पानीघट्टा : तराईमा जङ्गली हात्तीको आक्रमणले एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान पानीघट्टाका पाँचजना मानिसहरू घाँस-दाउरा गर्न जङ्गल गएको समय अचानक हात्तीसँग जम्का भेट हुँदा पाँचमध्ये चारजना भागेर ज्यान बचाउन सफल भए तापनि 51 वर्षीय रतन भुजेललाई हात्तीले खेदाएर मारे। हाल पानीघट्टा चियाबारी बन्द अवस्थामा रहेकोले गर्दा यहाँको अधिकजसो चियाको बोटहरू बढेर रुखजस्तै भएपछि जङ्गलमा परिणत भएकोले यस क्षेत्रमा जङ्गली जनावरहरूको आतङ्क बढेको स्थानीय मानिसहरू बताउँछन्।
पञ्जाबीले गरे आत्महत्या
नयाँ दिल्ली : टीभीका चर्चित एक्टर कुशल पञ्जाबीले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। तिनको आकस्मिक निधनको कारणले टीभी इन्डस्ट्रीकाहरूलगायत फ्यान्सहरूमा शोकको लहर छाएको छ। एक्टर कुशल पञ्जाबीले ज्याकलीन अनि सिद्धार्थ मल्होत्राको फिल्म ‘ए जेन्टलम्यान‘ –मा अभिनय गरेका थिए। प्राप्त जानकारीअनुसार गत राति घरबाट घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा कुशलको शव भेट्टाइएको बताइएको छ। मीडिया रिपोर्ट्सहरूअनुसार कुशलको शव नजिक सुसाइड नोट रहेको जसमा आफ्नो मृत्युको कोही जिम्मेवार नरहेको लेखिएको बताइएको छ। आर्थिक अवस्था ठिक नभएकोले गर्दा नै तिनले उक्त कदम उठाएको रिपोर्ट्सहरूको भनाइ रहेको छ।
नेपाल पुलिस, एसएसबी र बिहार पुलिसमाझ समन्वय बैठक

भातगाउँ : नेपाल पुलिस, एसएसबी र बिहार पुलिसमाझ एउटा समन्वय बैठकको आयोजना गरियो। प्राप्त जानकारीअनुसार सीमाको विभिन्न गतिविधीहरूलाई केन्द्र गरेर एसएसबी 41औँ बटालियनका भातगाउँ बीओपीमा प्रशासनिक बैठकको आयोजना गरिएको बताइएको छ। उक्त बैठकमा मादक पदार्थ, रम-रक्सीको तस्करीमा रोक लगाउन, अवैध गतिविधीहरूलगायत विभिन्न विषयहरूमा पनि विचार विमर्श गरिएको बताइएको छ। उक्त बैठकमा नेपाल एसपी कृष्णा प्रसाद कोईराला, भद्रपुर थाना इन्स्पेक्टर यम कुमार श्रेष्ठ, किशनगञ्ज एसपी कुमार आशीष, 12औँ बटालियनका सेकेण्ड इन कमाण्डेन्ट ललित कुमार, 19औँ बटालियन डिपुटी कमाण्डेन्टको तर्फबाट लोमरोर, 41औँ बटालियन डिपुटी कमाण्डेन्ट ओकेन्द्र सिंह, 8औँ बटालियनका कमाण्डेन्टलगायत अन्य अधिकारीहरू उपस्थित थिए।
सिलगढीमा हुने तृणमूलको महा समावेशको लागि तयारी शुरू

सिलगढी : भाजपाको अभिनन्दन ऱ्यालीलाई काउन्टर दिनको लागि एनआरसी र सीएएको विरोधमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले एउटा विशाल समावेश आगामी 3 जनवरीको सिलगढीमा गर्ने भएकी छन्। जिल्ला तृणमूल कार्यालयमा सम्पन्न एउटा बैठकमा मन्त्री गौतम देवले यो एउटा ऐतिहासिक समावेश हुने साथै यसलाई महा समावेशलाई सफल बनाउनको लागि पूर्ण रूपले प्रयास गर्ने बताए। तिनले दार्जिलिङ, जलपाईगढी जिल्ला लगायत यसको छेउ-छाउका विभिन्न जिल्लाका शीर्ष नेतृत्वगणसहित कार्यकर्ता तथा साधारण मानिसहरूसँग यस सिलगढ़ीको समावेशमा सामेल हुनेछन् भनी बताए। तृणमूल नेत्री तथा सांसद शान्ता छेत्रीको नेतृत्वमा पहाडबाट पनि धेरै संख्यामा पार्टी समर्थकहरू आउने तिनले बताए। यसै सन्दर्भमा सांसद शान्ता छेत्रीले उक्त समावेशमा लगभग 5 हजारभन्दा अधिक कार्यकर्ताहरू पहाड़बाट आउने दावी गरिन्। जलपाईगढी जिल्लाबाट ऱ्याली शुरू भएर सिलगढीमा आएपछि यसको समापन गरिने बताइएको छ।siliguritimes/india



