कृषि र किसान

पाल्पामा धान उत्पादन ७ प्रतिशत घट्यो

पाल्पा। यो वर्ष धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा करीब सात प्रतिशत धान कम फलेको जिल्ला कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले जानकारी दिए ।

सिचाइँको अभाव, रोगव्याधीको प्रकोप, किसानले समयमा बीउ विजन नपाउनु, प्राविधिक सहयोग नपाउनु लगायतका कारणले उत्पादनमा कमी आएको हो । धान उत्पादनमा कमी हुँदा किसान चिन्तित बनेका छन् । वर्षभरि नै उपभोग गर्ने अन्नबालीका रुपमा धानलाई लिइन्छ । धानबाट उत्पादित चामललाई खानाको रुपमा प्रयोग हुन्छ ।

धान उत्पादन गर्ने समयमा वर्षा हुन नसक्दा, फौजी किरा, कालोपोकलगायतका रोगका कारण उत्पादन कमी देखिएको प्रमुख अर्यालको दाबी छ । कृषिमा उत्पादन बढाएर आत्मनिर्भर बन्ने योजना सार्वजनिक गरिरहँदा खाद्य उत्पादनमा कमी आएपछि सरकारी अधिकारी चिन्तित छन् । खेती किसान गरेर जिविकोपार्जन गर्ने किसान यसको प्रत्यक्ष असरमा परेका छन् ।

‘गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा गिरावट आएको छ’, प्रमुख अर्यालले भने, ‘धानको उत्पादन घटे पनि खाद्य सुरक्षामा भने ठूलो असन्तुलन आउँदैन ।’ गत वर्ष ३५ हजार मेट्रिक टन धान फलेकोमा यो वर्ष ३३ हजार मेट्रिक टन मात्र फलेको जिल्ला कृषि ज्ञान केन्द्रको अनुमान छ ।

जिल्लामा सबैभन्दा बढी खपत हुने अन्नबालीका रुपमा धान रहे पनि स्थानीय सरकारले यसप्रति ध्यान नदिदाँ उत्पादनमा कमी देखिएको हो । माथागढी गाउँपालिका–२ रुप्सेकी सरस्वती कुमालले कालो पोके देखिने र धानमा फुस्रो हुँदा उत्पादनमा कमी भयो । समयमा नै रोगको रोकथाम गर्न स्थानीय सरकारलाई जानकारी गराएपनि समयमा व्यवस्थापन हुन नसक्दा उत्पादन घट्यो, वर्षभरिको उत्पादनमा हुँदा चामल बजारबाट खरीद गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

कालोपोके रोग पहिले एकदुई प्रजातिको धानमा देखिएको थियो । पछि यो रोग हावाका माध्यमबाट फैलियो । सबै प्रजातिका धानमा कालोपोके रोगग्रस्त बन्दा किसानको मेहनतअनुसार उत्पादन हुन नसकेको माथागढी गाउँपालिका–३ का सरोज कोइरालाले बताए । जिल्लामा व्यावसायिक धानखेतीका लागि आधुनिक यान्त्रीकरण सहज व्यवस्थापन हुन सकेको छैन । धानखेती गर्दा किसानले यान्त्रीकरणको अभावमा मानव शक्तिको प्रयोग गरी काम गर्नुपर्ने अवस्था अझै हटेको छैन ।

स्थानीय सरकारले किसानलाई सहयोग पुग्ने गरी यान्त्रीकरण प्रदान गरे पनि त्यसको सञ्चालनको विषयमा प्राविधिक ज्ञानको अभाव छ । पाल्पा जिल्लामा आठ हजार ७२० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । धानखेतीका लागि उत्पादनयोग्य जमीन घटेको छ । स्थानीय जातलाई उन्नत र वर्णशंङ्कर (हाइब्रिड) जातले विस्थापित हुँदै आएको छ ।

रैथाने धानको आफ्नै विशेषता रहिआएको छ । पाल्पालगायतका पहाडी जिल्लामा यसको खेती हुँदै आएको छ तर, वर्षेनी चामलका लागि भारतसँग आयात हुँदै आएको छ । चामलमा परनिर्भरता हटेको छैन । खेतीयोग्य जमिनमा समेत सिँचाइको पहुँच छैन । सिँचाइको पहुँच बिनासमेत किसानले खेती गरे तापनि सोचेजस्तो उत्पादन हासिल गर्न नसक्दा किसान चिन्तित छन् . krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button