कृषि र किसान

पर्सामा धान उत्पादनमा कमी

वीरगञ्ज । यो वर्ष धान उत्पादनमा कमी आएको छ । धान रोपाइँको समयमा रासायनिक मलको अभाव, गाँज हाल्ने अवस्थामा पानीको अभावजस्ता कारणले यो वर्ष पर्सा जिल्लाको धान उत्पादनमा कमी आएको हो ।

गत वर्षको तुलनामा तीन करोड ७७ लाख मूल्य बराबरको एक हजार ४१० मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साले जानकारी दिएको छ । धान उत्पादनमा कमी हुँदा किसान आर्थिक मारमा परेका छन् ।

कृषि ज्ञान केन्द्र पर्साका अनुसार आर्थिक वर्ष २०७६/७७ मा पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरेकोमा दुई लाख २५ हजार ८४० मेट्रिक टन धान उत्पादन गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा एक हजार ४१० मेट्रिक टन धान उत्पादन कम रहेको छ। यसले किसानलाई रू. तीन करोड ७७ लाख आर्थिक घाटा भएको वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा पर्सा जिल्लाका किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरेकोमा दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गर्न सफल भएका थिए । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा प्रतिहेक्टर ५ दशमलव शून्य पाँच मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७६/७७ मा प्रतिहेक्टर ४ दशमलव ८ मेट्रिक टन मात्र धान उत्पादन भएको छ ।

यस वर्ष धान रोपाइँको समयमा आवश्यक पर्ने रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले समयमा मल उपलब्ध नगराउनु जस्ता कारणले यसवर्ष सोचे जस्तो धान उत्पादन नभएको किसान शेषमन पण्डितको भनाइ छ ।

नगदेबालीको रुपमा रहेको धानखेती गर्ने किसान पर्सा जिल्लामा ९० प्रतिशत रहेको तथा उनीहरुले उन्नत जातको धान सोना मन्सुली, हर्दिनाथ १, स्वर्णासव १, चैते २ र ४, बास्मती, रामधान जस्ता उन्नत जातको धानखेती गरेका थिए ।

यान्त्रिकीकरणको कारण पर्सा जिल्लामा किसानले वर्षमा दुई पटक धानखेती गर्दै आएको छ भने धानखेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्र पर्साले अघिल्लो वर्ष ५५ मेट्रिक टन प्राङ्गारिक मल तथा सिँचाइको लागि २०१ थान विद्युतीय मोटर वितरण गरेकाले गतवर्ष धान उत्पादन राम्रो भएको बागबानी अधिकृत श्यामकिशोर कुशवाहाले बताए ।

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्गमार्फत किसानका लागि रासायनिक मल उपलब्ध गराए पनि ती रासायनिक मल समयमा किसानसम्म पुग्न नसकेकाले पर्सामा धानखेती प्रभावित हुँदै आएको कृषि विज्ञको भनाइ छ ।

यता नेपालमा प्रतिबन्ध रहेको भारतीय धान सोना मन्सुली धानखेती गर्ने ७५ प्रतिशत किसान अहिले पनि सो धानखेती गर्दै आएको छ । भारतीय धान सोना मन्सुलीमा बढी रोगकीरा लाग्ने गरेको, दाना लाग्न बढी समय लाग्ने गरेको कारणले मकै, तोरी तथा सुर्तीबाली प्रभावित हुने गरेकाले यो धान नेपालमा प्रतिबन्ध लगाए पनि किसान यस खेतीतर्फ आकर्षित हुँदै आएका छन् ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button