कृषि र किसान

भारतले गण्डक नहरमा पानी नछाड्दा ४० हजार हेक्टरको गहुँ खेती प्रभावित

पर्सा। भारतीय पक्षले यसपालि गण्डक नहरमा पानी नछाड्ने भएपछि पर्सा, बारा तथा रौतहट जिल्लामा यस वर्ष गहुँ खेती प्रभावित हुने भएको छ । भारतीय पक्षले गण्डक नहरमा गहुँ खेतीका लागि डिसेम्बर तेस्रो साता (पुस १५) भित्र पानी छोडी सक्नुपर्नेमा भारत पश्चिम चम्पारणस्थित १०६ दशमलव ४५ आरडीमा लोकल ड्रेन साइफनको मर्मतसम्भार गर्ने गरेकाले यस वर्ष गहुँ खेतीका लागि गण्डक नहरमा पानी नछोडिने भएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय वीरगञ्जले जनाएको छ ।

सो साइफनको मर्मतसम्भार भइरहेकाले भारत पश्चिम चम्पारण रामनगरस्थित दोन शाखाबाट पत्र पठाई यसपालि गहुँ खेतीका लागि गण्डक नहरमा पानी नछाड्ने पत्र प्राप्त भएको जनाउँदै सूचना अधिकारी सुरेशप्रसाद साहले राससलाई भन्नुभयो, “भारतीय पक्षले धानबालीका लागि गण्डक नहरमा पानी छोड्ने गरे पनि यसपालि गहुँ सिजनमा गण्डक नहरमा पानी नछाड्दा नदी, पोखरी, तलाउ, कुलो र पम्पसेटको सहाराले गहुँ खेती गर्नुपर्ने बाध्यता आइलागेको छ ।”

“मध्य तराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहट जिल्लाका किसान गण्डक नहरमा यस वर्ष पानी नछाड्दा गहुँ खेती राम्रोसँग गर्न सकिएको छैन”, किसान शेषमन पण्डित भन्नुहुन्छ, “आकाशे पानीको भरमा थोरै बीउ लगाए पनि पानीको अभावमा पूर्णरुपमा गहुँ खेती गर्न सकिएको छैन ।”

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा कतिपय ठाउँमा साना सिँचाइमार्फत किसानले गहूँ खेती गर्न सम्बन्धित निकायले वैकल्पिक व्यवस्था गर्नुपर्ने जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले बताउनुभयो ।

भारतीय पक्षले नेपालतर्फको ८१ किलोमिटर लामो गण्डक नहरमा वर्षको दुईचोटि पानी छोड्ने गर्छ । गण्डक नहरको चार दशकको लामो इतिहास छ । समयमा नहरमा पानी नछोड्दा पर्सा, बारा तथा रौतहटका ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा किसानले लगाउने गहुँ खेती यस वर्ष ढिलो हुने तथा प्रभावित हुने किसानको ठम्याइ रहेको छ ।

भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिमी पर्साको जानकीटोलबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको बागमती नदीमा मिसिने गरिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नहरमा ८५० क्युसेक पानी छोड्नुपर्ने सम्झौता भएको छ ।

उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै यस वर्ष गहुँ छर्ने याममा गण्डक नहरमा पानी नआउँदा किसान समयमा खेती गर्न नसकिएको हो । सरकारले आर्थिक समृद्धिका लागि कृषिलाई प्राथमिकतामा राखेको भए पनि समयमा गण्डक नहरमा भारतीय पक्षले पानी नछोड्दा किसानलाई मानो रोपेर मुरी फलाउन समस्या भएको किसानको गुनासो छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button