स्वास्थ्य

जाडोमा निमोनिया : लक्षण र उपचार

डा असीम महत

जाडो बढेसँगै श्वास प्रणालीको संक्रमण लिएर अस्पताल आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। बरामीमध्ये पनि गम्भीर समस्या लिएर आउने भनेका बालबालिका नै हुन्।

जाडोमा किन बढ्छ श्वास प्रणालीको समस्या?
– जाडोमा मानिसहरु बन्द कोठामा एकअर्काको नजिक रहने भएकाले
– हावामा आर्द्रता (ह्युमिडिटी) कम भएर खोक्दा/हाँछ्यु गर्दा निस्केका थोपाहरु धेरैबेर हावामा रहने भएकाले
– चिसोमा भाइरसका गतिविधि बढ्ने भएकाले

जाडोमा श्वास प्रणालीमा धेरै समस्या देखिन्छन्। जसमा सबैभन्दा जटिल समस्या हो, निमोनिया। संसारमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको मुख्य कारण निमोनिया मानिन्छ। संसारभरिकै बालबालिकाको मृत्युदर घटाउन डब्लुएचओ र युनिसेफले सयुक्त रुपमा सुरु गरेको र नेपालमा पनि लागू भइसकेको कार्यक्रम सिबी-आइएमएनसिआईमा पनि निमोनिया पर्छ।

निमोनिया भन्नाले श्वास प्रणालीको सबैभन्दा तल्लो भाग वायुकोष्ठिकाको संक्रमण बुझिन्छ। यो भाइरस, ब्याक्टेरिया, फङ्गस वा केही अनियमित किटाणुले हुनसक्छ। बालबालिकामा हुने निमोनिया धेरैजस्तो भाइरसको कारणले हुने गर्छ। केही भाइरल निमोनिया विस्तारै ब्याक्टेरियल निमोनियामा परिणत हुने जोखिम पनि उत्तिकै रहन्छ।

बालबालिकामा निमोनियाका लक्षण
– रुघाखोकी लाग्ने, ज्वरो आउने
– छिटोछिटो श्वास फेर्ने
– छातीबाट घ्यार-घ्यार खालको आवाज आउने
– स्वास फेर्दा कोखा हान्ने
– दूध चुस्न नसक्ने
– सुस्ताउने र निलो हुने

यदि यस्ता लक्षण देखिएमा निमोनिया पत्ता लगाउन केही जाँचहरु गर्ने गरिन्छ। जस्तै: छातीको एक्स-रे, रगत जाँच, खकार जाँच, अक्सिमेट्री र फोक्सोमा पानी जमेको खण्डमा उक्त पानीको जाँच।

बच्चाको उमेर, निमोनियाको गम्भीरता, बच्चाको रोग प्रतिरोधात्मक क्षमता र जन्मजात हुनसक्ने छातीको रोग आदि जस्ता कुरालाई ध्यानमा राखेर बच्चालाई अस्पतालमा भर्ना गरेर राख्ने या औषधि दिएर घर पठाउने कुराको निर्धारण गरिन्छ।

भाइरल निमोनिया आफैं हप्ता दिनमा निको हुनसक्ने भए तापनि ब्याक्टेरियल निमोनियालाई एन्टिबायोटिककै जरुरत पर्छ। साथसाथै निम्न तरिकाले उपचार झन् सहज बनाउन सकिन्छ-
– बच्चालाई प्रशस्त आराम गराउने
– धेरै मात्रामा पानी तथा झोलिलो खानेकुरा खुवाउने
– बाफ लिन लगाउने
– ज्वरो र खोकीको औषधि खुवाउने

यदि समयमै प्रभावकारी उपचार हुन नसकेमा गम्भीर जटिलताहरु निम्तिन सक्छन् जस्तै:
– फोक्सोमा पिप भरिने
– फोक्सोमा पानी जम्मा हुने
– संक्रमण रगत हुँदै शरीरभरि फैलिने
– फोक्सोले पूर्ण रुपमै काम गर्ने छोड्ने

बालबालिकालाई निमोनियाबाट बचाउन निम्न विधि अपनाउन सकिन्छ-
– समय तालिका अनुसार खोप लगाउने
– बालबालिकालाई खेलाउनु/खुवाउनु अघि राम्रोसँग हात धुने
– धुवाँ-धुलोबाट टाढा राख्ने
– रुघाखोकीबाट बचाउने
– आवश्यक पोषण तत्वहरुको कमी हुन नदिने
– संक्रमित व्यक्तिहरुबाट टाढा राख्ने

swsthyakhabarpatrika

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button