीकरण प्रयास टुट्न नदिन दुवै पार्टीका केही नेता पछिल्ला दिन सक्रिय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button